२८ वर्षदेखि छ, बडी बिल्डिङमा गोर्खाल्याण्ड
.jpeg)
खरसाङ (दार्जिलिङ)। भारतभरका नेपालीहरूको अदम्य चाहना अलग राज्य गोर्खाल्यान्ड सम्भव हुन नसकेपनि भारत साथै अन्तरराष्ट्रिय क्षेत्रमा बडी बिल्डिङ प्रतियोगिताहरूमा भने गोर्खाल्यान्डबाट प्रतिनिधित्व भइरहेको छ।
गएको वर्षको १४ फरवरीमा दार्जिलिङ जिल्लाको एउटा महकुमा कालेबुङलाई जिल्ला घोषणा गरिएपछि अहिले पहाडमा दुईवटा जिल्ला भएको छ। १९९० सालमै दार्जिलिङ पहाडमा गोर्खाल्यान्ड बडी बिल्डङ एन्ड फीटनेश एसोशिएशन (जीएलबीबीएफए) गठन भएको हो। दार्जिलिङ पहाडभरिका बडी बिल्डिङ खेल यही संस्थाको अधिनमा हुँदै आएको छ।जीएलबीबीएफए भारतीय बडी बिल्डिङ एण्ड फीटनेस फेडरेशन साथै इन्टरनेशनल फेडरेशन अफ बडी बिल्डिङ मड्रिड (स्पेन)सित अनुबन्धित रहेको छ।
भारतमा हुने बडी बिल्डिङको राष्ट्रिय प्रतियोगिताहरूमा त्यही बेलादेखि पश्चिम बंगालबाट नभएर गोर्खाल्यान्डबाट प्रतिनिधित्व हुँदै आइरहेको छ। यसले गर्दा अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा पनि भारतको गोर्खाल्यान्डबाट भन्ने गरिएको छ। भारतीय नेपाली समाजमा बडी बिल्डिङ क्षेत्रका भीष्म पितामह अन्तरराष्ट्रिय निर्णायक ८० वर्ष काटेका गनुबहादुर गिरीले यस्तो कुराको उजागर आज खरसाङमा भएको एउटा कार्यक्रममा गरेका हुन्।
भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङको गोर्खा जन पुस्तकालयको प्रेक्षागृहमा सर्व भारतीय स्तरको बडी बिल्डिङ एन्ड फीटनेस प्रतियोगिताको मिस्टर इन्डिया मेन्स् फीजिक्समा सबैलाई उछिनेर विजयी बन्ने खरसाङको छोरो रिबेश प्रधानलाई नागरिक अभिनन्दन जनाउने कार्यक्रम आयोजना गरिएको थियो। सो राष्ट्रिय प्रतियोगितामा चौथो स्थान प्राप्त गर्ने कालेबुङ निवासी छाम्बा भोटिया, दशौं स्थान प्राप्त गर्ने खरसाङकै समी नारायण प्रधान अनि तीनजना गुरूजीहरू गनुबहादुर गिरी, छिरिङ योल्मो, सञ्जय छेत्री र ओम चौरसीयालाई पनि नागरिक अभिनन्दन गरिएको थियो। सो कार्यक्रम छाम्बा छिरिङ भोटिया आउन सकेनन्। अभिनन्दन कार्यक्रम खरसाङ बडी बिल्डिङ एन्ड फीटनेश एसोशिएशन (केबीबीएफए) र खरसाङ गोर्खा हिल स्पोटर्स एसोशिएशनद्वारा (केजीएचएसए) आयोजना गरिएको थियो। रिवेश प्रधान यसै महिना २५ अप्रिलदेखि मोंगोलियामा हुने मिस्टर एशिया प्रतियोगिताको निम्ति चयन भएका छन् ।
कार्यक्रममा गोर्खाल्यान्ड नाम राखिएको बारेमा बोल्दै गनुबहादुर गिरीले भने, ‘‘गोर्खाल्यान्ड नाम राख्दा धेरैले विरोध पनि गरेका थिए अनि कतिले खिसी पनि गरेका थिए। गोर्खाल्यान्डलाई यहाँ मात्र होइन सबैतिर चिन्छ।’’
गिरीले कसैको नाम नलिई भने अनुसार एउटा समुदायले गोर्खाल्यान्ड नाम राख्दा उजुरी पनि गरेको थियो। तर विरोध गरे पनि खिसी गरे पनि संस्था गोर्खाल्यान्डकै नाममा पञ्जीकरण भयो। ‘‘विदेशमा पनि गोर्खाल्यान्ड बडी बिल्डिङ एन्ड फीटनेश एसोशिएशनकै नामले चिनिन्छ। गोर्खाल्यान्डबाट भन्दा धेरै इज्जत मानसम्मान प्राप्त भएको छ। म जहाँ पनि जान्छु गोर्खाल्यान्डकै कुरा गर्छु’’, उनले भने, ‘‘जबसम्म गोर्खाल्यान्ड पाउँदैन तबसम्म गोर्खाल्यान्ड भनेर बसिरहन्छु। पैसाले गोर्खाल्यान्ड किन्न सकिँदैन मनमा हुनुपर्छ। गोर्खाल्यान्ड शब्द राख्नै पर्छ। गोर्खाल्यान्ड कहाँ छ भन्दा सानो ठाउँ दार्जिलिङमा छ भन्छौं।’’ उनले अझ भने, ‘‘राजनीतिले खेलाइ बस्छ। गोर्खाल्यान्ड किनबेचमा चलिरहेको छ।’’
भारतका राष्ट्रिय निर्णायक सञ्जय क्षेत्रीले भनेअनुसार बंगालबाट जाँदा असुविधा हुन्थ्यो, रिवेश प्रधान, छाम्बा भोटिया बंगालबाट गएका भए मिस्टर इन्डियाको प्रतियोगितामा जान सक्ने थिएनन् अनि मनोज मजुमदार पनि बंगालबाट गएका भए आर्नोल्ड क्लासिक जस्ता प्रतियोगिता भाग लिनसक्ने थिएनन्। निर्मल गुरूङ र छोपेल तेञ्जिङ भोटियाले संचालन गरेको कार्यक्रम केजीएचएसएका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा अनि केजीएचएसएका चीफ प्याट्रोन टी.टी. लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो
प्रतिकृया दिनुहोस