आज : Sunday, October 21, 2018 | २०७५ कार्तिक ४ आइतबार

पानीजहाज अर्थशास्त्र होइन, गर्वको विषय हो 

सुवास देवकोटा - |

तस्विरः इन्टरनेटबाट

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटा अन्तर्वार्तामा ‘पानीजहाज अहिले हाम्रो प्राथमिकता होइन’ भनेका छन् । एमालेकै अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओलीले नेपाली राष्ट्रिय झण्डासहितको पानी जहाज समुन्द्रमा चलाउने सपना देखाइरहेकोे बेला पाण्डेको यो अन्तर्वार्ता आएको छ । 

आफ्नो धारणालाई पुष्टि गर्न पाण्डेले थप भनेका छन्, ‘पानीजहाज चलाउन त कुनैपनि देशको सीमाबाट दश किलोमिटर पर गइसकेपछि त्यो बाटो साझा हो। त्यहाँ सबैले भाडामा लिएर चलाउन पाउछन्। हामी पनि पाउँछौं। त्यो ठूलो कुरा भएन। तर ठूला जहाज हामीले लिएर चलाउने हो भने हामीले धान्न सक्छौँ कि सक्दैनौँ।’

पाण्डे एमालेका पुराना र राम्रा संगठक, राजनीतिक, सामाजिक र आर्थिक विषयमा अध्ययन गरेका तथा अध्ययनशील नेतामध्ये मानिन्छन् । नामी अर्थशास्त्रीको ट्याग नभएपनि अर्थमन्त्रीको रुपमा उनले निभाएको भूमिकालाई प्रशंशा गर्ने धेरै छन् । माओवादी र एमालेबीचको एकताको तयारी गर्ने एउटा जिम्मेवारी पनि अहिले उनलाई प्राप्त छ । 
प्रधानमन्त्री ओलीको रेल र पानीजहाज सपनाको धेरै बिपक्षीले आलोचना र विरोध गरेपनि एमालेभित्रबाट त्यसको आलोचना र विरोध कमै भएको छ । पार्टीका शक्तिशाली अध्यक्ष र हालका दिनमा मुलुककै शक्तिशाली मानिएका ओलीको आलोचना र विरोध गर्न चानचुने आँटले सम्भव हुने कुरा पनि भएन । 

तर, राजनीतिमा दब्बुभन्दा हक्कीको कदर गरिनुपर्छ र समयले अधिकांश अवस्थामा त्यो गर्छ पनि । यसै परिप्रेक्षमा विषय अघि सार्ने प्रयत्न गरेको छु । 

निश्चय नै अहिले नेपालको प्राथमिकता पानी जहाज कम्पनि स्थापना गरेर समुन्द्रमा पानीजहाज चलाउनु होइन । समुन्द्रमा नेपाली पानीजहाजहरु चले नै भने पनि तिनले नेपाली अर्थतन्त्रलाई माथि उकास्न ठूलो योगदान पुर्याउने होइनन् । बाम कोणबाट भन्दा त्यसले आम नेपाली जनताको जिवनस्तर माथि पुर्याउने पनि होइन ।  

त्यसमाथि, लामो इतिहास भएको नेपाली राष्ट्रिय झण्डाबाहक एक मात्र हवाईजहाज कम्पनी नेपाल बायु सेवा निगम नै राम्रोसँग चल्न नसकेको अवस्थामा पानीजहाज कसरी चल्ला भन्ने प्रश्न उठ्ने नै भयो । पाण्डेले पनि सो अन्तर्वार्तामा पानीजहाज कम्पनि कसरी चलाउन सकिएला भन्ने प्रश्न उठाएका छन् । हाम्रा राष्ट्रिय संस्थान र कम्पनिहरुको बिजोग भएको बेला यो प्रश्न उठ्नु अस्वाभाविक होइन । 

समुन्द्रसँग सीमा जोडिएका मुलुकहरुले त पानीजहाज चलाएकै छन् । नेपालजस्तै भूपरिवेष्ठित मुलुक मंगोलियाले पनि पानीजहाज चलाएको थाहा पाइएको छ । यस हिसाबले उसले जस्तै अरु भूपरिवेष्ठित मुलुकले पनि पानीजहाज समुन्द्रमा चलाएका होलान् भन्ने अनुमान गर्न सकिन्छ । यसो हुँदा समुन्द्रमा जहाज चलाउनु ठूलो पौरख हो भन्ने पनि भएन । 

त्यसो भए, समुन्द्रमा नेपाली झण्डा फहराएर पानीजहाज चलाउनुको अर्थ के हुनेछ त र ओलीले यसलाई आफ्नो सपनामध्येको एक किन बनाए होलान् ? 

कुरा यसरी सुरु गरौं, मुलुकले गर्ने सबै काम अर्थशास्त्रका हिसाबले फाइदाजनक तथा आम जनताका लागि तत्कालै लाभ पुग्ने हुन्छ त ? नहुन सक्छ । जस्तो अहिले धरहरा पुनर्निर्माणको कुरालाई हेरौं । यसमा लाग्ने खर्च र आमदानीको हिसाबलाई कसरी मिलान गर्ने र फाइदा कसरी निकाल्ने ? अनि, धरहरा निर्माण गर्दा जनताले तत्कालै लाभ पाउलान् भनेर कसरी मान्ने ? त्यसो भए धरहरा पुननिर्माण गर्नुपर्छ भन्ने विषय किन निभेको छैन ? 

यसका कारण हुन्, विगतको भूकम्पले ढालेको नेपाली शान पुनः उठ्यो भनेर देशविदेशमा जाने सन्देश । भूकम्पले ढालेको हाम्रो देश धुलो टकटक्याउँदै उठ्यो भनेर नेपालीमा पैदा हुने बलियो मनोबिज्ञान । अग्लो धरहरा देखेर तथा अरुलाई देखाउँदा जाग्ने आत्माविश्वास । ढलेको इतिहासको धरोहरलाई पुनः ठड्याउन सकेकोमा आउने फुर्ती । यस्तै, यस्तै । तर, यी कुनै नगदी विषय होइनन् । गर्व, आत्माविश्वास, फुर्ती भनेका भावनात्मक विषय मात्र हुन् । 

अहिले त धरहरा जस्ता ऐतिहासिक धरोहर देखाएर मुलुकले केही आमदानी पनि गर्नेगरेको छ, पर्यटनका माध्यमबाट । तर, जुन बेला यी धरोहर निर्माण भएका थिए, त्यसबेला यसको सम्भावना पनि निकै कम थियो । यी तत्कालिन शाषकका शानका विषय मात्र थिए । अहिले हामीले गर्व गर्ने, सम्पदा सूचीमा परेका तथा संसारका पर्यटकको ध्यान तानेका उपत्यका तीन दरवारस्क्वायरहरुलाई हेरौं न, ती त्यसबेला किन निर्माण भएका हुन् ? शाषकको शानभन्दा अरु कुनै कारण थिए र ? त्यसबेलाको नेपालमा ती दरबारहरु शाषकका लागि शान र जनताका लागि भयभन्दा अरु विषय नै थिएनन् । संसारका अरु ऐतिहासिक धरोहरका प्रसङ्ग पनि त्यस्तै हुन् । भारतको आगराको ताज महल एउटा शाषकको प्रेम कथाको प्रतिक मात्र हो । 

यसको अर्थ, इतिहासमा शाषकहरुले आफ्नो शानका लागि जे जस्तो गरे अहिले हामीले पनि त्यस्तै गर्नुपर्छ भन्ने हुदैहोइन । अहिले हाम्रो सरकारले गर्ने काम भनेको अधिकांश जनतालाई लाभ पुग्ने तथा मुलुकको अर्थतन्त्रलाई फाइदा पुग्ने नै हुनुपर्छ । त्यस्ता कामले नै मुलुकमा समृद्धि ल्याउने हो । तर, यस्ता कतिपय काम पनि गर्नुपर्ने हुन्छ, जसले तत्कालै आर्थिक र प्रत्यक्ष फाइदा नदिएपनि जनतालाई मनोबैज्ञानिकरुपमा बलियो बनाउँदै पछि फाइदा दिन्छ ।   

हुन त, नेपालमा बाम भनिने कोणबाट कयौंले बाटोहरु किन फराकिलो बनाउनु पर्यो, त्यसमा बिदेशमा बनेका मोटरहरु कुद्ने हुन्, पैसा बिदेश जाने हो, आम जनताले ती गाडी कुदेका डराउँदै हेर्ने मात्र हो पनि भन्ने गरेका छन् । चीनमै नदी नभएका ठाउँमा समेत लामा आकाशे पुलहरु बनाएर मोटर र रेल कुदाएकोमा आर्थिक हिसाबले घाटादायक भएको तर्कहरु हामीले पढ्ने गरेकै छौं । यस्ता तर्कहरु हरेक ठाउँ र समयमा आउने नै रहेछन् । तर, फराकिला सडकहरु निर्माण गर्दा त्यसले सडकव्यवस्थालाई सूचारु बनाउन सहयोग पुर्याउने कुरा त छँदैछ, संसारका अरु देशसँग हामी पनि काँधमा काँध मिलाएर अघि बढ्दैछौं भन्ने आत्माविश्वास पनि जनतामा पैदा हुनेछ । र, भनिरहन परेन कि त्यस्तो बलियो आत्माविश्वास भएको जनताले मात्र समृद्धिको यात्रालाई तिब्र गतिमा अघि बढाउन सक्छन् । 

समुन्द्रमा पानीजहाज चलाउने कुरा पनि यस्तै हो । यसले पहिलो कुरा त, हामी भूपरिवेष्ठित अर्थात समुन्द्रसँग पहुँच नभएको भन्ने हाम्रो कमजोर मनोबिज्ञानलाई हटाउन सुरु गर्नेछ । समुन्द्रमा राष्ट्रिय झण्डाबाहक पानीजहान चलाउने राष्ट्रहरुको सूचीमा नेपाल समावेश हुनेछ । समुन्द्रमा नेपाली झण्डाबाहक पानीजहाज देखेर नेपालीहरुले गर्व गर्न पाउनेछन् । नेपाल संसारभरी अरु चिनिनेछ । 

हो, यसक्रममा नेपालले भित्र्याउने र नेपालबाट बाहिरिने सामान आफ्नै जहाजमा लग्न पनि सकिएला । त्यसले नेपाललाई आर्थिकरुपमा केही फाइदा पुर्याउला पनि । तर, पानीजहाज अहिले हाम्रो सन्दर्भमा भन्ने हो भने आर्थिक महत्वको भन्दा शान, गर्व र मनोबिज्ञानको विषय हो । 

रह्यो, हवाईजहाज राम्रोसँग चलाउन सकिएको छैन, पानीजहाज कसरी चलाइएला भन्ने प्रश्न । त्यसो हो भने त हवाईजहाज चलाउन नसकिएको विषय उठाएर कुनैमा हात नहाले भईहाल्यो । कुरा के हो भने, हामी समृद्धितर्फ अघि बढ्ने हो भने हवाईजहाज कम्पनि पनि उत्कृष्ठ ढंगले चलाउनु पर्छ र अरु नयाँ क्षेत्रमा हात हाल्दा पनि व्यवस्थापन उत्कृष्ठ बनाउनै पर्छ । यसको अरु बिकल्प नै छैन ।   

प्रतिकृया दिनुहोस