आज : Sunday, October 21, 2018 | २०७५ कार्तिक ४ आइतबार

प्रचण्डलाई रोल्पाको जनअदालत पुरयाउने धम्की

आठैप्रहर संवाददाता - |

माओवादी केन्द्रबाट फुटेको नेत्रबिक्रम चन्द नेत्रृत्वको नेकपाले आफ्नो रोल्पास्थित केन्द्रीय जनअदालतमा हाजिर हुन १५ दिने म्याद दिएको छ । जनअदालतका प्रकाशका नाममा आज प्रकाशित वक्तव्यका अनुसार, तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत गराइएको धम्की दिइएको छ । तर, जनपरिषदको नीति नियममा के छ भन्ने उल्लेख भने सो वक्तव्यमा छैन ।  

मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर १४ शिवनगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने भन्दै जारी वक्तव्यमा प्रचण्डलाई शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको, जनमुक्तिसेनालाई विघटन गरेको जस्ता आरोप लगाइएको छ । 

वक्तव्यमा ४ बुँदे आरोप लगाउँदै प्रचण्डलाई २०७४ चैत ५ गते आफ्नो पार्टीका कोशी ब्यूरोका इन्चार्ज किरण राईलगायत थुप्रैलाई बिनाकारण गिरफ्तार गरी थुनामा राखिएको पनि उल्लेख गरिएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी युद्धकालमा तत्कालिन राजा ज्ञानेन्द्र र युवराज पारशलाई पनि गिरफ्तार गर्न आफ्नो जनसेनालाई निर्देशन दिएको दावी गरेका थिए । तर, तत्कालिन शक्तिसन्तुलनमा त्यो दावी विश्वसनीय थिएन । अहिलेको वक्तव्यलाई पनि त्यस्तै प्रचारात्मक मात्र मानिएको छ । 

राजनीतिक स्थिरता सुरुवात भएको भनेर सरकारले दावा गरेको वर्तमान अवस्थामा सरकारले यो वक्तव्य र क्रियाकलापलाई कसरी लिन्छ भन्ने हेर्न भने बाँकि छ ।

प्रतिकृया दिनुहोस