आज : Tuesday, August 21, 2018 | २०७५ भदौ ५ मंगलबार

श्रममन्त्रीज्यू तपाईको कार्यकालमा हाम्रो आँशु पुछिएला ?

विनोद तिम्सिना - |

माननीय श्रम तथा बैदेशिक रोजगार मन्त्रीज्यू, 

महङ्गो शुल्क तिरेर हजारौं नेपाली युवाहरु प्रत्येक दिन बिदेश पलायन हुने गरेको त यहाँलाई थाहा नै छ । नेपालबाटै उनीहरुमाथी शोषण सुरु हुन्छ । मेनपावर कम्पनी अनि दलालहरुले विभिन्न लोभ देखाएर सक्दो पैसा लुट्न सुरु गर्छन् । गरीबी अनि बेरोजगारीको भुमरीमा पिल्सिएका युवाहरु नहुनु मामाभन्दा कानो मामा बेस सम्झेर मेनपावर अनि दलालहरुका आश्वासनहरुलाई पत्याउन व्याध्य हुन्छन् । 

जब घर परिवारको मायाँ, ममता सबै त्यागेर सुनौलो भविष्यको कल्पना गरेर युवा विदेशीभूमीतर्फ लम्कन्छ उसका हरेक सपाना तुहिन थाल्छन् । साहुको अत्याचार, काम गर्ने समय, बेग्लै मौषम अनि परिवेशमा जसो तसो आपूmलाई भुलाउन युवाहरु बाध्य हुन्छन् । सयौं युवाहरु जोखिमपूर्ण कामका कारण जिन्दगी त्याग्न वाध्य भएको पनि हामीले देखेकै छौं । अब सोच्नुहोस् त उसको सपना के थियो र के भयो ? उसको परिवारमा के बित्दैछ अनि भविष्य के हुन्छ ? परिवारका सदस्यहरुको हेरचाह र पालन पोषण कसले गर्छ ? 

बिदेशमा पलायन भएका युवाहरुका घर बिग्रिएका उदाहरण पनि धेरै छन् । देशमा रहँदाको संकट अनि त्यो संकट टार्न विदेशी पैसाको मोहमा फस्दा घर परिवारविहिन पनि धेरै बन्न वाध्य भएका छन् । के उनीहरुलाई परिवारसँग जिउने मोह छैन होला ? परिवारसँग बिछोडिनु पर्ने बाध्यता यही बैदेशीक रोजगारीकै कारण हैन र ? प्रत्येक नागरीकले यस्ता अप्ठ्यारा नभोगी बाँच्ने वातावरण कहिले आउँछ ? 

नेपाली भने पछि जुन सुकै ठाउँमा पनि अवसरबाट बंचित गरीन्छ । साधारण रुपमा हेर्ने हो भने एउटा नेपाली श्रमिकको श्रममूल्य विश्व बजारमा निम्न बमोजिम छ । 

अदक्ष

२८० देखि ३३० डलर वा २८, ००० देखि ३३, ००० नेरु

अर्धदक्ष

४२०  देखि ५५०  डलर वा ४२, ००० देखि ५५, ००० नेरु

दक्ष

७००  देखि १, ०००  डलर वा ७०, ००० देखि १,०० ००० नेरु

 

जसमा ओभर टाइम उल्लेख गरिएको छैन ।  केही राम्रो अवसर पाएका नेपालीहरुको कमाई चित्तबुझ्दो पाइएकोछ । १५०० देखि ३,००० डलर खाने नेपालीहरु पनि छन् र उनीहरुको अवस्था अदक्ष र अर्धदक्ष जस्तो नाजुक छैन । 

सरसर्ती भन्नुपर्दा बैदेशिक रोजगारीमा अदक्ष र अर्धदक्ष नेपालीहरुको संख्या अत्याधिक धेरै छ । अनि जोखिमपूर्ण काम र सास्ती खेप्ने वर्ग पनि यही हो । शोषित अनि पीडितहरु यही वर्गमा पर्दछन् । अझ भन्ने हो भने अदक्षहरुको अवस्था अत्यान्तै दर्दनाक छ । दिनभर ४२ डिग्रीको तातो घाममा पिल्सीएर १२ देखि २० जना सम्म कोच्चिएर राखिएका कोठामा रात बिताउनु पर्छ उनिहरुले । न त श्रमको उचित सम्मान हुन्छ न त बस्ने, खाने र सुत्ने उपयुक्त वातावरण नै पाउँछन् । उनीहरुमध्ये अधिकांश एउटा न एउटा रोग बोकेर तथा आफूलाई शारिरीक तथा मानशिक रुपमा बिक्षिप्त बनाएर मात्र नेपाल फर्कन बाध्य छन् । नेपाल फर्किएपछि उसको अवस्था अझ दर्दनाक हुन्छ । यहाँ काम गर्ने वातावरण पाउदैनन् । उनीहरुलाई नेपालमा काम गर्ने वातावरणको सृजना कहिले हुन्छ ? रातदिन तातो घाममा पिल्सिएको त्यो नेपाली श्रमिकले फेरी त्यस्तै तातो घामको कल्पना गर्नु पर्ने हो कि उसलाई स्वदेशमा काम गर्ने वातावरण मिल्छ ? मिल्छ भने कहिले ? 

एउटै कामको लागि बिदेशी दलाल कम्पनीहरुले देश हेरेर श्रम सम्झौता गरेका हुन्छन् । माथी उल्लेखित टेबल अनुसार अदक्ष एक भारतीय मूलको नागरीकले ४२० देखि ५५० डलर पाउँछ । अर्धदक्षले ७०० देखि १००० डलर पाउँछ र दक्षले १५०० देखि २००० डलर पाउँछ भने नेपाली श्रमिकलाई किन अन्याय ? काम एउटै, स्थान एउटै तर पारिश्रमिक फरक यो कसको कमजोरीले हो ? नेपाली श्रमिक, नेपाल सरकारको बैदेशिक श्रम सम्झौता वा अरु नै कुनै कारण ? शोषण नहुने र वैज्ञानिक ढंगले किन श्रम सम्झौता गरिन्न ? कहिले नेपाली श्रमिकले सम्मान पाउँछ ? अब आउने श्रम सम्झौताहरु पनि यस्तै किसिमले गरिन्छन् कि वैज्ञानिक आधार र मापदण्ड बनाइन्छ ? 

बैदेशिक रोजगारीको कारण धेरै नेपालीका घर, सपना उजाडिएका छन् । धेरैका श्रीमान श्रीमती, छोरा छोरी अलग भएका छन् । के यो सामाजिक विचलन हैन ? हजारौ चेलीहरु बिदेशी भुमीका कुहिएका छन्, के उनीहरुलाई आफ्नो शरीरको माया मोह छैन होला ? हरेक दिन आफ्नो शरीर अरुलाई नचाहांदा नचाहंदै सुम्पिनु परेको छ, के यो उनीहरुको रहर हो ? उनीहरु के को लागि विदेशीनुपर्यो ? शरीर बेच्न या भविष्य बनाउन ? भविष्य बनाउने रहरमा आफ्नो अमुल्य शरीर दाउमा राखेका चेलीहरुको कहिले नेपाल फर्किएर आत्मसम्मानका साथ जीउने दिन आउँछ ? नेपालमा नै भएपनि सानो तिनो काम गरेर जीउने दिन उनीहरुले कहिले पाउँछन् ? 

स्वेशमा नै दुख गर्ने र जमेर जीउने हरेक बिदेशीएका नागरीकको चााहना छ । उनीहरुको यो चाहना कहिले पुरा हुन सक्ला ? बिदेशबाट नेपाल फर्किएपछि के गर्ने ? कहाँ गर्ने ? कसरी गर्ने ? के सामाजिक सुरक्षा छ ? व्यावसायीक अवसर छ ? हरेक बिदेशीएका नागरीकको प्रश्न हो, कहिले आउँछ यसको जवाफ ? 

बैदेशीक रोजगारमा दक्षता र अनुभव भएका नागरीकहरुलाई स्वदेशमा उनीहरुको सीप, अनुभव तथा ज्ञानलाई सदुपयोग गर्न सरकारी निकायबाट नीति नियम कहिले बन्छ ? बिदेशमा लिएको अनुभव र सिप नेपालमा नै व्यावस्थापन गर्ने दिन आउँछ कि आउँदैन ? 

बैदेशिक रोजगारमा पाँच वर्ष भन्दा बढी एउटै कार्यक्षेत्रमा अनुभव भएका नागरीकलाई सरकारी निकायमा समावेश गरेर बैदेशिक सिपलाई प्रयोग गर्न नागरीकलाई प्रोत्साहन गर्ने नेपाल सरकारले अझसम्म सोचेको छ ? 

बिदेशबाट फर्किएपछि लगानी गर्ने ठाउँ तथा काम गर्ने अवसर नपाएर युवाहरु फेरी बिदेश पलायन हुन बाध्य छन्, त्यसैले यूवाहरुलाई प्रोत्साहन सहितका राहातका प्याकेज निर्धारण राष्ट्रले कहिले गर्छ ? 

स्वदेशमा काम गर्न इच्छुक नागरीकलाई सरल बैंकिङ लोन तथा सुविधाको व्यावस्थापन कहिले हुन्छ ? 

लाखौं बिदेशीएका यूवाहरु आतुर छन् देशभित्र काम गर्न तर त्यो दिन कहिले आउला ? 

आशाबादी हुन एउटा सही सन्देश पाउनु पर्छ । त्यस्तो सही सन्देश अहिले लाखौं बिदेशीएका युवाहरुले खोजिरहेका छन् । मलाई विश्वास छ, मेरो यो पत्रभित्र लाखौं युवाको अहिलेको वास्तविक दुःख, पीडा, क्रोध अनि केही खुशी लुकेकोछ । आशा छ तपाईको कार्यकालमा हामीले यी सबै प्रश्नको उत्तर र सुखद सन्देश पाउनेछौं । र, हामी निराश हुनुपर्ने छैन । सफल कार्यकालको शुभकामना । 

प्रतिकृया दिनुहोस