आज : Thursday, July 19, 2018 | २०७५ श्रावण ३ बिहीबार

विद्या मदनकि पत्नी मात्र हुन् कि अरु पनि हुन् ?

शार्दूल भट्टराई - |

नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी २०७२ साल कार्तिक ११ गते नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि सामाजिक सञ्जालमा कसैले लेखेको थियो – ‘को हुन् विद्यादेवी भण्डारी ?’

त्यो प्रश्नको उत्तर दिँदै अर्का एकजनाले लेखेका थिए – ‘विद्यादेवी भण्डारी दिवङ्गत नेता मदन भण्डारीकी धर्मपत्नी त हुन् नि, अरू को हो र !’

उत्तरकै रूपमा अर्का एकजनाले लेखे – ‘विद्यादेवी भण्डारी दुई छोरी उषाकुसुम र निशाकिरणकी आमा पनि त हुन् नि, कस्तो थाहा नपाएको !’ 

यथार्थ एकातिर, प्रचार अर्कैतिर । वास्तविकता एकातिर, चर्चा अर्कैतिर । सत्य एउटा, कल्पना अर्कै । तथ्य एउटा, हल्ला अर्कै । प्रसङ्ग एकातिर, होहल्ला अर्कैतिर । सन्दर्भ एक, असान्दर्भिक हल्लाखल्ला अनेक । सधैँभरि होइन, समय–समयमा देखिने यो एउटा प्रतिबिम्ब नै हो हाम्रो सामाजिक सञ्जालको । यसलाई समय–समयको एउटा प्रवृत्ति नै मान्दा पनि हुन्छ । 

त्यस्तै देखियो राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा पनि । नेपाली राजनीतिमा चालीस वर्षको  सक्रिय जीवन बिताइसकेकी एउटी सङ्घर्षशील महिलाका राजनीतिक योगदानलाई ढाकछोप गरेर अन्य कुरालाई बढी महत्व दिनु कतिको न्यायोचित कुरा होला ? कसैको पनि खास योगदानको अवमूल्यन गरेर क्षणिक रूपमा विषयलाई अन्यत्रै मोड्न खोज्दैमा इतिहासका सत्यतथ्य घटनाहरूलाई त्यति सजिलै नामेट गर्न सकिएला र ?     

सबैले सार्वजनिक रूपमा जानेबुझेकै कुरा हो राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वी पहाडको एउटा गाउँमा, किसान परिवारमा जन्मिएर देशको राष्ट्रपतिसम्म बन्न पुग्नु भएको छ । तर उहाँ एकाएक, विना कुनै योगदान राष्ट्रपति बन्न पुग्नु भएको होइन । यसका लागि उहाँको चार दशक लामो   सङघर्षमय राजनीतिक यात्रालाई स्मृतिमा राख्नु जरुरी छ । 
विद्यादेवी भण्डारी माध्यमिक शिक्षा पूरा गर्दानगर्दै २०३२÷०३३ सालदेखि नै विद्यार्थी राजनीतिमार्फत नेपाली राजनीतिमा प्रवेश गर्नु भएको थियो । चौध–पन्ध्र वर्षकै उमेरमा उहाँ निर्दलीय र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध वामपन्थी एवम् लोकतान्त्रिक आन्दोलनसँग जोडिन पुग्नु भएको थियो ।  विद्यार्थी राजनीतिमा सक्रिय रहँदारहँदै उहाँ पार्टी राजनीतिसँग पनि जोडिन पुग्नु भएको थियो । २०३५ सालमा नेकपा (माले) को स्थापना भयो । उहाँ त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा भूमिगत रूपले सक्रिय हुनुभयो । एक वर्षपछि उक्त पार्टीको सदस्यता प्राप्त गर्नुहुने उहाँ पार्टीसँगै विद्यार्थी फाँटको जिम्मेवारीमा समेत सक्रिय रहनु भयो । उहाँले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वी क्षेत्रको इञ्चार्जको जिम्मेवारी सम्हाल्नु भयो । यहीबेला स्वतन्त्र विद्यार्र्थी युनियनको निर्वाचन भयो । उहाँ विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस–युनियनको कोषाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ विद्यार्थी नेताका रूपमा सार्वजनिक रूपमै परिचित हुनुभयो । 

विद्यार्थी र पार्टी राजनीतिसँगै विद्यादेवी भण्डारी महिलामुक्ति आन्दोलनमा समेत सक्रिय हुन पुग्नु भयो । उहाँ २०३७ सालमा अखिल नेपाल महिला सङ्घको सदस्य हुनु भयो । उक्त सङ्गठन तत्कालीन नेकपा (माले) नजिकको महिला सङ्गठन हो । उक्त सङ्गठनको सदस्य भएपछि महिला अधिकारका मुद्दाहरूलाई समेत उहाँले निकै  महत्वका साथ उठाउन थाल्नु भयो । 

उहाँका राजनीतिक गुरु भनेकै मदन भण्डारी हुनुहुन्थ्यो । त्यसैले पनि छोटो समयमै एउटा कुशल राजनीतिक कर्मीमा देखिने विशेषताको विकास उहाँमा देखिएको थियो । उहाँहरूबीच २०४१ सालमा विवाह भएपछि राजनीतिलाई अझै गहिराइमा गएर बुझ्ने मौका विद्यादेवी भण्डारीले पाउनु भयो ।  

जननेता मदन भण्डारीको रहस्यमय दुर्घटनामा निधन भएपछि उहाँको राजनीतिक सक्रियता अझै बढ्यो । उहाँ २०५४ सालमा नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य हुनुभयो । २०५९ सालमा दोस्रो पटक सोही पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०६५ सालमा सम्पन्न महाधिवेशनबाट उहाँ नेकपा (एमाले) को उपाध्यक्षमा निर्वाचित हुनु भयो । २०७१ सालमा उहाँ दोस्रो पटक पार्टीको स्थायी कमिटीसहित उपाध्यक्षमा निर्वाचित हुनुभयो ।   

पार्टी राजनीतिसँगै महिला आन्दोलनको जिम्मेवारीमा समेत रहनु भएकी विद्यादेवी भण्डारी २०५५ सालमा  अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित हुनु भयो । त्यसपछि पनि उहाँ उक्त सङ्गठनको अध्यक्षमा लगातार तीन पटकसम्म निर्वाचित हुनुभयो । राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा अगाडिसम्म उहाँ सोही सङ्गठनको अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।     

विद्यादेवी भण्डारी संसदीय निर्वाचनमा पनि एउटा सफल नेताको रूपमा सुपरिचित हुनुहुन्छ । जननेता मदन भण्डारीले संसदीय निर्वाचनमा आफ्नो सहभागिता आरम्भ गरेको काठमाडौँ क्षेत्र नं. १ बाटै उहाँले पनि आफ्नो संसदीय निर्वाचनको यात्रा शुरु गर्नुभएको थियो । मदन भण्डारीले अन्तरिम शासनकालका लोकप्रिय प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको थियो भने उहाँको निधनपछि भएको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले पनि कृष्णप्रसाद भट्टराईलाई नै पराजित गर्नु भएको थियो । त्यसपछि उहाँ नेपाली जनताका बीच निकै लोकप्रिय हुन पुग्नुभयो । जनस्तरमा ‘जनताकी छोरी – विद्या भण्डारी’ भन्ने नारा गुञ्जिन थाल्यो । त्यसपछि पनि सोही क्षेत्रबाट उहाँ लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो । उहाँ २०५४ सालमा जनसङ्ख्या तथा वातावरण मन्त्री बन्नु भएको थियो भने २०६६ सालमा उहाँ रक्षामन्त्री बन्नु भएको थियो । 

विद्यादेवी भण्डारी नेपालको वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलनसँगै लैङ्गिक समानताको आन्दोलनमा समेत अग्रपङ्क्तिमा रहनु भयो । प्रतिनितिसभा सदस्यको हैसियतमा महिला अधिकार र समानताको पक्षमा उहाँ निरन्तर सङ्घर्षरत रहनु भयो । लैङ्गिक समानता, महिला शिक्षा, समान ज्याला र घरेलु हिंसाको निवारणका विषयमा उहाँले संसदमा विशेष प्रस्ताव नै प्रस्तुत गर्नुभयो । राजनीति र सरकारी सेवामा महिलाको सहभागिता न्यूनतम ३३ प्रतिशत हुनैपर्ने कुरालाई सुनिश्चित गर्ने सन्दर्भमा पनि उहाँको भूमिका अग्रणी रह्यो । संविधानसभाबाट जारी भएको नेपालको संविधान– २०७२ मा सरकारी सेवा र राजनीतिक प्रतिनिधित्वमा महिला सहभागिता ३३ प्रतिशत रहने व्यवस्थाका लागि उहाँले गर्नुभएको सङ्घर्षपूर्ण नेतृत्व अविस्मरणीय रहेको छ ।  

विद्यादेवी भण्डारी २०७२ साल कार्तिक ११ गते लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो । पहाडको एउटा किसान परिवारमा जन्मिएकी महिला नेपालको राष्ट्रपति हुनुपुग्नु नेपाली जनताकै गर्वको विषयका रूपमा धेरैले लिए । नेपालको सर्वोच्च पदमा संसदबाट निर्वाचित हुने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ । विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुखका रूपमा रहेका महिलाहरूमा विद्यादेवी भण्डारी छब्बीसौँ महिलाका रूपमा रहनु भएको छ । निरन्तरको सङ्घर्ष, त्याग र निष्ठापूर्ण समर्पण नै राजनीतिमा सफलताको आधार हो भन्ने उदाहरणलाई विद्यादेवी भण्डारीले स्थापित गर्नुभएको छ ।    

यतिधेरै तथ्ययुक्त योगदानहरूका साथ आफ्नो राजनीतिक ओजलाई स्थापित गर्न सफल व्यक्तित्वका बारेमा अवमूल्यनका साथ उपहासपूर्ण प्रश्न गर्नु कतिको न्यायोचित कुरा होला ? खास आग्रह, पूर्वाग्रह र दूराग्रहको उपजकै रूपमा अभिव्यक्त कुराहरूले यथार्थको धरातलमा उभिन चाहने नेपाली समाजलाई कतातिर डो-याउला ? यथार्थलाई एकातिर पन्छाएर तथ्यहीन हल्लाखल्लाकै भरमा जबर्जस्ती कसैको अवमूल्यन र उपहास गर्ने कुराले स्वच्छ र स्वस्थ समाजको निर्माणमा कसरी सहयोग पु-याउला ?   

प्रतिकृया दिनुहोस