आज : Saturday, May 26, 2018 | २०७५ जेठ १२ शनिबार

पवन चाम्लिङको दार्जिलिङ र बंगालप्रति आक्रोश पोखियो 

आठैप्रहर संवाददाता - |

दार्जिलिङ । नेपालीभाषीको अत्याधिक बाहुल्य रहेको भारतको सिक्किम राज्यका मुख्यमन्त्री पवन चाम्लिङले आफ्नो पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को २६ स्थापना दिवसको अवशरमा सिक्किममा दार्जिलिङ र पश्चिम बंगालले हस्तक्षेप गरेकोमा चित्त दुखाएका छन् । यही ४ मार्चमा सिक्किमको प्रवेशद्वार रम्फू नजिक माइनिङ क्रिकेट मैदानमा भएको पार्टी स्थापना दिवसको भव्य कार्यक्रममा उनले दार्जिलिङप्रति चित्त दुखाएका हुन्। दार्जिलिङ नेपालीभाषी बाहुल्य रहेको क्षेत्र हो र यहाँ दशकौंदेखि गोर्खाल्याण्ड प्राप्तीको आन्दोलन चलिरहेको छ । 

उनले दार्जिलिङलाई दुख समस्या परिआउँदा जहिले पनि सिक्किमले सहयोग गरेको भएको भए पनि उसले सिक्किमको राजनीतिमा हस्तक्षेप गर्ने गरेको कुरा उनले आफ्नो भाषणमा गरेका छन्। 

यसै वर्ष २१ जनवरीको दिन दार्जिलिङ पहाडको तराई क्षेत्र सुकुनामा भएको जनसभामा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)को नयाँ अध्यक्ष एवं गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)का अध्यक्ष विनय तामाङले सिक्किमबाट दार्जिलिङको राजनीतिमा हस्तक्षेप भइरहेको आरोप लगाएका थिए। सो जनसभामा तामाङले दार्जिलिङको राजनीतिमा कुनै हस्तक्षेप नगर्न मुख्यमन्त्री चामलिङलाई चेतावनी दिएका थिए। सोही कुरालाई लिएर मुख्यमन्त्री चामलिङले भने, ‘‘हामीले दार्जिलिङ र बंगालमा राजनीति गरेका छैनौं। यदि हामीले राजनीति गरेको भए त्यहाँ हाम्रो पार्टी खोल्ने थियौं, जसरी आज सिक्किममा दार्जिलिङका जम्मै पार्टीहरू खोलिएका छन्। पहिलेको पनि पार्टी थियो र अहिलेको पनि छ।’’ 

उल्लेखनीय छ, १९८६ सालमा दार्जिलिङ पहाडमा अलग राज्य गोर्खाल्यान्डको आन्दोलन शुरू भएपछि यो माग भारतभरिकै नेपालीहरूका निम्ति जातीय साथै राष्ट्रिय मुद्दा भएको छ। गोर्खाल्यान्डकै मुद्दालाई दह्रो बनाउनका निम्ति स्व. सुवास घिसिङको नेतृत्वमा नब्बेको दशकमा सिक्किममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खोलिएको थियो। सुवास घिसिङले गोरामुमो सिक्किम बाहेक नेपालमा र भोटाङमा समेत खोलेका थिए। यसपछि विमल गुरूङको नेतृत्वमा सिक्किममा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सिक्किमलगायत देशका अन्य कतिपय राज्यहरूमा पनि खोलिएको छ। 

गोर्खाल्यान्डको प्रत्येक आन्दोलनमा सिक्किमबाट मुख्यमन्त्री पवन चामलिङले उर्जा दिँदै आएका हुन्। २०११ सालमा उनले सिक्किम विधानसभामा अलग राज्य गोर्खाल्यान्डको पक्षमा प्रस्ताव पनि पारित गरेका हुन्। दार्जि्लिङलाई सधैं सहयोग गर्दै आएको तर दार्जिलिङको राजनीतिमा हस्तक्षेप गरेको छैन भन्ने कुरा गर्दै मुख्यमन्त्री चामलिङले भने, ‘‘अहिले क्षेत्रीय पार्टीको नाममा पनि खोल्ने कुरा चलिरहेको छ। हामीले त्यसो गरेका छैनौं। कारण हामीलाई दार्जिलिङमा राजनीति गर्नु छैन। तर, जहिल्यै पनि दार्जिलिङ र बंगालले सिक्किमको राजनीतिमा हस्तक्षेप गरेको छ। जहिल्यै पनि सिक्किमको चुनाउमा कुनै न कुनै पार्टीलाई सघाएको छ। हामीले कुनै पनि दार्जिलिङको पार्टीलाई चुनाउमा सघाएका छैनौं।’’ दार्जिलिङबाट सिक्किमको राजनीतिमा हस्तक्षेप भइरहेको भए पनि त्यसको ठीक उल्टो दुख र समस्या परेको बेलामा सिक्किमले आफ्नै दाजुभाई सम्झेर दार्जिलिङवासीलाई सहयोग गर्दै आएको उनले बताए। 

अघिल्लो समयमा गोर्खाल्यान्डको आन्दोलन हुँदा क्याम्प लगाइलगाइ सहयोग गरेको उनले सम्झना गराए। दार्जिलिङ र बंगालबाट आएर सिक्किममा विभिन्न क्षेत्रमा काम गरिखाइरहेकाहरूलाई सिक्किमले कहिल्यै नहेपेको बरू काखी च्यापेर माया, सम्मान र सुरक्षा प्रदान गर्ने गरेको उनले बताए। हालका दिनमा पनि सिक्किमको होटल व्यवसायमा ७० प्रतिशत, यातायात व्यवसायमा ४० प्रतिशत, व्यापारको क्षेत्रमा ९० प्रतिशत, निर्माणको क्षेत्रमा ९० प्रतिशत साथै सरकारी नोकरीमा ३० प्रतिशत र पत्रकारिताको क्षेत्रमा पनि ९० प्रतिशत बाहिरकाहरू रहेको र जसमा अधिकतर दार्जिलिङबाट रहेको कुरा मुख्यमन्त्री चामलिङले उजागर गरेका छन्। 

‘‘हामीले आफ्नो मान्छे भनेर जहिल्यै पनि सहयोग गरेका छौं। बिना शर्त सहयोग गरेका छौं। रेसिप्रोकल हुन पर्यो नी! तर, हाम्रो कमजोरी एनएच (राष्ट्रिय राजमार्ग) १० लाई रोक्ने र दुख दिने काम मात्र भएको छ’’, यसरी बोल्दै जनसभामा अझ बढी चित्त दुखाउँदै उनले भने, ‘‘आन्दोलनको नाममा हामीले धेरै दुख पाएका छौं। जतिनै राम्रो गर्दा पनि हामीलाई जहिल्यै गाली गरिरहेको हुन्छ। यो चाहिँ साह्रै मन दुख्ने कुरा हो, चित्त दुख्ने कुरा हो।’’

बीच बीचमा चित्त दुखाउँदै साथै केही आक्रोशित हुँदै उनले भने, ‘‘सिक्किमले कसैलाई अन्याय गर्दैन तर, कसैको अन्याय सहन पनि गर्ने छैन।’’ 

१९९४ सालदेखि सिक्किममा लगातार शासन गर्दै आएको पार्टी एसडीएफ २६ औं स्थापना दिवसका भव्य कार्यक्रममा सिक्किमभरबाट हजारौंको संख्यामा जनता भेला भएको यस कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथि रहेका थिए। ४ मार्च १९९३ सालमा दक्षिण सिक्किमको नाम्चीस्थित घुर्पिसेमा एसडीएफको स्थापना भएको थियो। मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा एसडीएफले सरकार संचालन गरेको २३ वर्ष पुगिसकेको छ। गएको साल रजत वर्ष पुरा गरेर अब एसडीएफ भारतभरमै राजनैतिक क्षेत्रमा कीर्तिमान हासिल गर्न स्वर्ण जयन्तीको यात्रा शुरू गरेको मुख्यमन्त्री चामलिङले बताए। 

सो कार्यक्रममा एसडीएङ्गले सिक्किम र सिक्किमेली जनताका हितमा आठवटा प्रस्ताव पारित गरेको छ। जुन यसप्रकार छन्। भारतीय संविधानको धारा ३७१ एफको सुरक्षा, पूर्ण सम्मान र पालन गर्ने, लिम्बू तामाङलाई सिक्किम विधानसभामा छिट्टै जनजातिको आसन आरक्षण दिलाउन केन्द्र सरकारसित माग गर्ने, छुटेका ११ वटा नेपाली जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउन केन्द्र सरकारलाई माग गर्ने, १७ औं कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम प्रवेशको अनुमतिको निम्ति केन्द्र सरकारलाई माग गर्ने, पुराना व्यापारीहरूलाई केन्द्रीय आयकरमा छुटको माग, अस्तित्व र संघीय सम्मानको सुरक्षा गर्दै सिक्किमलाई भौतिक र मानसिक आतंकवादबाट सुरक्षित राख्ने, राज्यका युवाहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने र सिक्किमेली समाजको समावेशी हक र अधिकारलाई सुरक्षा र सशक्तिकरण गरेर भावनात्मक रूपमा एकीकरण गर्ने माग रहेको छ।

प्रतिकृया दिनुहोस