आज : Thursday, July 19, 2018 | २०७५ श्रावण ३ बिहीबार

प्रदीप ज्ञवाली प्रम कार्यालय मन्त्री बन्ने करिब निश्चित

आठैप्रहर संवाददाता - |

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका नजिकका राजनीतिक सहयोगी पार्टीका सचिव प्रदीप ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने शक्तिशाली मन्त्री बन्ने करिब निश्चित भएको छ । स्रोत अनुसार, ओलीले केही दिनअघि ज्ञवालीलाई सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने वचन दिएका छन् । अर्थमन्त्री युवराज खतिवडा र गृहमन्त्री माओवादी नेता रामबहादुर थापा बनिसकेको अवस्थामा अब सरकारमा महत्वपूर्ण जिम्मेवारी त्यही मात्र बाँकि छ । 

राजश्व अनुसन्धान बिभाग, सम्पति सुद्धिकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, समाजकल्याण बिभाग जस्ता निकाय लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निकै शक्तिशाली बनाइएको छ । प्रदेश सरकारहरुको संयोजन गर्ने जिम्मा पनि यही कार्यालयमा हुनेछ । यस्तोमा यी सबै काम गर्न अहिलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको क्षमता बढाउन आवश्यक छ । र,त्यसका लागि ओलीले सबैभन्दा भरपर्दा ज्ञवालीलाई यसको जिम्मा दिन लागेको बताइएको छ । 

एमालेको इतिहासमा ओली सबैभन्दा कमजोर बनेकोे २०५९ मा जनकपुरमा आयोजित सातौं महाधिवेशनमा ज्ञवाली विद्या भण्डारी, शंकर पोखरेल र काशिनाथ अधिकारीसँगै केन्द्रीय सदस्यमा बिजयी बनेका थिए । भण्डारी राष्ट्रपति छिन् र उनी नै दोहोरिने सम्भावना बढि छ । पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्रि बनिसकेका छन् । पोलिटब्यूरो सदस्य अधिकारी भने यो पटक सांसद छैनन् । 

त्यस यता पनि ज्ञवाली भण्डारी र पोखरेल जसरी नै ओलीको भरपर्दा सहयोगी सावित भएका छन् ।  अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि ओलीले ज्ञवालीलाई सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने इच्छा राखेपनि त्यसबेला ज्ञवाली संसदमा पराजित भएकाले सम्भव भएन । ज्ञवाली सुरुमा अर्थ र पछि पराराष्ट्र मन्त्री बन्ने चर्चा थियो । 

यसबाहेक एमालेले अब पाँच मन्त्रालय पाउने छ । अहिलेसम्म एमालेबाट ईश्वर पोखरेल रक्षा, युवराज खतिवडा अर्थ, लालबाबु पण्डित वातावरण र थममायाँ थापा महिला मन्त्री बनिसकेका छन् । 

प्रतिकृया दिनुहोस