आज : Saturday, May 26, 2018 | २०७५ जेठ १२ शनिबार

सलमानको कार्यक्रम रद्ध भएकोमा बिप्लव समूह हर्षित

आठैप्रहर संवाददाता - |

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ । मार्च १० मा हुने भनिएको सो कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले अवरोध गर्ने चेतावनी दिएपछि स्थगित भएको हो।

कार्यक्रम स्थगित भएपछि  माओवादी बिप्लव सम्बद्ध अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सामाजिक सञ्जाल फेसबुकमा ‘हार्दिक आभार’ भन्दै लामो स्टाटस राखेका छन् । उनले कार्यक्रम स्थगित भएको हर्षानुभूति गराएको पनि उल्लेख गरेका छन् । स्टाटसमा भनिएको छ—

‘नेपाली मौलिक संस्कृतिमाथि अतिक्रमण हुनेगरी आयोजना गरिएको विदेशी कलाकार सम्मिलित ‘दबंग द टुर’ नामक कार्यक्रम स्थगित भएको समाचारले हामीलाई हर्षानुभूति गराएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा अगाडि सारिएको कार्यक्रम स्थगित गर्ने अभियानमा सहभागी सम्पूर्ण जनता, राजनीतिक दल, जनसंस्कृतिकर्मी तथा सञ्चारकर्मी मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दै राष्ट्रियताको सम्वद्र्धन गर्ने हाम्रो अभियानमा आगामी दिनहरूमा पनि यस्तै किसिमको साथ र समर्थन प्राप्त भइरहने अपेक्षा पनि गर्दछु ।’

कार्यक्रममा सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेननलगायत सहभागी हुने कार्यक्रम थियो । कार्यक्रम तोकिएको समयमा गर्न विप्लव समूहसँग कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो। तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएको आरोपमा विप्लव समूहले कार्यक्रम गर्न नदिने बताएपछि कार्यक्रम स्थगित भएको हो। उनीहरूले कार्यक्रमस्थल र टिकटदरमाथि आपत्ति जनाएका थिए ।

कार्यक्रम स्थगित बारेमा आयोजकले आफ्नो आधिकारिक धारणा राखिसकेको छैन्।

तर, उक्त कार्यक्रमका लागि सलमान र उनको टिमका सबैले अग्रिम पारिश्रमिक लिइसकेको बताइएको छ ।

श्रोत अनुसार, सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएको छ । र, सो रकम कसरी फिर्ता हुन्छ भन्ने निश्चित छैन । 

प्रतिकृया दिनुहोस