आज : Sunday, February 18, 2018 | २०७४ फाल्गुण ६ आइतबार

प्रदेश नेताको चुनाव एमालेको चाहना वा वाध्यता ?

आठैप्रहर संवाददाता - |

आज प्रदेश १ र ३ मा नेकपा एमालेले संसदीय दलको नेताका लागि चुनाव गर्दैछ । माओवादीसँग तालमेल गरेर मुख्यमन्त्री आफ्नो भागमा पारेको तथा प्रदेश सभामा एक्लैको बहुमत पनि भएकाले यी प्रदेशमा दलको नेता हुने मुख्यमन्त्री बन्ने निश्चित छ । माओवादीसँगको तालमेलमा एमालेले मुख्यमन्त्री भाग पाएको ५ मा शंकर पोखरेल नेता चुनिइसकेका छन् भने ४ मा पनि संसदीय दलमा चुनाव नै हुने देखिएको छ । 

प्रदेश सभाहरुमा चुनाव गराउनुको साटो सहमति वा पार्टीको स्थायी समितिले निर्णय गरेर संसदीय दलको नेता चयन गर्नुपर्ने एमालेकै केही नेताले सार्वजनिकरुपमा माग गरेका थिए । तर, आकंक्षीबीच सहमति नबनेकाले चुनाव गर्नुपरेको एमालेले बताएको छ । एमालेले केन्द्रको संसदीय दलको नेता पनि यसअघि चुनावबाटै निर्वाचित गरेको थियो । जसमा तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर केपी ओली बिजयी बनेका थिए ।

यस्तोमा केहीले पार्टीको स्थायी समितिले निर्णय गर्नुको साटो प्रदेश सांसदहरुले नै नेता चुन्नुलाई संघीयताको ठिक कार्यान्वयन गरिएको मानेका छन् भने केहीले यसका कारण सांसदबीच र पार्टीमा अनावश्यक बिबाद बढ्ने आशंका गरेका छन् । यसलाई ठिक अभ्यास मान्नेहरुको तर्क छ, प्रदेश सभाले नेता चुन्दा प्रजातान्त्रिक अभ्यास पनि हुन्छ भने प्रदेशको स्वायत्तता पनि रहन्छ ।   

आज दिउँसो हुने एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र केन्द्रीय सदस्य डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । 

यो प्रदेशको मुख्यमन्त्रीको दावेदारी राजेन्द्र पाण्डेले गरेकोमा आज उनले उम्मेदवारी नै दिएनन् । उम्मेदवारी फारम भने उनले लगेका थिए । पौडेल हेटौडा नगरपालिकाका पूर्व मेयरसमेत हुन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।

एमाले प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । शाक्य माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।

उता, आजै चुनाव हुनलागेको प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई र भीम आचार्यले उम्मेदवारी दिएका छन् ।

यसअघि दलको नेताको दाबी गरिरहेका जीवन घिमिरेले उम्मेदवारी दिएनन्। सचिव आचार्य नेपाल पक्षका हुन भने राई अध्यक्ष ओली पक्षका हुन्। घिमिरे पनि नेपाल पक्षकै हुन् ।

प्रतिकृया दिनुहोस