आज : Saturday, December 15, 2018 | २०७५ मङ्सिर २९ शनिबार

नयाँ सरकारको तघारो बनेको राष्ट्रियसभा निर्वाचन सुरु

आठैप्रहर संवाददाता - |

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश ७ को कञ्चनपुरमा मतदान गर्दै एक जनप्रतिनिधि

निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार बन्न नसक्ने कारण बनेको राष्ट्रिय सभाको निर्वाचन आज बिहानबाट सुरु भएको छ । प्रदेश २ मा निर्विरोध भइसकेकाले आज ६ वटा प्रदेशमा मतदान सुरू भएको छ ।

राष्ट्रिय सभाको मतगणना परिणाम प्रकाशनपछि प्रतिनिधि सभा समानुपातिकतर्फको परिणाम घोषणा गर्ने निर्वाचन आयोगले बताएको छ । समानुपातिकतर्फको परिणाम घोषणा नगरिएकोले प्रतिनिधिसभा बन्न सकेको छैन । प्रतिनिधिसभा बनेपछि नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुनेछ । 

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपाङ्ग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा, प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालयमा, प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान भइरहेको छ ।

प्रतिकृया दिनुहोस