आज : Saturday, December 15, 2018 | २०७५ मङ्सिर २९ शनिबार

ओली र सुष्माको भेटको अर्थ के छ ?

विजय रायमाझी - |

तस्विर, फाइल फोटा, साभार भारतीय मिडिया

भनिन्छ, मित्र फेर्न सकिएला, छिमेकी फेर्न सकिदैन । अन्तराष्ट्रिय सम्बन्धको चर्चा गर्दा यो भनाई पटक पटक दोहोर्याउने गरिन्छ । नेपालको अन्तराष्ट्रिय मामिलाको कुरा गर्दा पनि यो भनाई पटक पटक सुनिने गरिएको छ । 

नेपालका दुई अजंगका छिमेकी छन्, उत्तरमा चीन र दक्षिण, पश्चिम र पूर्व  सीमामा भारत । नेपाललाई उन्नतिमा लैजाने हो भने यो तथ्य हेक्का राख्नै पर्छ । नेपालको हितलाई केन्द्रमा राखेर दुई छिमेकीसँग सुमधुर सम्वन्ध बनाउनु नै नेपालका लागि उपयुक्त परराष्ट्र नीति हो । नेपाली राष्ट्रवादको जग पनि योभन्दा अरु हुन सक्दैन ।  

अहिले नेपालमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भ«मणमा छिन् । भर्खरै भएको संघ र प्रदेशको चुनाव भएर बाम गठवन्धनले अत्याधिक स्थानमा बिजय हाशिल गरेर सरकार बनाउने निश्चित भएपनि राष्ट्रिय सभाको चुनाव हुन बाँकि छ र त्यो नभई प्रतिनिधिसभाको समानुपातिक परिणाम घोषणा गर्न नमिल्ने निर्वाचन आयोगले भनेकाले सरकार गठनका लागि अझै तीन हप्ता लाग्ने बताइएको छ । 

पुरानो सरकार बीदा हुन लागेको तथा नयाँ सरकार नबनिसकेको अवस्थामा भारतीय विदेश मन्त्रीको भ्रमणले शंका जन्माउनु स्वभाविक हो । छिमेकी अस्तव्यस्त रहेको बेला किन पाहुना लाग्न आए भने जस्तै । तर, उनी छिमेकको पाहुना भएकाले उनलाई स्वागत  गर्नु, छलफल गर्नु र आफ्नो दृष्टिकोण स्पष्ट राखेर सम्वन्ध सुमधुर बनाउने प्रतिवद्धता जनाउनु हाम्रो कर्तव्य हो । 

नेपालमाथि नाकावन्दी लगाउनु गल्ती भएको महशुस गरेर सम्वन्धलाई नयाँ ढंगले अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजलाई नेपाल पठाएको बताइएको छ । बताइए जस्तै हो भने सकारात्मक हो । हिजो सम्वन्ध बिग्रिएको पनि नेपालका कारण होइन । हाम्रो संविधान निर्माणमा उसले हस्तक्षेप गर्न खोजेकाले नै सम्वन्ध बिग्रिएको हो । अब उसले हस्तक्षेपको प्रयास नगर्ने हो भने नेपालले भारतसँग सम्वन्ध नराम्रो राखिरहनुपर्ने कुनै कारण रहदैन । 

तर, यो बिर्सनु हुदैन कि, दुई दिने भ्रमणका मिठा बातले मात्र हाम्रो सम्वन्ध बराबरी र सुमधुर हुन सक्दैन । इतिहासदेखि नेपाललाई भारतले गरेका अनेक हस्तक्षेप र हेपाईका पीडाहरु छन् । आफू दाई र साना छिमेकी भाई ठान्ने भारतीय सोच कायम रहँदासम्म त्यस्ता हस्तक्षेप र हेपाई दोहोरिरहनेछन् । मोदी भारतीय संस्थापनको त्यो दम्भी सोचाईबाट मुक्त भइसकेका होलान् ? यो निष्कर्षमा अहिले नै पुग्नु सायद निकै हतार हुनेछ । यसको फैशला भारतीय संस्थापनका भावी व्यवहारहरुले नै गर्नेछन् । 

तर, हरेक यात्राको सुरुवात पहिले पाइलाबाटै हुन्छ भने झै वर्तमान भारतीय संस्थापन पुरानो गल्ती नदोहोर्याउने निष्कर्षमा पुगेको हो भने नेपालले त्यसमा अन्यथा मान्नुपर्ने कुनै कारण छैन । नेपालको नेतृत्व गर्नेलागेका एमालेका अध्यक्ष ओलीले त्यसै कारण आज सोल्टी होटलमा पार्टीको ९ सदस्यीय प्रतिनिधिमण्डलसहित सुष्मालाई भेट्न लागेको हुनुपर्छ । 

आजको दुई पक्षीय भेट कुनै ठूलो राजनीतिक अजेण्डामा केन्द्रित हुनेछैन भन्ने निश्चित छ । ओली अहिले सरकारमा छैनन्, त्यसैले दुई देशका सरकारको प्रतिनिधि जस्तो भेट हुने छैन, आजको । तर, नेपालका उनी बन्नै लागेका प्रधानमन्त्री हुन् र उनको पार्टी एमाले सत्तासिन हुनैलागेको पार्टी हो । त्यसैले, दुई पक्षबीचको भेट नमस्ते, हात मिलाई र खानपानमा मात्र सिमित हुने छैन । आजको भेटमा भारतीय विदेश मन्त्रीले नेपालसँग भारत सँगै हिड्न तयार रहेको बताउनेछिन् भने ओलीले पनि सम्वन्ध सुमधुर बनाउन आफू पनि इच्छुक रहेको बताउने छन् । ओलीको स्वभावलाई आधार मान्ने हो भने यति चाहिँ भन्न सकिन्छ, आज पनि उनले दुई मुलुकबीच सुमधुर सम्वन्धका लागि परस्पर हितहरुको सम्मान आवश्यक पर्ने विषय उठाउन बिर्सने छैनन् । 

नेपालको आगामी यात्रा समृद्धितर्फ लैजाने हो भने हामीले दुई छिमेकीसँग अशल सम्वन्ध राख्नै पर्छ र त्यसका लागि वार्ता— छलफल अत्यावश्यक छ । वार्ता र छलफलहरुबाटै हामीले आफ्नो हित, चासो र स्वाभिमान अर्काे पक्षलाई बुझाउन सक्छौं । हामी अब दक्षिणतर्फ मात्र भर पर्दैनौं, उत्तरको आकाशमा पनि कावा खान चाहन्छौं भनेर दक्षिणलाई बुझाउन पनि वार्ता र छलफलमा बस्नै पर्छ । तथ्य, तर्क र आकंक्षा प्रस्तुत गरेर नै हामीले आफूलाई सक्षम र स्वाभिमानी प्रमाणित गर्न सक्नेछौं । 

यति गर्दा पनि अर्काे पक्षले बुझेन र पुरानै हठ र दम्भमा उ हिडिरह्यो भने हाम्रो स्वाभिमानको यात्रा छँदैछ । तर, त्यसबेला पनि आफ्नो कर्तव्यलाई नथाकी अघि बढाउने प्रयास जारी राख्नुको बिकल्प नेपालसँग रहँदैन । किनभने, छिमेकी फेर्न सकिदैन भन्ने अकाट्य तथ्य जो छ ।    
 

प्रतिकृया दिनुहोस