आज : Friday, January 19, 2018 | २०७४ माघ ५ शुक्रबार

साहनालाई घर घर पुरयाउँने तारा लामाको चाहना

आठैप्रहर संवाददाता - |

धनुषा जिल्लाको मिथिला नगरपालिकाकी उपप्रमुख तारा बस्नेत लामाले जारी नगरसभा अधिवेशनमा ‘मिथिलाको चाहना, घर÷घरमा साहना’ कार्यक्रम प्रस्ताव गरेकी छन् । कार्यक्रममा उल्लेख गरिएको साहना एमालेकी स्वर्गीय नेतृ साहना प्रधानप्रति समर्पित छ । प्रधान २०४६ को जनआन्दोलनका बेला बाम मोर्चाको अध्यक्ष थिइन् । त्यो आन्दोलन मोर्चा र नेपाली कांग्रेसको संयुक्त नेतृत्वमा सम्पन्न भएको थियो र ३० वर्ष लामो एक दलीय पंचायति तानाशाह व्यवस्थाको अन्त्य भएको थियो । 

गतसोमबार (२४ पुस २०७४) सुरु भएको नगरसभा अधिवेशनमा प्रस्ताव गरिएको ‘मिथिलाको चाहना, घर÷घरमा साहना’ कार्यक्रमको प्रस्ताव अहिले छलफलकै क्रममा रहेको उपप्रमुख बस्नेतले जानकारी दिएकी छन् । ‘यो कार्यक्रम मुलुककी अग्रणी महिला नेतृ साहना प्रधानको स्मृतिमा कल्पना गरिएको हो’ कार्यक्रमबारे जानकारी दिदै उपप्रमुख बस्नेतले भनिन्–, ‘मिथिलाका सबै महिला साहनाजस्तै संघर्षशील, जुझारु, सुशिक्षित र सचेत हुन सकुन् भन्ने प्रस्तावित कार्यक्रमबाट अपेक्षा गरिएको छ ।’

यस कार्यक्रममा मिथिला नगर क्षेत्रका स्नातक उतिर्ण गर्ने जुनसुकै वर्ग, तप्का र समुदायका महिलालाई पाँचहजार नगदसहित कदरपत्र दिइने ब्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरि छोरीलाई उच्चशिक्षाका लागि अभिप्रेरित गर्ने, उनीहरुको अध्ययनको चाँजो मिलाइ दिने अभिभावकलाईसमेत दोसल्ला ओढाएर सम्मान गरिने सो कार्यक्रममा प्रस्ताव गरिएको उपप्रमुख बस्नेतले बताइन् । ‘यो कार्यक्रमले आम महिलालाई उच्चशिक्षाका लागि अभिप्रेरित गर्ने, बालबिबाह, बहुबिबाह, अनमेल बिबाह र दहेजप्रथाजस्ता सामाजिक कुरितिबिरुद्ध जागरुक बनाउने र अधिकारका लागि सचेत बनाउने उद्देश्य बोकेको छ’ नेकपा एमालेकी नेतृसमेत रहेकी उपप्रमुख बस्नेतले भनिन्–, ‘कार्यक्रमबारे सबैतिरबाट सकारात्मक चासो बढेको छ, म उत्साहित छु ।’

नगरसभामा अहिले छलफलकै क्रममा रहेको यो कार्यक्रमका लागि पहिलो बर्ष तीन÷चारलाख बिनियोजन गर्न प्रस्ताव गरिएको मिथिला नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए ।

मिथिला नगरपालिकामा अहिले छलफलकै क्रममा रहेको यो कार्यक्रमबारे छिमेककै महोत्तरी जिल्लाका बर्दिवास, भंगहा, औरही र गौशालासहितका नगर क्षेत्रका महिलाले पनि चासो बढाएका छन् ।                                   

प्रतिकृया दिनुहोस