आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

१६ सय वर्षअघि चिनियाँले देखेको लोभलाग्दो सपना

थाओ युआनमिङ - |

आरुको बगैंचा 

घटना उहिलेको हो, छिन बंशको थाई युआनको शासन कालमा वुलिंगमा एक जना माझी बस्दथे । एक दिनको कुरो हो, एउटा नदीको तिरै तिर भएर उनि जाँदै थिए । उनलाई आफुले पार गरेको दुरी चेतै भएन । अकस्मात उनी आरु फुलेको बगैंचामा आई पुगे । नदीको दुवै किनारामा कोशौं दुर लामवद्ध आरुका रुख थिए, ढकमक्क फुलेका । तिनको वरिपरि अर्को कुनै खालको बोट बिरुवा थिएन । थिए त बास्नादार फूलहरु, कोमल र आँखै तिर्मिर्याउने । आरु फूलबाट उत्सर्जित बास्नामा हावा लहरी रहेको थियो । माझी भने रोमाञ्चित हुँदै यो बगैंचाको कहाँ अन्त्य होला भन्दै अघि बढ्दै थिए । अन्ततः त्यो एउटा झरनामा पुगेर टुङ्गियो । त्यस पछि भने एउटा सानो पहाड आयो । पहाडको छेउमै एउटा सानो गल्छेडो थियो जसबाट प्रकाशपुञ्ज आएको प्रतित हुन्थ्यो । आफ्नो नाउ नदी किनारामा यसै छोडेर उनी गल्छेडो तिर लागे । सुरुमा त त्यसबाट छिर्न निकै हम्मे पर्यो तर केही बेरको ठेलमठेल पछि उनी झलमल्ल उज्यालो भएको बिशाल फाँटमा प्रवेश गरे ।

भव्य भवन, लह लह बाली, मज्जाका पोखरी, यत्र तत्र ऐसेलु र वेलिका लहरा, जता हेर्यो उतै लोमहर्षक,  जताततै जोड्ने बाटाघाटाहरु, एक ठाउँबाट अर्को ठाउँमा कुकुर भुकेको या भाले बासेको सजिलै सुन्न सकिन्थ्यो । मानिसहरु खेतबारीमा काम गर्न जाने र आउने सरोवरी थिए । तिनको पहिरन बाहिर मानिसहरुको जस्तो हुन्थ्यो ठ्याक्कै उस्तै थियो । सेताम्मे फुलेका बुढापाका र बालबालिका प्रशन्न र सन्तुष्ट देखिन्थे ।

माझीलाई देख्ना साथै केही मानिसहरु त अचम्मै परे । तिनले उनलाई सोधे, तिमि कहाँबाट आएका हौ ? उनले आफ्नो सारा बेलिबिस्तार सुनाए । तिनले अतिथिलाई आफ्नो घरमा निम्ता दिए । भोजमा रक्सी र कुखुराको पकवान नै अघि सारे । गाउँमा उनी आएको हल्ला फिजिनका साथै सारा गाउँ नै पल्टेर उनलाई भेट्न भनेर आयो । तिनले नाना भाँतीका सवाल गरे । आफ्नो तर्फÞबाट पनि उनीहरुले आफ्नो बेलिबिस्तार सुनाए । आफ्ना जिज्यु बाजेहरू छिनको जमानाको दुःख कष्ट सहन नसकेर आ—आफ्ना जहान र छर—छिमेक लिएर यस बिरान ठाउँमा आएका हुन् र फेरि कहिल्यै त्यता न फर्किने गरी । त्यसबेला देखि उनीहरु वाहिरी दुनियाँको सम्पर्कबाट अलग थलग भएका हुन् । तिनले उनलाई यो पनि सोधे, यो कुन जमाना हो ? तिनले हान बंशको कहीं कुनै चर्चै सुनेका थिएनन् । हानका उत्तराधिकारी वेई र छिन बंशको त झन् कुरै भएन । माझीले तिनले उठाएका हर एक प्रश्नको एक एक गर्दै जवाफ दिए । उनले भनि रहँदा कत्तिले हाई मात्रै काटेनन् धेरैले जिब्रो पनि टोके । त्यहाँ भएका बाँकी सबैले उनलाई पालैपालो गर्दै आ—आफ्नो घरमा आउन निम्तो दिए र भोज भतेर गरेर स्वागत गरे । कैयौं दिनको यस्तो बसाईं पछि मात्रै उनले त्यहाँ बाट विदा लिए ।

‘हाम्रो बारेमा बाहिरी दुनियाँलाई सुइँको न दिनु होला है’ तिनले अनुनय गरे । तर जब उनले आफ्नो नाउ समाते र आफ्नो पुरानो बाटो तताउदै थिए, त्यो ठाउँको बाटो नबिर्सियोस भनेर उनले ठाउँ ठाउँमा चिनो पनि लगाउदै फर्किए । आफ्नो गाउँमा पुग्ना साथै उनले गाउँ भरिका मानिसहरुलाई बोलाएर भए भरका कुरा बेली बिस्तार लगाए । उनको कुरा सुनेर गाउँलेले तत्कालै एउटा आधिकारिक टोली उक्त गाउँ पठायो माझीलाई साथ लगाएर । माझीले पहिला लगाएका चिनो पछ्याउने कोशिस त गरे तर जति जति अघि बढ्थे उति उति उनी यता कि उता भन्दै दोमन हुन पुग्थे । अन्ततः उनले बाटो पहिल्याउनै सकेनन् ।

प्रकाण्ड विद्वान तथा धर्मात्मा भिक्षु लिउ जिचिले पनि यो कथा सुने र त्यो ठाउँ पत्ता न लगाई न छाड्ने संकल्प गरेर उनी त्यसको खोजीमा निस्किए । तर उनको सारा प्रयत्न बेकार भयो । बिरामी भएर उनको चाढै परम धाम गए । त्यस यता ‘गढीका अन्वेषक’ देखा परेका छैनन् ।

—थाओ युआनमिङ रथाओ छियान ((३७६—४२७) । चीनका प्रकाण्ड विद्वान तथा कवि ।

टिप्पणीः लगभग १,६०० वर्ष अघिको चिनियाँ सपना । यस सपनामा वर्णित यो ‘गढी’ स्वचालित समाज हो । यसको निर्माण पुर्व निर्धारित रुप रेखामा या कुनै ‘पुरुषार्थी’र स्वप्नद्रष्टाको निर्देशनमा भएको होइन । अपितु दुःख सहन नसकेकाहरुले मिलेर बनाएको समाज हो । उनीहरु दुःखको संसार कहिल्यै फर्किन पनि चाहदैनन् । यसमा वर्ग, राज्य — प्राशासन, पार्टी, मुखिया र नेता जस्ता अधिरचना देखिदैन । उत्पादनको छेलोखेलो छ, स्वामित्व प्रणाली सार्वजनिक छ । समान जीवन स्तर छ । कृषि र गैर कृषिको, मानसिक र शारीरिक श्रमको भेद छैन । मेलापातबाट फर्केका मानिस र वाहिरका मानिसको पहिरन ’ठ्याक्कै उस्तै’ छ । सामाजिक तथा भौतिक पुँजीको प्रचुरता छ — भब्य महलहरु, चारै तिर जोड्ने सडक छन् , संचार सुगम छ । सौन्दर्य संरचनाको यथेष्ट विकास छ — वर देखि पर सम्म आरु फुलेको छ, यत्र तत्र ऐसेलु र वेलिका लहरा — जता हेर्यो उतै लोमहर्षक । पिढीगत भेदभाव छैन —बुढापाका र बालबालिका प्रशन्न र सन्तुष्ट छन् । यो आदर्श गढी पुग्न निकै धेरै यात्रा गर्नु पर्छ । ‘प्रकाण्ड विद्वान तथा भिक्षु’ले चाहदैमा पनि त्यहाँ पुग्न सकिदैन, सही बाटो ठम्याउन पनि सक्नु पर्दछ । बाटो ठम्याए पनि सुरुमा त गल्छेड़ोबाट ‘छिर्न निकै हम्मे’ पर्छ ’तर केही बेरको ठेलमठेल पछि’ (बल प्रयोग पछि) मात्रै छिर्न सकिन्छ । यो पछि मार्क्सले प्रक्षेपण गरेको साम्यवादी समाजसंग धेरै मिल्दोजुल्दो छ — यो काल्पनिक होईन वैज्ञानिक छ ।

थमस मुरको ‘युटोपिया’ ’सामन्ती युग’का सीमा भित्र रचना गरिएको छ । त्यसमा दासहरुको आरक्षण छ । त्यो विकासको दृष्टिकोणले निकै पछौटे छ । त्यो हस्तकलाकै चरणमा छ । त्यसमा वर्ग र निजि सम्पति पनि छन् । — अनुवादक ।

(अनु. टंक कार्की)

प्रतिकृया दिनुहोस