आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

मन्त्री फेरिएपिच्छे यसकारण तारो बन्छन् निगम प्रमुख

आठैप्रहर संवाददाता - |

चार वर्षका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक बनेर निगम प्रवेश गरेका गोपाल बहादुर खड्काले कार्यकालको तीन वर्ष नबित्दै पाँच मन्त्री झेले । र, यसबीचमा कार्यकारी निर्देशक खड्का र  आपूर्ति मन्त्रीहरुबीचको सम्बन्ध सधैँ तिक्ततापूर्ण अर्थात ३६ को रह्यो । एमाओवादीबाट बनेका मन्त्रीहरुसँग त खड्काको द्वन्द्व नै चल्यो । राप्रपाबाट मन्त्री बनेका सुनिलबहादुर थापाले ल्याएका खड्काले यसबीचमा राप्रपाका तीन र एमाओवादीका दुई मन्त्री झेले । खड्काको थापाबाहेक अन्य मन्त्रीहरुसँगको सम्बन्ध सुमधुर रहेन । 

सुनिल थापापछि मन्त्री बनेका एमाओवादीका गणेश पुनले पनि खड्कालाई मन्त्रालय हाजिर गराएर अरुलाई नै निगममा ल्याउन खोजेका थिए । त्यसबेला अहिले जस्तो जग्गा खरिदमा भ«ष्टचार गरेको आरोप थिएन, उनले नाकाबन्दीका बेला पेट्रोलियम आपुर्ति असहज बनाएको आरोप लगाएका थिए । नाकाबन्दीले सबै क्षेत्र आक्रन्त बनेकाले त्यसबेला उनको त्यो आरोपले काम गरेन । बाहिरी रुपमा पुनले त्यस्तो आरोप लगाए पनि भित्रभित्रै भने उनी आफ्नो पार्टी निकटका मान्छेलाई निगमको कार्यकारी निर्देशक बनाउन चाहन्थे । तर पुन सफल भएनन् । अन्त्यमा पुनले खड्कालाई ‘चाहेको भए म तपार्ईँलाई मन्त्रालय तान्न सक्थेँ , परिस्थिती अनुकुल भएन, अब मिलेर काम गरौं’ भनेर सम्झौता गरे । 

पुन पछि आएका आपुर्ति मन्त्री दिपक बोहोरा र खड्काको सम्बन्ध पनि सुमधुर रहेन । अहिले बिवादमा रहेको निगमको जग्गा खरिदको डिजाइनर बोहोरा नै रहेको चर्चा छ । सात प्रदेशमा पेट्रोलियम भण्डारणगृह बनाउनका लागि खरिद गरिएको जग्गामा अनियमितता गरेको आरोप अहिले खड्कालाई लगाइएको छ । 

बोहोरा पछि एमाओवादीबाट मन्त्री बनेका शिव मण्डल र खड्काको सम्बन्ध द्वन्द्व र पानी बाराबारको तहमा पुग्यो । मण्डल पनि खड्कालाई हटाएर निगममा अरुलाई नै ल्याउन चाहान्थे । मिडियामा जग्गा खरिदमा अनियमितता गरेको बताएर मण्डलले आफुलाई असहयोग गरेको भन्दै खड्कालाई मन्त्रिपरिषदको बैठकबाट बर्खास्त समेत गराएका थिए । तर, सर्वाेच्च अदालतले मन्त्रिपरिषदको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेपछि खड्का पुनः निगम फर्किएका थिए ।

मण्डल पछि आपूर्ति मन्त्री बनेका राप्रपाका जयन्त चन्द र खड्काको सम्बन्ध पनि सुमधुर देखिएन । पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन प्रतिबेदन बनाउन भन्दै मन्त्रालय हाजिर गराउन अघिल्ला मन्त्री मण्डलले निर्वाचन आयोगबाट ल्याएको सहमतिलाई टेकेर चन्दले अहिले खड्कालाई मन्त्रालय तानेका छन् । मन्त्रालय तान्नु अघिचन्दले खड्कालाई मन्त्रालय बोलाएर ‘प्रेसर थेग्न सकिएन तपार्इँलाई मन्त्रालय हाजिर गराउनै पर्नेभयो, अब तपार्इँ फेरी अदालत नै जानुस्’ भनेका थिए । खड्का मन्त्रालय तानिनुमा सचिव कृष्णप्रसाद देवकोटाको हात रहेको बताईन्छ । यस पटक पनि खड्का आफूलाई अन्याय भएको भन्दै अदालत जाँदैछन् ।

२०२७ साल पुष २६ गते स्थापना भएको आयल निगमको १४ स्थानमा शाखा कार्यलय तथा डिपो छन् भने ४७२ स्थायी र १२० अस्थायी कर्मचारी छन् । 

मन्त्री फेरिएैपिच्छे किन तारो बन्छन् त निगम प्रमुख ? बताईए अनुसार, निगम प्रमुख बन्न र बनाउन ठुलै रकमको चलखेल हुन्छ । मन्त्रीदेखी सचिबसम्म र पार्टीका नेतादेखी बिदेशी शक्ति केन्द्र समेत निगममा स्वार्थ सिद्धिका लागि आफू निकटका ब्यक्तिलाई ल्याउन चाहान्छन् । र, स्वार्थ प्रतिकूल हुनासाथ हटाउन अनेका बहाना खोजिन्छन् ।     

प्रतिकृया दिनुहोस