आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

यस्तो छ चीनको नयाँ अन्तर्राष्ट्रिय नीति

सी चिनपिङ्ग - |

शान्तिपूर्ण विकासको मार्गको अनुशरण गरी रहने र मानव जातिको निम्ति बाँडीचुडी भविष्य भएको समुदाय निर्माण गर्न क्रियाशील हुने ।

चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जनताको सुख समृद्धि र मानव प्रगति दुवैमा प्रयत्नशील छ्र ।

चीन शान्ति, विकास, सहयोग र पारस्परिक लाभको झण्डा माथि उठाई रहने छ तथा विश्व शान्तिको संरक्षण र साझा विकासको प्रवर्धन गर्ने आफ्नो विदेश नीतिको आधारभूत लक्ष कायम राखी राख्ने छ । चीन  पंचशीलका सिद्धान्तका आधारमा अन्य देशहरुसंग मित्रता र सहयोगलाई सुदृढ बनाउन प्रतिवद्ध छ र पारस्परिक सम्मान, निष्पक्षता, न्याय र पारस्परिक लाभ हुने सहयोगमा आधारित नयाँ किसिमको अन्तराष्ट्रिय सम्वन्ध विकास गर्न कृत संकल्पित छ ।

दुनियाँमा महत्वपुर्ण विकास, रुपान्तरण र समायोजन भई रहेको छ, त्यति हुँदा हुँदै पनि शान्ति र विकास नै हाम्रो जमानाको मूल आकर्षण हो । विश्वमा वहुध्रुवियता, आर्थिक विश्वकीकरण, सुचना प्रविधिको प्रयोग, र सांस्कृतिक विविधता जस्ता प्रवृत्ति देखा परिरहेका छन् । विश्व प्रशासन प्रणाली र विश्व व्यवस्थामा परिवर्तनको गति तीव्र बनेकोछ । मुलुकहरु परस्परमा झन् झन् एक अर्कामा जोडिएका र अन्तरसम्वन्धित बनेका छन् । संवन्धित अन्तराष्ट्रिय शक्तिहरु बढ्ता सन्तुलित बनेका छन् । शान्ति र विकास अपरिवर्तनीय प्रवृत्ति बनेको छ ।

यति हुँदा हुँदै पनि, विश्वको रुपमा हामीले  झन् झन् अनिश्चितता र अस्थिरताका कारकहरु बेहोर्नु परेको छ । विश्व आर्थिक वृद्धिको निम्ति अपेक्षित उर्जाको अभाव छ । धनी र गरिव मुलुकबीचको खाडल गहिरिदो छ । खास खास क्षेत्रमा घरिघरि द्वन्दरत घटना देखा परेका छन् । आतंकवाद, साइबर सुरक्षा, संक्रामक रोग र वातावरण परिवर्तन जस्ता अपरम्परागत सुरक्षा चुनौती थपिदै गएका  छन् । मानव प्राणीको रुपमा हामीले झेल्नु पर्ने थुप्रै साझा चुनौतीहरु छन् ।

हामी बाँचेको दुनियाँमा आशा र चुनौती पनि उत्तिकै भरमार  छन् । हाम्रो वरिपरिको परिवेस जटिल भएकै भरमा हामीले आफ्ना सपनामा आश मारी हाल्न पर्ने स्थिति भने छैन । हाम्रो पहुँच भन्दा बाहिरको भनेर हामीले आफ्ना आदर्श अनुशरण गर्नबाट हच्किनु हुँदैन । मानव जातिले भोग्नु परेका थुप्रै चुनौतीको सामना गर्ने  कुरा कुनै एउटा मुलुकको मात्रै बलबुताको कुरा होईन । आजको दुनियाँमा कुनै पनि मुलुक स्व—अलगावमा फर्किन सक्दैन ।

हामी सवै देशका जनतालाई मिलेर समस्त मानव जातिको निम्ति बाँडीचुडी भविष्य भएको समुदाय निर्माण गर्न, खुला, समावेसी र रमणीय भूमण्डल निर्माण गर्न आह्वान गर्दछौं । तव नै चिरस्थायी शान्ति, सर्वत्र सुरक्षा र साझा समुन्नतिको लाभ उठाउन सकिने छ । हामीले पारस्परिक सम्मानको मर्यादा राख्नु पर्दछ, समान हैशियतमा मुद्धा बारे छलफल चलाउनु पर्दछ, शित युद्धकालिन मुल्य र शक्ति राजनीतिलाई दृढतापूर्वक अस्विकार गर्नु पर्दछ, र हामीले राज्य राज्यबीचको सम्वन्धमा मुठभेडको होईन संचारको, गठबन्धनको होईन साझेदारीको नयाँ दृष्टिकोण अपनाउनु पर्दछ । विवादलाई आपसी विमर्शबाट टुंग्याउन र विमतिलाई आपसी छलफलबाट सुल्झाउन, परम्परागत तथा अपरम्परागत खतराको मिलिजुली मुकावला गर्न र सवै किसिमको आतंकवादको विरोध गर्न हामीले प्रतिवद्धता जनाउनु पर्दछ ।

हामी सुदिन दुर्दिन दुवै अवस्थामा एक ढिक्को  हुनु पर्दछ, व्यपार, लगानी उदारीकरण र सहजीकरणलाई प्रोत्साहित गर्नु पर्दछ र आर्थिक विश्वकिकरणलाई अझ खुला, समावेशी र सन्तुलित बनाउनु पर्दछ जसले गर्दा त्यसका लाभ सवैलाई बाँडचुड गर्न सकियोस । हामीले सभ्यताको विविधतालाई सम्मान गर्नु पर्दछ, सभ्यताबीचको सम्वन्धलाई संहाल्दा मनमुटाव होईन आदान—प्रदान, मुठभेड होईन पारस्परिक सिको, र श्रेष्ठता होईन सहअस्तित्वलाई मौका दिउँ । हामीले  पर्यावरणसित मेलजोल गर्न जान्नु पर्दछ, वातावरण परिवर्तनका मामिलामा हातेमालो गर्नु पर्दछ र मानव जातिको अस्तित्वको निम्ति हाम्रो पृथ्वीलाई जोगाउनु पर्दछ ।

चीन शान्तिको निम्ति आफ्नो  स्वतन्त्र विदेश नीति अवलम्वन गर्न दृढ निश्चयी छ । हामी आफ्नो विकासको बाटो आफै रोज्न पाउने सबै मुलुकका जनताको अधिकारको सम्मान गर्दछौं । हामी अन्तराष्ट्रिय निष्पक्षता र न्याय कायम राख्न कोशिस गर्दछौं र अरुमाथि आफ्ना मनोकांक्षा थोपर्ने क्रियाकलापका साथै बलियाले निर्बल माथि दादागिरी देखाउने कुराको विपक्षमा छौं ।

चीन कदापि अरुको स्वार्थमा घाटा पुग्ने गरी आफ्नो विकास गर्न चाहदैन । तर चीन आफ्नो न्यायसंगत अधिकार र स्वार्थ माथि थिचोमिचो भएको पनि टुलुटुलु हेरेर बस्दैन । कसैले के नसोचे हुन्छ भने चीन आफ्नो स्वार्थ अवमुल्यन गर्दा चुपचाप लागेर बस्दछ । चीनले अवलम्वन गर्ने राष्ट्रिय प्रतिरक्षा नीति भनेको चरित्रगत रुपमा प्रतिरक्षात्मक हो । चीन विकासको जस्तोसुकै चरणमा पुगे पनि कदापि प्रभुत्वको निम्ति लालायित हुने या विस्तारको निम्ति हरकत गर्ने छैन ।

चीनले सक्रियतापूर्वक अन्तराष्ट्रिय साझेदारीको विकास गरेको छ र अन्य देशहरुसंग पारस्परिक हितहरुको मिलान गर्ने कामको विस्तार गरेको छ । चीन अन्य प्रमुख देशहरुसँगको संयोजन र सहयोगलाई प्रवर्धन गर्ने छ र समग्र विकास र सन्तुलित विकास झल्किने गरी प्रमुख राष्ट्र बीचको सम्वन्धको रुपरेखा निर्माण गर्न क्रियाशील हुनेछ । चीन आफ्ना  छिमेकीहरुसँग बन्धुत्व, इमान्दारिता, पारस्परिक लाभ र समावेशिताका सिद्धान्त तथा छिमेकिहरुसँगको मित्रता र साझेदारी विकास गर्ने नीति अनुरुप सम्वन्धलाई गहन बनाउन लागी पर्ने  छ । चीन  अन्य विकासशील देशहरुसंग आपसी हितहरुको बाँडीचुडी गर्ने र निष्कपटता, इमान्दारिता, बन्धुत्व र निश्छल विश्वासका सिद्धान्तको अनुशरण गर्दा गर्दै न्यायको पक्षमा उभिने सिद्धान्तबाट निर्देशित भएर ऐक्यवद्धता र सहयोगलाई सम्वर्धन गर्न क्रियाशील हुने छ । हामी अन्य मुलुकका राजनीतिक पार्टी र संगठनसंगको  आदान—प्रदान र सहयोगलाई सुदृढ गर्ने छौं । पिपुल्स कांग्रेस, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन ( राष्ट्रिय सभा (अनु.)का समितिहरु, सेना, स्थानीय सरकार र जन संगठनहरुलाई अन्य देशहरुसँग आदान—प्रदानमा लागी पर्न प्रोत्साहित गर्ने छौं ।

चीन खुलापनको आफ्नो आधारभूत राष्ट्रिय नीतिको अनुपालन गर्ने छ र आफ्ना पुरै ढोका खुला राखेर विकास अनुशरण गर्ने छ । चीन बेल्ट एण्ड रोड इनिसिएटिभको माध्यमबाट सक्रियतापूर्वक अन्तराष्ट्रिय सहयोगलाई प्रवर्धन गर्ने छ । त्यसो गरिरहँदा नीति, पूर्वाधार, व्यापार, वित्त तथा जनता—जनताबीचको सम्पर्क सम्वन्धका उपलब्धि हाशिल हुने हामीले अपेक्षा गरेका छौं । यसले बाँडीचुडी विकासको निम्ति नयाँ संचालक सृजना गरेर अन्तराष्ट्रिय सहयोगको निम्ति नविन आधारभूमि निर्माण गरी दिने छ ।
चीनले विकासशील मुलुकहरु, विशेष गरि अति—अल्प विकसित मुलुकहरुलाई सहायता वृद्धि गर्ने छ र आफ्नो तर्फबाट उत्तर—दक्षिणबीचको भेद कम गर्न सक्दो प्रयास गर्नेछ ।

चीन अन्तराष्ट्रिय व्यापार व्यवस्थाको समर्थन गर्दछ र स्वतन्त्र व्यापार क्षेत्रको स्थापना र खुला विश्व अर्थतन्त्र निर्माणको निम्ति सहजीकरण गर्न क्रियाशील हुनेछ ।
चीन आपसी विचार विमर्शबाट बाँडीचुडी आर्थिक वृद्धि हाशिल गर्ने र विश्व प्रशासनमा संलग्न भई रहँदा सहकार्य गर्ने सिद्धान्तको अनुसरण गर्दछ । चीन अन्तर्राष्ट्रिय सम्वन्धमा लोकतन्त्र र सबै मुलुकको समानताको पक्षमा छ, चाहे ती ठुला हुन् या साना, बलिया हुन् या निर्बल, धनि हुन् या गरीव । चीन संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय मामिलामा सक्रिय भूमिका खेली रहेकोमा समर्थन गर्दछ तथा अन्य विकासशील मुलुकहरुको प्रतिनिधित्व बढाउने प्रयत्न र अन्तर्राष्ट्रिय मामिलामा तिनको आवाजलाई सशक्त बनाउने कुराको  समर्थन गर्दछ । चीन एक प्रमुख र जिम्मेवार मुलुकको रुपमा आफ्नो भूमिका निर्वाह गरी रहने छ र अन्तर्राष्ट्रिय प्रशासनको लागि आफ्नो बुद्धिमत्ता र क्षमताको उत्तरदान  गरी रहने छ । 

विश्वको भविष्य सबै मुलुकका जनताको हातमा निहित छ, मानव जातिको भविष्य उनीहरुको रोजाईमा निर्भर छ । हामी चिनियाँहरु मानवजातिको निम्ति बाँडीचुडी भविष्य भएको समुदायको निर्माण गर्न र हामी सबैको निम्ति उज्ज्वल भविष्य बनाउने  कामको निम्ति कृत संकल्पित छौं ।
 

(अनु. टंक कार्की )

( चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेसनमा महासचिव तथा राष्ट्रपति सी चिनपिङ्गले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको एक अंश, शिर्षक अनुवादकको )

प्रतिकृया दिनुहोस