आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

पतिपत्नीले नै समानुपातिक खोजेको भन्दै संघीय फोरममा अशोक राईको चर्काे विरोध

आठैप्रहर संवाददाता - |

काठमाडौं । संघीय समाजवादी फोरममा अशोक राई सहित पहाडी जनजाति नेताहरुको विषयमा विवाद चुलिएको छ । स्रोत अनुसार चुनाव हार्ने गरी आफूलाई अध्यक्ष उपेन्द्र यादवले धरानबाट उम्मेदवार बनाउन खोजेको भन्दै राई झस्किएका हुन् । 

राईलाई सुनसरी क्षेत्र नम्बर १ धरानबाट संघीय संसदका लागि प्रत्यक्षमा उम्मेदवार बनाउन यादव कस्सिएर लागेका छन् । तर, राई चाहिँ आफूले धरानमा जित्न असम्भव भन्दै समानुपातिकमा बस्न चाहिरहेका छन् । धरानमा कांग्रेसको समर्थनमा राईलाई उठाउने तारतम्य उपेन्द्रले  मिलाएका छन् । राईलाई क्षेत्र छाडिदिन कांग्रेस उम्मेदवार मीन विश्वकर्र्मा समानुपातिकमा उठ्न तयार भइसकेका छन् । आफूलाई कांग्रेसले समानुपातिकमा राखिदिन्छ भने राईलाई जिताउन सकिने दावी वाणिज्य मन्त्री समेत रहेका विश्वकर्माको छ ।

अशोक राई तथा पदाधिकारी पदमा रहेका पहाडी मूलका नेताहरुलाई समानुपातिकमा राखियो भने विद्रोह गर्ने चेतावनी उपेन्द्र यादवलाई कार्यकर्ताहरुले दिएका छन् । अशोक राई समूहको दावी अनुसार उपेन्द्रले नै उचालेर कार्यकर्ताबाट यस्तो दवाब सिर्जना गरिएको हो । 

संघीय फोरमका नेता राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ रणध्वज कन्दङवा लगायतले पनि समानुपातिक नै ताकेपछि संघीय फोरमभित्र विवाद चुलिएको छ । 

उपेन्द्र यादव निकट एक नेताले आठै प्रहरलाई बताए,  ‘अशोक राईजीको पतिपत्नीलाई नै समानुपातिकमा राख्न सकिँदैन भनेका हौं, उहाँ समानुपातिकमा बस्ने हो भने पत्नी सुशीलाको नाम समानुपातिकबाट हटाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।’

संघीय फोरमले स्थानीय चुनावमा पहाडी क्षेत्रमा निकै कमजोर प्रदर्शन गरेको छ । यही कारण अशोक राईको समूहलाई समानुपातिकमा ठाउँ नदिन पार्टीभित्र आवाज उठेको बताइएको छ ।

अशोक राई धरानबाट उठेनन् भने पार्टीभित्र अशोकको विरोधी खेमामा लागेका ध्यानबहादुर राईलाई प्रदेशबाट उठाइने भएको छ । ध्यानबहादुरका लागि कांग्रेसले ठाउँ छाडिदिने बताइएको छ । केन्द्रीय स्तरमा चुनावी तालमेल हुन नसकेमा धरानमा कांग्रेसबाट वाणिज्यमन्त्री मीन विश्वकर्मा उम्मेदवार बन्नेछन् । मीनको विरुद्धमा संघीय फोरमले कुनै उम्मेदवार नउठाएर सघाउने उपेन्द्र यादवले आश्वाशन दिएको बुझिएको छ । मीनलाई संघीय फोरमले विशेष उम्मेदवार भन्दै सहयोग गर्न लागेको हो । 

प्रतिकृया दिनुहोस