आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

सि चीनमा शक्तिशाली बन्दा नेपालले यसरी फाइदा पाउन सक्छ

अन्तराष्ट्रिय डेस्क - |

अनुमान अनुसार नै चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति सि जिनपिङलाई चीनको नेतृत्व सुम्पिने निर्णय गर्यो । महाधिवेशनले सिको विचारलाई मार्गदर्शक मानेर उनलाई आधुनिक चीनका संस्थापक नेता माओ अनि खुलापन र आधुनिकरणका नेता देङ सियाओ पिङ बराबरकै हैसियत दियो । उनको विचारमा चीनलाई अझ समुन्नत बनाउने तथा विश्व मंचमा शक्तिशाली ढंगले अघि बढाइने उल्लेख छ । 

महाधिवेशनले आज बिहानै ७ सदस्यीय स्थायी समिति पनि चयन गरेको छ । जसमा सी र प्रधानमन्त्री लि कछ्याङ दोहोरिए भने बाँकि पाँच जना नयाँ आए । यसमा पछिल्ला केही दशकदेखि चलेको चलन के तोडिएको देखियो भने नयाँ आएका सबै नेता ६० वर्ष नाघेका छन् । परम्परा अनुसार यो महाधिवेशनले स्थायी समितिमा मध्ये ५० उमेरका कोही नेतालाई ल्याउने पर्दथ्यो, जो आगामी पाँच वर्षपछि चीनको नेतृत्वमा पुग्थ्यो । यसले, २०२२ पछि पनि सि नै चीनको नेतृत्वमा रहने चर्चालाई बल दिएको छ ।    

यसरी शक्तिशाली बनेका सि आउनुअघिसम्म विश्व मामिलामा निष्कृय जस्तो देखिने चीन अहिले क्रमशः सक्रिय बनेको देखिदैछ । भनेरै सक्रिय बन्नलागेको चीनको उपस्थितिले शीतयुद्धपछि झण्डै एक ध्रुवीय बनेको विश्वको अनुहार कस्तो बन्ला ? अहिलेदेखि विश्लेषण गर्न सुरु भएको छ । चीनको उदयले विश्वलाई द्वन्द्वमा लैजाला कि शक्ति सन्तुलन भएर शान्ति आउला भन्ने जस्ता प्रश्नका उत्तर खोज्न आगामी दिनमा विश्लेषकहरुले बढि नै जोड लगाउनेछन् । शक्तिशाली र विश्व राजनीतिमा सक्रिय चीनका कारण नेपाल चाहिँ कसरी प्रभावित होला ? एक छिन चर्चा गरौं । 

नेपालमा प्रभाव 

लामो समय भारतको एकलौटी प्रभावमा रहेको नेपालमा पछिल्ला केही वर्षदेखि चीनले पनि प्रभाव बढाउँदै लगेको देखिन्छ । अझ, सि चीनको नेतृत्वमा आएपछि यो अरु प्रष्टरुपमा देखिएको छ । बाहिरी संसारसँग भारतको बाटोबाट मात्र जोडिएको नेपालले तत्कालिन प्रधानमन्त्री केपी ओलीले चीनसँग पारवहनलगायत सम्झौता गरेपछि अर्काे विकल्प पाएको छ । सिले विश्वसँग रोड, रेल र समुन्द्री मार्गबाट जोड्ने बेल्ट एण्ड रोेड इनिसियटिभ कार्यक्रम ल्याएपछि नेपालको यो बिकल्प अरु फराकिलो बनेको छ । सि चीनमा अरु शक्तिशाली बन्नु भनेको यो कार्यक्रम अरु आक्रमक ढंगले अघि बढ्नु हो । 

नेपाल चीनको बेल्ट एण्ड रोड इनिसियटिभ कार्यक्रमको अंग बनिसकेको सन्दर्भमा सि चीनको नेतृत्वमा दोहोरिनु र शक्तिशाली बन्दा नेपालले यसबाट लाभ पाउने निश्चित छ । भन्नुको अर्थ, नेपाल लाग्ने हो भने चीनबाट नेपाल जोड्ने रेलमार्ग छिटै बन्नेछ । चीन र नेपालबीचका अरु बाटोहरु निर्माण हुनेछन् । चीनसँग रेल र सडक मार्गबाट जोडिन पाउँदा बाँकि संसारसँग पनि नेपालको पहुँच बलियो बन्नेछ । 

यसरी हेर्दा, सि शक्तिशाली चीनको शक्तिशाली नेता बन्दा नेपालले फाइदा पाउने देखिन्छ । हो, चीनसँग सम्पर्क बढाएर नेपालले फाइदा लिँदा नेपाललाई अहिलेसम्म नियन्त्रण राख्दै आएको दक्षिण छिमेकीमा वेचैनी बढ्न सक्छ र आक्रोशित हुनसक्छ । यसको संकेत देखिएका पनि छन् । नेपाललाई आफ्नो नियन्त्रणबाट बाहिर जान नदिन दक्षिण छिमकी अरु आक्रमक ढंगले प्रस्तुत हुनसक्छ । जसले, नेपालमा दुई छिमकीहरुको टक्कर पार्ने सम्भावना पनि आउन सक्छ ।    

प्रतिकृया दिनुहोस