आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

गोरखा दुईः बाबुरामको विकास र नारायणकाजीको गठवन्धन शक्तिको टक्कर

यादव देवकोटा - |

मंसिर १० गते हुने संसदीय चुनावका लागि अन्तत गोरखामा दुई हाइ प्रोफाइलहरुको भीडन्त निश्चित भएको छ । पूर्व प्रधानमन्त्री वाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नरायणकाजी श्रेष्ठ उस्तै राजनीतिक प्रवृति र चरित्रसहित भिन्न पार्टी र गठवन्धनबाट प्रतिस्पर्धामा उत्रन लागेपछि त्यसले देशका अन्य क्षेत्रका चुनावी तापक्रमलाई फिका बनाईदिएको छ । 

केही बर्ष अघिसम्म एकिकृत माओवादीमा पहिलो वरियताको उपाध्यक्ष रहेका भट्टराई र दोस्रो वरियताका उपाध्यक्ष श्रेष्ठ अहिले नदीको भिन्न किनारामा विभाजित भएका छन् । यो विभाजन राजनीतिक आदर्श, विचारभन्दा बढी स्वार्थहरुको टकराव हो भन्ने यताका दिनका व्यावहारहरुले पुष्टि गरेका छन् । एक समय प्रधानमन्त्री भट्टराईको क्याबिनेट मन्त्री रहेका श्रेष्ठ अहिले तिनै भट्टराईसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसको प्रष्ट कारण छ, दुवैको गृह जिल्ला गोरखा हुनु र गोरखाको पनि २ नम्बर क्षेत्रका स्थानीय हुनु । 

पृष्ठभूमि

राजनीतिक जीवनको सुरुवात बावुराम र नारायणकाजी दुवैले कांग्रेसको निकटताबाट गरेको देखिन्छ । भट्टराई निम्न वर्गीय परिवार र श्रेष्ठ मध्यम वर्गीय परिवारमा हुर्किए । एसएलसी वोर्ड फष्ट, क्याम्पस टपर हुदै भट्टराईले जुन समय इन्जिनियरिङ्ग र पिएचडी गरे, अक्षरसँगको सामिप्यताबाट दूर रहेको समाजमा त्यो एउटा अलौकिक आकर्षणको विषय बन्यो । त्यही पढाईको तेजले बाबुराम अन्य विषयमा यावत आलोचनामा परिरहँदा पनि वौद्धिक हुन् अरुभन्दा भन्ने सदाशयताको लाभ उठाइरहेका छन् । 
पढाईमा नारायणकाजी पनि जुम्सा विद्यार्थी हैनन् । बोर्ड नटपे पनि कक्षाका टपर नै भएको बुझिन्छ । जनप्रशासनमा स्नातकोत्तर पढे । पढाए । 

पढाइपछिको जीवनमा भट्टराईले पत्रिकामा लेख लेखे । रत्नपार्कमा पत्रिका बेच्ने हकर बने । सजमोको अध्यक्ष भए । मोहन विक्रम, हरिवोल गजुरेलको मातहातमा रहँदै अन्तत एकता केन्द्रको नेतृत्वमा आए । 

२०५१ मा जनयुद्ध शुरु गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतभेदमा श्रेष्ठले जनयुद्ध शुरु गर्ने लाइनको विरोध गरे । भट्टराई जनयुद्धको लाइनमा लागे । देश लडाईमा होमियो । प्रचण्ड, किरण, बाबुरामहरुको टाउकाको मोल तोकियो । ठिक यहीँनेर, श्रेष्ठले भने जनयुद्धलाई सामाजिक फॉसीवाद भनेर दुत्कारेर बसे । एकताकेन्द्रलाई मोहनविक्रमको मसालमा गाभेर एकताकेन्द्र–मसालको सह–महामन्त्री बने । उनी सह–महामन्त्री रहेको ए–मसालले माओवादी विरुद्ध प्यूठान, वागलुङ्गमा भण्डाफोर अभियानै चलायो । उनी मातहातका ए–मसालका नेता डिलाराम आचार्य, परि थापा, लिला थापाहरुले जनयुद्धमा बगेको रगतलाई ‘रजश्वला भएकी महिलाको रगत’ भन्दा श्रेष्ठले मौन समर्थन गरे । कतिपय बेला राजनीतिमा आफुले सिधै बोल्न नमिल्ने विषय आफ्न कार्यकर्ता मार्फत प्रकट गराउने चलाखीको बाटो श्रेष्ठले लिएको माओवादी कार्यकर्ताहरुको बुझाइ देखिन्छ । 
‘जनयुद्धमा दश हजार बढी नागरिकको बलिदान हुँदा, गोरखामा सयौं नागरिक सहिद, घाइते हुँदा, लडाईमा जीवन या मृत्यु भनेर लाग्दा नारायणकाजी श्रेष्ठ हामीलाई सामाजिक फासीवादी भनेर बस्नुभएको थियो’ वैद्य माओवादी निकट देजमोबाट गोरखा २ मै उमेद्वारी दिएका नारायण अधिकारीले भनेका छन् । नारायण तिनै हुन्, जो गोर्खाका अनेकौं भीडन्तहरुमा बल्बल्ल बाँचे, इमान बेचेनन् र अझै माओवादी आन्दोलनको पूर्नजागरण अभियानमा छन् । संयोग, श्रेष्ठलाई पार्टी सदस्यता तिनै नारायणका पिता श्रीनाथ अधिकरीले दिएका थिए । 

शान्तिप्रक्रियामा माओवादी आएपछि श्रेष्ठ नेतृत्वको एकताकेन्द्र र नेकपा (माओवादी) वीच एकीकरण भएर एमाओवादी बन्यो । श्रेष्ठ प्रचण्ड, किरण, बावुराम पछिको बरियताको नेता बने । पटकपटक मन्त्री बने । स्थानीय विकास, गृह, परराष्ट्र, उपप्रधानमन्त्री । एकताले उनलाई फाइदै भयो । जनमोर्चा नेपालका तत्कालीन अध्यक्ष अमिक शेरचनले एउटा अन्तर्वार्तामा भनेका छन् पनि, श्रेष्ठलाई एकता गरेर ठूलो पार्टीको महामन्त्री बन्न परेको रहेछ, ठूलो पद चाहिएको रहेछ । शेरचन श्रेष्ठ नेतृत्वको तत्कालीन एकताकेन्द्रका नेता हुन् । 

एकताको बेलाको एउटा रोचक र संवेदनशील प्रसंग पनि छ । एकताका लागि एकताकेन्द्रको बैठक चलिरहेका बेला केन्द्रीय सदस्य भरत दाहाल र साध्य वहादुर भण्डारीले श्रेष्ठमाथि भारतीय एजेन्सीबाट पैसा लिने गरेको, बीरगंजस्थित वाणिज्य दूतावासमा आउजाउ रहेको आरोप लगाउँदै त्यसको प्रष्टिकरण चाहिने माग गरे । जवाफ दिनुको साटो श्रेष्ठले वैठक स्थगित गरे । सॉझ आफैं विज्ञप्ति निकाले–दाहाल र भण्डारीलाई पार्टीबाट कारवाही गरिएको । अनि वैठक सुचारु गरे । तर दाहाल र भण्डारीले उठाएको सवालको कुनै जवाफ दिएनन् । यता, भारतीय निकटस्थको आरोप बावुराममाथि झन् बढी छ, सार्वजनिक र नागरिकको स्तरसम्म । सत्य के हो श्रेष्ठ र भट्टराई नै जानुन् । 

गोर्खामा प्रभाव

२०६४ सालको पहिलो संविधानसभाको चुनाबका बेला पालुङ्गटारमा आयोजित चुनाबी सभामा बाबुरामले पारीतिरको भिराला पाखाहरु देखाएर भाषण गरे, यी सबै बस्तीहरुमा अब बाटो पुग्छ, हिँड्ने बाटो पनि बनेपछि यहाँका मानिस बाटो हिड्दा खसेर मर्न बन्द हुन्छ । बॉदरै लड्ने जस्तो पाखोमा बाटो लान्छु भन्दै पढेलेखेका बाबुरामले किन सोझा गाउ‘लेसँग त्यसरी झूठ बोलेका होलान् ? मेरो मनमा लागिरह्यो । ०६७ सालतिर ऑपपिपल सिमपानीमा आफन्तको विहेमा जॉदा म वॉदर लड्ने भनेर डराएको पाखोबाट गाडी चढेरै सिमपानी पुगें, जुन पाखोलाई देखाएर बाबुरामले भनेका थिए अव ती पाखाहरुमा साँच्ची नै गाडी गुड्छन् । 

म दरौंदी पारी तत्कालीन ३ नम्वर क्षेत्रको बासिन्दा हुँ । गोरखा घ्याम्पेसाल सडक खनिएको मैले थाहा पाए देखि नै हो, अझैं उस्तै छ । तर बाबुरामले जितेको २ नम्बरमा ०६४ पछि खनेर कति पिच भैसक्यो, कति कमसेकम ग्राभेल भएका छन् । जित्न त ०६४ पछि सबै क्षेत्रमा माओवादीले नै जित्यो गोरखामा । तर २ नम्बर निर्वाचन क्षेत्र र ३ नम्बर हेर्दा कहाली लाग्छ । हामीले लड्दै मरिने हो कि भन्ने बाटोको विकल्पको कल्पना पनि गर्न सकेका थिएनौं । भन्न त माओवादी योजनामा भएको हो विकास, बावुरामले गरेका हैनन् पनि भनिएको छ, हो भने माओवादीले नै जितेको र सबैभन्दा दुर्गम ३ मा माओवादीले बनाएको विकासको योजना खै त ? किन नगरेको ३ नम्बरमा त्यत्रो विकासको योजना बनाउने माओवादीले ? जवाफ छैन, किनभने कुरै नक्कली छ । 

गोरखाको विकासको सवालमा बाबुरामसँग दाँजिन, उभिन सक्ने अर्को कुनै पात्र नै छैन । उनकै पालामा बूढीगण्डकी जलविद्युत परियोजनाको काम शुरु भयो । राजनीति भएन भने केही बर्षमै त्यसको लाभ गोर्खा सहित सिँगै देशले पाउने छ । 

नारायणकाजीको सवलमा चाँहि उनी पनि गोर्खाली रहेछन् भनेर थाहा पाएको केही पत्रिका पढेर मात्र हो । सबैभन्दा बढी चाँहि अहिले उनी गोरखाबाट चुनाबमा उमेद्वार बनेपछि हो । किन भने उनको पुरै परिवार गोरखाको जौबारीबाट काठमाडौं सरिसकेको छ । यतै ठेकेदारी, व्यापार गरेर घर बनाएर बसेको छ । अलि पहिले गोरखा घर भएका बिरेन्द्रबाबु श्रेष्ठलाई बरियता मिचेर डिआइजी बनाउँदा, एअरपोर्टमा पोष्टिङ्ग गर्दा, एआइजी बनाउँदा श्रेष्ठले लविङ्ग गरेको भन्ने जानेपछि र सोधखोज गर्दा उनको घर पनि गोरखा हो भनेर धेरैले थाहा पाएका हुन् । त्यसबाहेक, उनी पटकपटक मन्त्री बने । उपप्रधानमन्त्री पनि बने । तर गोरखामा उनले गरेको काम के हो सायद उनैलाई पनि सूची बनाउन पर्यो भने मुश्किल पर्ला । केही विद्यालय उद्घाटन गरे होलान्, केही स्वास्थ्य शिविर लगे होलान् जौवारी तिर, ठेकेदार, व्यापारी भाईहरुमार्फत । भाईभतिजाहरुलाई संरक्षण गरे होलान्, ठेक्कापट्टा मिलाइ दिए पनि होलान् । आखिर ती पनि गोर्खाली नै हुन् । त्यो कामलाई पनि सूचीकृत गरे हुन्छ । नत्र श्रेष्ठले गोरखाका लागि गरेको कामको सूची कमजोर हुनेछ । 

मतदाताको अवस्था

भट्टराईको नयाँ शक्तिले कांग्रेससँग र श्रेष्ठको माओवादी केन्द्रले एमालेसँग गठबन्धन बनाएपछि गोरखा २ चरम प्रतिस्पर्धामा देखिन्छ बाहिरबाट हेर्दा । तर छापामा खाली स्थानीय चुनाबको अंकगणित मात्रै आएको छ । गोरखा २ को सवालमा स्थानीय चुनावको अंक गणित मात्रैले काम गर्दैन । हिजो कसले कति काम गर्यो भन्ने अंकगणित मतदाताको मनमा सबैभन्दा बढी आउँछ । त्यसकारण, पालुङ्गटार, ऑपपिपल, हर्मी, खोप्लाङ्ग, छोप्राक, नयाँ साँघु, खहरेतिरको लगभग ७५ देखि ८० प्रतिशत भोट बाबुरामलाई जाने अनुमान गर्नु गल्ती हुनेछैन । जौबारी, भच्चेकतिरको भोट भने श्रेष्ठले बढी नै पाउनेछन् । अहिलेलाई त्यता अधिकतम ६० प्रतिशत श्रेष्ठले पाउने अनुमान गर्न सकिन्छ । सुलिकोट गाउँपालिका श्रेष्ठका लागि निर्णायक हुनेछ । 

स्थानीय चुनावमा गाउँपालिका केन्द्र पाउने आशमा माकेलाई भोट दिएको कांग्रेस गढ मानिने सौरपानीका माके कार्यकर्ताले समेत स्थानीय केन्द्र ताकुमा रहने भएपछि सामुहिक राजीनामा दिएर बसेका छन् । सुलिकोट गाउ‘पालिका प्रमुखमा माओवादीबाट शहीद परिवारका विष्णु भट्ट उठेको र स्थानीय भएकाले मत दिएको ताकु माझ लाकुरीबोट जहाँ बागीले हजार कटाउँदा पनि वडामा कांग्रेसले जितेको थियो बाट लगभग ८० प्रतिशत बाबुरामलाई भोट जाने देखिन्छ भने सुलिकोट गोरखामा शहीद गाउँका नामले चिनिन्छ । जनयुद्धका पहिलो शहीद दिल बहादुर रम्तेलदेखि आशाकाजी श्रेष्ठ, कौशिला तमु, कमला–विमला भट्ट, तुल बहदुर विक, दीपक गुरुङ्ग, गुणनिधि देवकोटा, प्रेम ढकाल, नन्दलाल ढकाल,रीता ढकाल, कुमारी आले, अस्मिता, राजेन्द्र पनेरुहरुको जनयुद्धका क्रममा रगत बगेको वस्तीमा जनयुद्धलाई सामाजिक फाँसीवादी भन्ने श्रेष्ठलाई नैतिकरुपमै मत माग्न अप्ठ्यारो पर्नसक्छ । 

भलै न आज बाबुराम जनयुद्धको सपना, योजना, कार्यादेशमा छन् । उनले त कम्युनिष्ट पार्टी नै छाडिसके ।  श्रेष्ठले पनि जनयुद्धलाई अस्वीकार गरे, फासीवादी भने । उनको पार्टी माओवादी केन्द्र पनि जनयुद्धको नाममा फाइदा लिन मात्रै उद्यत देखिन्छ । पार्टीको नाम माओवादी राखेपनि आज माके र एमाले या कांग्रेसमा कुनै खाले भिन्नता छैन भन्ने आम बुझाई छ । 

बरु माओवादी आन्दोलनकै मत पाउने नैतिक अधिकार वैद्य माओवादीका नारायण अधिकारीले राख्छन् । किनभने उनले कमसेकम गद्धारीको, जनयुद्धको अपमानको, मजाकको बाटो रोजेका छैनन्  । तर बलेको आगो ताप्ने नाफाखोर समाजमा इमान र निष्ठामा लागे वापत कति मूल्य चुकाउनुपर्छ भन्ने कुरा हामीले श्रीनाथ अधिकारी, भक्ति लामिछाने जस्ता गोर्खाली माओवादी नेताहरु देखेरै जानिसकेका छौं । 

तालमेलको फाइदामा पनि बाबुराम बढ्तै देखिन्छन् । कांग्रेसी कार्यकर्ताहरु माकेलाई अहिले पनि गोर्खामा हराउन नसके फेरि कहिल्यै सकिदैन, त्यसैले माके हराउन बाबुराम जिताउनै पर्छ भन्ने जिल्ला पार्टी नेतृत्वको बुझाइलाई स्थानीय तहसम्म पुर्याइरहेका देखिन्छन् । उनीहरुको बुझाइमा अहिले माओवादी केन्द्रलाई हराइयो भने आफ्नै भोटमा जितेका बाबुराम भोली कुनै जोखिम बन्दैनन्, तर अहिले जति कमजोर बनेको बेला पनि माओवादी केन्द्रले जित्यो भने मानसिक रुपमा पनि कांग्रेस कार्यकर्ताले गोरखामा जितको कल्पना गर्न सक्दैनन् भन्ने निचोडमा पुगेको देखिन्छ ।

श्रेष्ठलाई भने बाम गठबन्धनको फाइदा छ । तर त्यसमा भर पर्न नसकेर उनी राती राती कांग्रेस नेतृत्वसँग हिजो गोरखामा कांग्रेस मार्ने माओवादी नेता बाबुरामलाई तपाईहरु भोट दिने, म हिजो जनयुद्ध फासीवाद हो भन्नेलाई हराउने भन्दै सहयोग माग्न गएको हल्ला छ, सत्यता जे भएपनि । एमालेका आधाआधी स्थानीय कार्यकर्ता पनि श्रेष्ठभन्दा बाबुराममलाई मत दिने मनस्थितिमा रहेका देखिन्छन् । 

यही बीचमा एमालेले पाएको जम्मा एउटा प्रदेशसभामा रामशरण बस्नेतलाई मत नदिइ राजेन्द्र बजगाईँलाई जिताउँछौ भन्दै माकेको जिल्लाको मुख्य नेतृत्व नै वजगाईँकहाँ मोलतोलमा पुगेको सूचना बाहिरिएपछि एमाले कार्यकर्ता पंक्ति संशकित भएको छ ।

हो, बाबुरामको राजनीति पछिल्लो समय निकै अस्थिर देखिएको छ । केही मतदाता २०७० को चुनावमा उनले २ छोडेर १ मा गएपछि चिढिएका छन् । कति उनको घरि वामशक्ति घरि कांग्रेसको गठजोड भन्ने व्यवहारबाट चित खाँदै रिसाएका छन् । कतिमा आफैंले बनाएको संविधानप्रति उनले गरेको टिप्पणी र सांसद पदबाट दिएको राजीनामाप्रति आक्रोश छ, यसले उनको मत नघटाउने कुरै छैन । तर, श्रेष्ठको माओवादी केन्द्रको अस्थिरता पनि कम रोचक छैन । घरि आफैं सामेल एमाले नेतृत्वको सरकारविरुद्ध सरकारमै बसेर अविश्वास ल्याउने । कंग्रेससँग तालमेल गरेर माके अध्यक्ष प्रचण्डले त चितवनमा गएर रुखमै भोट हाले । देशभर एमाले हराउन कांग्रेससँग तालमेल गरे । घरि आफैं कांग्रेससँग सरकारमा बसेर विपक्षी एमालेसँग चुनावी तालमेल गरे । विपक्षीसँग एकता पनि भन्ने र कांग्रेससँग सत्तामा पनि बस्ने राजनीतिक चरित्र पनि कम आलोचनायोग्य छैन । 
यसरी हेर्दा, बाबुरामले माकेले स्थानीय निर्वाचनमा पाएको आधा भोट तान्ने देखिन्छ । उनले व्यक्तिगत र नयाँ शक्तिको गरी १२ हजार आसपास भोट पुर्याउने देखिन्छ । कांग्रेससमेतको भोत भट्टराईलाई थपिदा र एमालेको २५ प्रतिशत मत तान्दा बाबुराम श्रेष्ठ भन्दा कम्तीमा पाँच हजार मतले अघि हुने अनुमान गर्न सकिन्छ । तर मताधिकार भएका जनता अन्तिम निर्णायक हुन् । तिनको मतको कसैले पहिल्यै जिम्मा लिन सक्दैन र मिल्दैन पनि । 

अन्तमा यति चॉहि भन्न सकिन्छ, भट्टराईले जितेपनि या श्रेष्ठले जितेपनि त्यो संसदीय व्यवस्थाको जित हुनेछ । माओवादी आन्दोलनको हार हुनेछ । किनपनि भने उनीहरु माओवादी आन्दोलनको एजेण्डा मिल्काएर जाँदैछन् । 

(लेखक गोरखा २ का स्थानीय हुन् । )

प्रतिकृया दिनुहोस