आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

ज्ञानेन्द्र शाहको बोली तन्त्रमन्त्रको निष्कर्ष हो कि शानशौकतको सपना मात्र ?

सुवास देवकोटा - |

माघ १९, २०६१ मा शाषन आफ्नो हातमा लिएपछि तत्कालिन राजा ज्ञानेन्द्रले जिल्लाका भेलाहरुमा गएर ‘मैले बुझें, मैले बुझें’ भनेको अहिले पनि धेरैलाई सम्झना छ । राजालाई सबैभन्दा ठूलो मान्ने हाम्रो समाजले पनि त्यो बेला सायद हामीले नबुझेर राजाले नै बुझेका होलान् भन्ने ठान्यो । दाजुको वंश विनाश हुनुअघि दरबार बाहिर बसेर ब्यापार गरेकाले उनले नेपाली समाजको चरित्रलाई राम्रोसँग बुझेको तथा त्यसअनुसार उनले देशलाई अघि बढाउने केहीको विश्वास थियो । तर, दुई वर्षपछि नै देखियो, खासमा निकै बुझे जस्तो भावभंगिमा पारेर बोल्ने ज्ञानेन्द्रले नेपाली समाज र राजनीतिको तत्कालिन अवस्था खासै बुझेका रहेनछन् । 

उनले  २०४६ सालको जनआन्दोलनले निर्धारण गरेको ‘संवैधानिक राजतन्त्र’लाई एकतर्फीरुपमा अस्विकार गरेर राजनीतिक दलहरुलाई पाखा पुर्याएका थिए । त्यसो गर्नु भनेको बहुदलीय व्यवस्थालाई भंग गर्नु थियो र एकतन्त्रीय शाषन लाद्नु थियो । जबकि, २०४६ को जनआन्दोलनपछिको शाषन व्यवस्थामा निकै कमजोरी र अव्यवस्था भएपनि बहुदलीय व्यवस्था नेपाली समाजको जरोमा गाडिइसकेको थियो र त्यसलाई उखेल्न सम्भव थिएन । अर्काेतिर, माओवादी सशस्त्र बिद्रोह बलियो बनिसकेको थियो र जतिसुकै अवशरवादी चरित्र भएपनि उसले राजाको एकतन्त्रीय शाषनलाई स्विकार्ने सम्भावना थिएन । बहुदलीय व्यवस्था विरुद्ध अन्तराष्ट्रिय वातावरण पनि थिएन, अझ भनौं त्यस्तो वातावरण निर्माण गर्ने उनी र उनको संयन्त्रसँग ल्याकत थिएन । त्यस्तो अवस्थामा आफूलाई सुदृढ गर्न अनेकौं उपायसँगै उनी तन्त्रमन्त्रमा पनि लागेका समाचार उतिबेलै आएका थिए । तर, एक्काइशौं शताब्दीमा तन्त्रमन्त्र साँधेर सत्ता जोगाउन सम्भव थिएन र भएन पनि । 

उनै ज्ञानेन्द्र शाहले हिजो तिहारको टिका लगाएपछि पत्रकारहरुसँग ‘अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ’ भने ।

अहिले के त्यस्तो परिस्थिति उनले देखे र कसैले नसोचेको बोली बोले ?

जबकि, संघीय गणतान्त्रिक संविधान अनुसार स्थानीय तहहरुको चुनाव भर्खरै सकिएको छ र त्यसले सबै हिसाबबाट अपूर्व वैधानिकता प्राप्त गरेको छ । स्थानीय तह भर्खरै निर्माण भएकाले त्यसप्रति आम मानिसको निराशा होइन, ठूलो आशा छ । यसो भन्न सकिन्छ, संघीय गणतन्त्र अहिले नेपालको भूईतहसम्म पुगेको छ । 

संविधानले निर्धारण गरे अनुसार, प्रदेश र संघको चुनाव हुन लागेको छ । परिस्थिति यस्तो देखिदैछ कि, धेरैको धेरै प्रयासले पनि अब त्यो रोकिने सम्भावना छैन । चुनाव भएमा संघीय गणतान्त्रिक संविधान कार्यान्वयनको बाटोमा अरु अघि बढ्नेछ । अर्थात, मुलुक स्थिरतातर्फ अघि बढ्नेछ ।  त्यसो हुँदा, ज्ञानेन्द्र शाहसँग मुलुकको जिम्मेवारी र नेतृत्व लिने ठाउँ कहाँ रहनेछ ?

कतैबाट तर्क आउन सक्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले उ बेला पनि प्रजातन्त्र राजालाई बुझाएका हुन् अहिले पनि बुझाउन सक्छन् । तर, यो तर्क कतैबाट सान्दर्भिक देखिदैन, बेकारको लाग्छ । किनभने, उ बेला त ज्ञानेन्द्र शाह राजा अर्थात राष्ट्र प्रमुख थिए, तत्कालिन संविधान अनुसार । संविधानकै धारा टेकेर ज्ञानेन्द्रले प्रधानमन्त्रीहरु फेर्दै अन्तमा शाषन आफ्नो हात लिएका थिए । तर, अहिले कसैले बुझाउन खोजे पनि उनले थाप्न सक्ने अवस्था छैन । 

बाम गठवन्धन बनेपछि आफ्नो नियन्त्रणमा नेपालको सत्ता नरहने भयो भनेर दक्षिणले ज्ञानेन्द्र शाहलाई उकासेको हुनसक्छ भन्ने केहीले तर्क गर्न सक्छन् । यसमा पनि दम देखिदैन, किनभने यत्रो जनाधार भएको नेपाली कांग्रेसलगायत गैरबामपन्थी दलहरुलाई विश्वास नगरेर दक्षिणले ज्ञानेन्द्रलाई समाउने मूर्खता गर्ला र ? दक्षिणको संयन्त्र त्यति कमजोर सूचना र विश्लेषणमा टिकेको होला र ?

यस्तोमा, ज्ञानेन्द्रले यस्तो बोल्नुको आधार के होला ? तन्त्रमन्त्रको निष्कर्ष वा जोखाना ? वा, अतितको शानशौकत सम्झेर देखेको सपना मात्र ?

हुन त, आफूलाई युगाण्डाको आजिवन राष्ट्रपति घोषणा गरेका मानव इतिहासकै सबैभन्दा निरंकुश र क्रुर शाषक इदि अमिन सन् १९७९ मा देश छाडेर साउदी अरबमा निर्वाशन बस्दासमेत आफूलाई युगाण्डाको राष्ट्रपति नै मान्थे रे । र, २००३ मा मृत्यु हुनुअघिसम्म युगाण्डावाशीले कुनै दिन आफूलाई शाषन गर्न आमन्त्रण गर्ने विश्वास गर्थे रे ।    

प्रतिकृया दिनुहोस