आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

कांग्रेसका हजारौं कार्यकर्ता काठमाडौंमा, नेता निवासमा भीड

आठैप्रहर संवाददाता - |

काठमाडौं । आजबाट कांग्रेसका मुख्य नेताहरुको घरमा ठूलो भीड लाग्न थालेको छ । चुनाव घोषणा भएदेखि नै कांग्रेसका मुख्य नेताहरुको निवासमा टिकटका आकांक्षीहरुको भीड लागेको थियो । बुधबार संसदीय बोर्ड गठन भएपछि नेताहरुको निवासमा भीड अरु बढेको हो । 

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सडकसम्मै कार्यकर्ताको भीड लागेको थियो । त्यसैगरी नेता रामचन्द्र पौडेलको निवास बाहोराटारमा पनि ठूलो भीड लागेको छ । पौडेलले आउनेजति सबैलाई एकदुई मिनेट भेट्दै विदा गरिरहेका छन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पनि कार्यकर्ताको भीड देखिएको छ । 

बुधबार सभापति शेरबहादुर देउवाले १७ सदस्यीय संसदीय बोर्ड गठन गरेका छन् । उम्मेदवार चयनको काम यही बोर्डले गर्नेछ । बोर्डमा खुमबहादुर खड्का पनि परेपछि उनको निवासमा समेत भीड लागेको छ । भ्रष्टाचारी ठहर भएका व्यक्तिले ६ वर्ष चुनाव लड्न नपाउने कानुन बनेपछि खुमबहादुरको राजनीतिक जीवन सकियो भन्दै उनको निवासमा जानेहरुको संख्या पूरै घटेको थियो । तर, बुधबार उनी समेत बोर्डमा परेका छन् । 

कांग्रेस केन्द्रिय सम्पादन समितिले केन्द्र र प्रदेशका हरेक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकका तीनतीनजना दावेदारको नाम पठाउन परिपत्र जारी गरेको थियो । तर, अधिकांश जिल्ला समितिले समानुपातिकमा दर्जनौंको नाम पठाएको छ । यो कारण पनि नेता निवासमा भीड बढेको बताइएको छ । 

कांग्रेसको उम्मेदवार चयन प्रणाली पूर्ण रुपमा केन्द्र नियन्त्रित छ । यो कारण टिकटका आकांक्षीहरु हजारौंको संख्यामा काठमाडौं ओइरिएका छन् । 

अहिले काठमाडौंका होटल लज सर्वत्र कांग्रेस कार्यकर्ताको भीड रहेको छ । निर्वाचन आयोगले २९ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउन भनेको छ । यो कारण समानुपातिकका दावेदारहरुको बढि नै दौडधूप देखिएको छ । 

कांग्रेसले समानुपातिबाट सांसद बनेकाहरुलाई पुन समानुपातिकमा नराख्ने निर्णय गरेको छ तर यो नियम सभापति देउवा पत्नी आरजु राणालाई लागू नहुने सम्भावना देखिएको छ । उनको नाम प्रत्यक्षमा कञ्चनपुर र वर्दियाबाट सिफारिस भएको छ तर समानुपातिकमै बस्न उनले प्रयास गरिरहेको बुझिएको छ । 

प्रतिकृया दिनुहोस