आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

एमाले र माओवादी एकताः नेताहरुले बुझाई, पद र बानी छाड्न गाह्रो छ 

आठैप्रहर संवाददाता - |

एमाले र माओवादीले चुनावमा तालमेल मात्रै गर्लान् कि पार्टी नै मिलाउलान् ? अहिले नेपाली राजनीतिमा देखिएको सबैभन्दा ठूलो प्रश्न हो यो ।

विगतमा फर्किने हो भने यी दुई पार्टीबीच एकता सम्भव देखिदैन । माओवादी २०५२ फागुन १ बाट आफूले सुरु गरेको हिंशा तत्कालको परिस्थितिमा अनिवार्य आवश्यक्ता मान्छ र त्यसलाई महान जनयुद्ध भन्छ । 

एमालेले त्यसलाई आवश्यक्ताले नभई माओवादीको मनोगत चाहनाले थालेको हिंशा मान्छ र जनयुद्ध नै स्विकार्दैन । उसले २०५२ सालताका शान्तिपूर्ण राजनीति छाडेर हिंशामा जानुपर्ने अवस्था रहेकै स्विकार्दैन । 

विगतको मूल्याङ्कनमा एमाले र माओवादीबीच रहेको यो नै सबैभन्दा ठूलो भिन्नता हो । र, दुवै पार्टीलाई यो विषयमा आफ्ना अडान छाड्न सजिलो नभएको मात्र नभएर असम्भव नै देखिन्छ । 

तर, राजनीति सधै विगतलाई मात्र बोकेर चल्दैन । राजनीतिको मुख्य कुरा भविष्य हो । विगत नै प्रमुख हुन्थ्यो भने माओवादी र नारायणकाजि श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच पनि एकता सम्भव हुदैनथ्यो । एकता केन्द्रले माओवादी हिंशालाई सामाजिक फासिबाद भनेको थियो । 

त्यसैले आगामी बाटो नै राजनीतिका निम्ति प्रमुख विषय हुन्छ । अहिले एमालेलाई नेपाली कांग्रेस  र माओवादीबीचको गठवन्धन तोड्नु थियो, त्यसका निम्ति माओवादीलाई आफूतिर नतानी सम्भव थिएन । उता, वैचारिक विराशत, सिद्धान्त र नाम तथा कार्यशैलीका कारण नेपाली कांग्रेससँगको तालमेल नफाप्ने देखेको माओवादी बिकल्पको खोजीमा थियो । एक्लै चुनाव सामना गर्ने तागत नभएको महशुस भएकाले पनि माओवादी एमालेसँग नजिकिन वाध्य भएको थियो ।

कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्छ भन्ने दुवै पार्टीका नेतृत्वले भनिरहेकोमा पछिल्लो परिस्थितिले दुवै पार्टीलाई यो बिकल्प सोच्ने अवस्थामा पुर्यायो । चुनावी तालमेल बलियो बनाउन पनि यो बिकल्पमार्फत अघि बढ्न आवश्यक भयो । यसरी, दुई पार्टी कम्युनिष्ट नाम र विचार नै त्यागेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित एकताको तयारी अघि बढाउने निष्कर्षमा पुगे ।

त्यसो भए एमाले र माओवादीबीच एकता सहज छ त ?   

कम्युनिष्ट पार्टीहरु अन्तराष्ट्रिय विषयहरुमा गम्भिर देखिएर त्यहाँका केस्रा केलाउँदै मत बझाउँछन् र तिनै विषयमा बिभाजित पनि हुन्छन् । यसमा माओवादी पछिल्लो समय अलि उदार देखिएपनि लेनिन, स्टालिन र माओका जिवनकालका बिभिन्न विषय उधिन्ने उसको रुची घटेको देखिन्न । 

एमालेले भने त्यताका विषय उनीहरुको अनुभव भन्दै संसारका अरु इतिहास जस्तै त्यसलाई पनि त्यस्तै मानेर पढ्न मिल्ने तर मत बझाउन आवश्यक ठान्दैन । यो विषयलाई माओवादीले अब कति आवश्यक मान्छ त्यसले पनि एकताको सम्भावनालाई बलियो र कमजोर पार्ने देखिन्छ । 

सर्वाहारा अधिनायकत्व, वर्ग संघर्ष जस्ता शब्दमा माओवादीको अझै मोह देखिन्छ, व्यवहारमा त्यसलाई बोक्न उति जाँगर नरहेपनि । एमालेले अधिनायकत्व सत्ताको स्वभाविक चरित्र भनेर बुझ्दै सर्वाहारा अधिनायकत्व आवश्यक ठान्दैन र वर्ग संघर्षलाई फरक वर्ग र समुदायको स्वार्थको स्वभाविक टक्कर मान्दै त्यसलाई जहाँतही जबरजस्ती प्रयोग गर्नैपर्ने विषय मान्दैन । यो विषयहरुको बुझाईमा रहेको फरक हो र यसले पनि दुई पार्टीबीचको एकता प्रयासमा प्रवेश गर्ने निश्चित छ । 

मार्कसवाद, लेनिनवाद र माओवाद जस्ता  ‘जार्गन’ हरु के के प्रयोग गर्ने वा नगर्ने जस्ता विषयले पनि यी दुई पार्टीबीचको एकतालाई नजिक वा टाढा पुर्याउन सक्छ । 

यस्ता विषय अनेक भएपनि दुई पार्टीबीच एकतालाई नजिक वा टाढा पुर्याउने मुख्य तत्व चाहिँ दुई पार्टीका नेता कार्यकर्तामा रहेको सोच्ने तरिका र कार्यशैली नै हुन् भन्ने देखिन्छ । एकले अर्काको सोच र शैलीलाई नस्विकार्ने स्थिति कायम रहेमा एकता सम्भव देखिदैन । 

नेता कार्यकर्तामा अर्काे पक्षप्रति रहेको आशंका र अविश्वास दुई पार्टीबीचको एकतालाई टाढा पुर्याउने अर्काे कारण बन्न सक्छ । 

पदहरुको व्यवस्थापन दुई पार्टीबीचको एकतालाई प्रभाव पार्ने अर्काे तथा सबैभन्दा महत्वपूर्ण पक्ष बन्न सक्छ । २०४६ देखि सधै पार्टीको प्रमुख पदमा बसेका प्रचण्ड दोश्रो तहमा बस्न सक्छन् कि सक्दैनन्, प्रचण्डलाई पहिलो पदमा एमालेका नेताहरुले स्विकार्लान् कि नस्विकार्लान्, पद व्यवस्थापनको सन्दर्भमा सबैभन्दा ठूलो प्रश्न बन्ला । दुवै पार्टीका अरु प्रमुख नेताहरुको व्यवस्थापन पनि प्रश्न बन्ने नै छ । 

पार्टी एकता भनेको मुख्यरुपमा नेता र कार्यकर्ताबीचको एकता नै भएको हुँदा महाधिवेशनको चुनावमा जित हार हुने बुझेका र परिणामलाई स्विकार्ने बानी बसाएका एमाले नेताहरु र दुवै विषयलाई स्विकार्न बाँकि रहेका माओवादी नेताहरुले यो विषयलाई कसरी लिन्छन्, त्यसले पनि दुई पार्टीबीचको एकतालाई नजिक र टाढा पुर्याउनेछ । 

यी र यस्ता प्रश्नहरुको आधारमा अहिले हेर्दा दुई पार्टीबीच चुनावी तालमेल निश्चित देखिएपनि एकता भने निकै टाढाको विषय बन्ने देखिन्छ ।     

प्रतिकृया दिनुहोस