आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

बाम एकताः चीनको योजना कि भारतको षड्यन्त्र ? 

नविन किशोर गैह्रे - |

यो वर्षको दशैं अन्तिमतिर पुग्दा आफुलाई कम्युनिष्ट भन्ने मुलुकका दुई ठूला पार्टीहरु एमाले र माओवादी केन्द्र र दोश्रो संविधान सभाबाट संविधान जारी भएपछि संविधानको अन्तर्वस्तु अनि संविधान निर्माणको प्रकृयासँग असहमति जनाउँदै बनेको नयाँ सक्ति पार्टीले तत्कालका लागि प्रतिनिधि सभा र प्रदेश सभामा चुनावी तालमेल र दिर्घकालमा पार्टी एकिकरण गर्ने अभियान शुरु गरेपछि देशको राजनितिमा ठूलै कम्पन उत्पन्न भएको छ । यस्को धक्का अन्तराष्ट्रिय राजनीतिमा समेत महशुस भएको आशय झल्किने समाचारहरु आएका छन । 

वामपन्थी पनि भनिने नेपालका कम्युनिष्ट पार्टीहरु एकापसमा मिल्न सक्दैनन भन्ने मान्यता जवर्जस्त रुपमा स्थापित छ । वि.सं. २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी त्यस यताका झण्डै ७० वर्षमा अनेकौं पटक विभाजित भएको इतिहास हाम्रो सामु छ । ती विभाजनका कारणलाई जे जस्ता सैद्धान्तिक जलप लगाइए पनि पार्टीको शक्ति आर्जनको विषयलाई लिएर नेताहरुवीचमा उत्पन्न वैरभाव नै पार्टी विभाजनको प्रमुख कारण हो बुझ्न गाह्रो पर्दैन । चुनावी तालमेलको घोषणा गर्नु अगाडीका केही दिनसम्म पनि एमाले र माओवादी केन्द्रका अध्यक्षहरु एकले अर्कोलाई निषेध नै गर्न खोजेजस्तो अर्थ लाग्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिइरहन्थे । स्थानीय तहका चुनाव ताका त माओवादी केन्द्र काँग्रेससँग मिलेर एमाले मुक्त नेपालको निर्माण गर्ने महाअभियानमा घोषणा गरेरै लागेको थियो । यो अवस्थामा देखिनेगरी कुनै परिवर्तन नआउँदै अकस्मात पार्टी एकतासम्मको मार्गचित्र प्रस्तुत हुनुले आम जनता मात्र नभएर पार्टीकै माथिल्लो तहका नेता समेत आश्चर्यमा पर्नु स्वभाविक नै हो । 

वामपन्थी र राष्ट्रभक्त शक्तिहरुको बीचमा एकिकरण तथा राजनैतिक स्थिरता र आर्थिक विकासका मुद्दाले यी पार्टीहरुलाई एक ठाउँ ल्याएको प्रचार गरिएको छ । भनिन्छ राजनीतिमा जे देखिन्छ त्यो सत्य हुँदैन र जे सत्य हुन्छ त्यो देखिदैन । यदि यो अभियानको अन्तर्यमा लुकेको कारण नेताहरुले भनेको बाहेक अन्य केही छैन र नेपालका नेताहरु आफैले मौलिक रुपमा यस्को आवश्यकता महसुस गरेर यो निष्कर्षमा पुगेका हुन भने यस्लाई सकारात्मक नै मान्नु पर्दछ ।  तर भविष्यमा यी पार्टीहरु कसरी अगाडी बढ्छन त्यो नहेरी यही नै अन्तिम सत्य हो भनेर मानिहाल्नु हतारको निर्णय हुन्छ । आखिर माक्र्सवादी स्कूलिङ्गको प्रमुख पाठ पनि त हो — हरेक कुरामा सन्देह गर ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको बीचमा भएको यो सहमतिमा पनि सन्देह गर्न सकिने प्रसस्त ठाउँहरु देखिएका छन । खासगरी माओवादी केन्द्रको चरित्र अस्थिर देखिदै आएको छ । यो पार्टीका अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी लाग्ने आरोप हो कि यिनी उपयोगितावादी चरित्रका छन । यो पार्टीलाई द्वन्द्वकाल देखिनै विभिन्न शक्तिकेन्द्रहरुले आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दै आएको छर्लगैं छ । नेपालबिरुद्ध भइरहेका अनेक खाले षडयन्त्रका बिरुद्ध एक्लै संघर्ष गर्न सक्षम देखिएको केपी ओली नेतृत्वको वर्तमान एमालेलाई कमजोर बनाउन वाम एकताको हल्ला पिटाएर माओवादी केन्द्र प्रयोग भइरहेको त छैन ? यस्तो शंकालाई अहिले नै इन्कार गर्न सकिंदैन ।  

काँग्रेस, माओवादी केन्द्र र उतिवेलाका मधेस केन्द्रित दलहरु मिलेर बनेको अहिलेको सत्तापक्षीय गठबन्धन भारतले बनाइदिएको भन्नेमा कुनै शंका रहेन । यो गठबन्धन बने पछि चिनियाँ राष्ट्रपतिको हुने भनिएको नेपाल भ्रमण त रोकियो नै एमाले नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौताहरु जुन गतिमा कार्यान्वयनको दिशामा अगाडी बढ्नु पर्ने हो त्यो पनि हुन सकेन । यी घटनाहरुले चीन अहिलेको सत्तापक्षीय गठबन्धनसँग खुसी नरहेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा रणनैतिक महत्वका साथ विशिष्ट भू–राजनीतिक अवस्थितिमा रहेको नेपालमा चीनले आफु अनुकूलको सत्ता खोज्नु स्वभाविक नै हो । यही सिलसिलामा चीनको दवावले वामपन्थी एकिकरण भएको भनेर हल्ला पिटाइएको छ । यदि यो शंका सत्य हो भने अब बन्ने गठबन्धनको ध्यान चीनको स्वार्थपूर्तिमा भन्दा वेशी देशको उन्नतीमा हुनेछ भनेर भन्न सकिदैन ।

नेपालका हरेक जसो नेताहरुको सबैभन्दा ठूलो कमजोरी सत्तालोलुपता देखिएको छ । उनीहरुका लागि सत्ताको अगाडी सिद्धान्त, आदर्श सब बेकार कुरा हुन । यदी काँग्रेस र माओवादी केन्द्र सम्मिलित वर्तमान सत्ता गठबन्धन अझै कसिलो बन्दै गएमा एमालेलाई सत्तामा पुग्न फलामको च्यूरा चपाउनु सरह थियो । तत्काललाई यही एउटा स्वार्थ बाहेक माओवादी केन्द्र र नयाँ सक्तिसँग एकिकरण नै गर्ने तहसम्म पुग्नलाई एमालेसँग अर्को कुनै कारण थिएन । सामान्यतया कम्युनिष्ट पार्टीहरु कार्यकर्तामा अधारित हुन्छन । कोमल वली र नवराज सिलवाल जस्ता गैर राजनीतिक पृष्ठभूमिका व्यावसायिक व्यक्तिहरुलाई उम्मेदवारीको ग्यारेन्टी गरेर पार्टीमा प्रवेश गराउने र ख्रिष्टियन मिशनरी दल होस वा हृदयेस त्रिपाठी जस्ता क्षेत्रीय राजनीतिका संकीर्ण खेलाडीलाई चुनावमा वामपन्थी गठबन्धनमा सामेल गराउनुले सत्ता स्वार्थलाई बल पुर्याउने बाहेक अरु के नै गर्ने हो र ?  तसर्थ यो गठबन्धन केवल सत्ता स्वार्थले प्रेरित मात्र पनि हुनसक्छ । यदी तेसो भयो भने कम्युनिष्ट रुझान भएको नेपालका बहुसंख्यक वामपन्थी नेपाली जनतामा यो गठबन्धनले हीनताबोध गराउने छ ।

नयाँ शक्ती पार्टी माओवादी केन्द्रको ‘बाइप्रोडक्ट’ हो । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले यो पार्टीको सान्दर्भिकतालाई पूरै खारेज गरिदिएको छ । त्यसैलै यस्को धेरै चर्चा गर्न आवश्यक छैन । यता, एमाले र माओवादी केन्द्रले अहिले नेपाली राजनीतिमा खेल्ने मैदान एउटै हो । यी दुवै ‘लेफ्ट टू सेन्टर’  पार्टीहरु हुन । तर यीनीहरुको उत्पती र विकासमा आधारभूत भिन्नताहरु छन । एमाले, जनताका आधारभूत मानव अधिकारहरु समेत हनन र पार्टीहरु प्रतिबन्धित रहेको अवस्थामा क्रुर पञ्चायती शासन विरुद्ध कठोर संघर्षबाट हुर्किएको र नेपाली जनताले आफ्नो ठानेको पार्टी हो । एकातिर यो रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल, बिरेन राजवंशी, नारायण श्रेष्ठ, रत्न कुमार वान्तवा र ऋषी देवकोटा जस्ता नेपाल आमाका सपूतको वीरगति र मदन भण्डारी जस्ता देशभक्त नेताको विराशतमा उभिएको पार्टी हो भने अर्का्तिर माओवादी केन्द्र कुनै अदृष्य शक्तिले देखेको सपना पूरा गर्न यी सपूतहरुले देखाएको बाटोमा हिंड्न खोज्दै गरेका रुकुमका यदु गौतम देखि स्याङ्जाका गुप्त बहादुर विकसम्मको हत्या गरेर उठेको दल हो । 

जतिबेला जनयुद्धको नाममा अहिलेको माओवादी केन्द्रले हिंशा सुरु गर्यो तेतिखेर देशमा प्रजातन्त्रको पुनस्र्थापना भैसकेको थियो । सत्तासिन पार्टी र नेताहरुमा सत्ता उन्माद पक्कै थियो होला तर शान्तिपूर्वक राजनैतिक कार्यक्रम गर्न र आफ्ना असहमतीलाई राख्न कुनै बन्देज थिएन । लक्ष्य हाशिल नभएसम्म कुनै संझौतामा नटुंग्याउने सपथ खाएर सुरु गरिएको कथित जनयुद्धले कतै नपुर्याउने बरु सबै नष्ट हुने प्रष्ट भएपछि १२ बुँदे समझदारी मार्फत बिसर्जन गरिएको सो हिंसाको औचित्य पुष्टि हुने कुरै थिएन । 

वर्गीय युद्धको नाममा आफ्नै वर्गका हजारौं व्यक्तिको हत्यामा सामान्य आत्मालोचना समेत नगरी यदि एमालेसँग माओवादीले पार्टी एकिकरण नै गरिहालेमा देशको सबैभन्दा ठूलो पार्टी बनेर सरकार त बनाउँला तर आम नेपालीले सोचेको वास्तविक वाम एकता र समुन्नत नेपालको सपना, सपना नै रहने मात्र होइन ती तमाम महान सहीदको आत्माले समेत सधैं धिक्कारि रहने छ । 

प्रतिकृया दिनुहोस