आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

उम्मेदवारीको समय सार्न कांग्रेसले थाल्याे छलफल

आठैप्रहर संवाददाता - |

काठमाडौं । दलीय गठवन्धन बनाउन समय खर्च भएपछि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारीको समय सार्न प्रयाश थालेका छन् । बुधबार नेपाली कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउन आयोजना गरेको दलीय वैठकमा उम्मेदवारीको समय सार्ने सम्बन्धमा कुरा उठेको छ ।

लोकतान्त्रिक गठवन्धन बनाउन आयोजना गरिएको ६ दलीय वैठकमा कांग्रेस नेताहरुले उम्मेदवारीको समय सार्न पर्ने बताएका हुन् । सो वैठकमा कांग्रेस नेताहरुले एमाले र माओवादी पनि उम्मेदवारीको समय सार्न सकारात्मक भएको दावी गरेका थिए । 

चुनावको मिति नसारी उम्मेदवारीको समय मात्र सार्न पर्ने अवस्था आएको कांग्रेस नेताहरुको भनाई छ । 

निर्वाचन आयोगले असोज २९ गतेभित्र समानुपातिक उम्मेदवारीको बन्द सूची बुझाउने कार्यक्रम प्रकाशित गरेको छ । दलहरुले कात्तिक ७ भित्र उम्मेदवारको सूची संशोधन गर्न सक्नेछन् । त्यसकारण समानुपातिक तर्फको उम्मेदवारीलाई केही हदसम्म कात्तिक ७ सम्मको समय मिले पनि अब छोटो समयमा उम्मेदवारी दिन कठिनाई हुने सबै राजनीतिक दलको बुझाई रहेको छ ।

प्रत्यक्षमा समस्या

प्रत्यक्षतर्फ निर्वाचन आयोगले पहिलो चरण मंसिर १० मा चुनाव हुने जिल्लाहरुमा कात्तिक पाँच गते उम्मेदवारी दर्ता राखेको छ । त्यसैगरी मंसिर २१ मा हुने चुनावका लागि कात्तिक १६ मा उम्मेदवारी दर्ता राखिएको छ । कात्तिक पाँच भित्र प्रत्यक्षको उम्मेदवारी दिन समयले नभ्याउने कांग्रेस नेताहरुको भनाई छ । 
प्रत्यक्षका उम्मेदवारहरुले एक महिना पाँच दिन प्रचारको समय पाउनेछन् ।  ‘एक महिना समय लामो भयो, यसले गर्दा उम्मेदवारहरुको ठूलो खर्च हुन्छ, गरिबले चुनाव नै लड्न नसक्ने अवस्था आउँछ ।’

निर्वाचन कार्यक्रम प्रकाशित भएपछि एमालेका नेताहरुले पनि उम्मेदवारी र मतदानको एक महिना पाँच दिनको अवधी धेरै भएको बताएका थिए । उनीहरुले पनि यो लामो अवधीले गर्दा उम्मेदवारहरुको धेरै खर्च हुने तर्क राखेका छन् । 

कांग्रेसले ६ वटा साना राजनीतिक दलहरुसँग गठवन्धन गर्दैछ भने एमाले र माओवादीले गठवन्धन घोषणा गरिसकेका छन् । गठवन्धनका सबै दलहरुलाई मिलाएर प्रत्यक्षतर्फ उम्मेदवारी दिन धेरै समय लाग्ने काम भएकाले उम्मेदवारीको समय सार्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको हो । कांग्रेस आवद्ध गठवन्धन दलहरु यसमा सकारात्मक भए पनि एमाले र माओवादीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिकृया दिनुहोस