आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

कांग्रेसले गच्छदार सहित फोरम लोकतान्त्रिकलाई भित्राउँदै

आठैप्रहर संवाददाता - |

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको घोषणा हुनासाथ कांग्रेसले पनि प्रतिक्रियामा काम थालेको छ । कांग्रेसले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भित्राउने भएको छ । 

फोरम लोकतान्त्रिकले गत स्थानीय चुनावमा सामान्य अस्तित्व मात्र देखाउन सकेको थियो । गत संविधानसभा चुनावमा मधेस आधारित पार्टीहरुमध्ये सबैभन्दा ठूलो बनेको फोरम लोकतान्त्रिक गत स्थानीय चुनावमा भने सबैभन्दा पछाडि परेको थियो । 

फोरम लोकतान्त्रिकलाई भित्राउने गृहकार्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला सक्रिय रहेको बुझिएको छ । फोरम लोकतान्त्रिकसँगको एकता प्रकृया अन्तिम चरणमा पुगेको बुझिएको छ । फोरमको कार्यसम्पादन समितिको वैठक केही दिनमै बस्ने र त्यसले एकताको निर्णय लिने बताइएको छ । 

गच्छदार विगतमा कांग्रेसमै थिए र उनको पार्टीमा विगतमा कांग्रेसमा रहेकाहरुकै वाहुल्य रहेको छ । रामजनम चौधरी, महेश कोर्माेचा, देव लिम्बू लगायतका नेताहरु विगतमा कांग्रेसमै थिए । 

एक साताभित्रै पार्टी एकता हुने कांग्रेस नेताहरुले बताएका छन् । स्रोत अनुसार गच्छदारले केन्द्रीय संसद र प्रदेश नम्बर १, २, ५ र ७ मा प्रत्यक्ष र समानुपातिकतर्फ ठूलो हिस्सा पाउनुपर्ने दावी गरेको बुझिएको छ ।

गच्छदार वर्तमान मन्त्रिमण्डलमा उपप्रधानमन्त्री रहेका छन् ।
 

प्रतिकृया दिनुहोस