आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

बाबुरामको नयाँ शक्तिलाई अर्काे झट्का लाग्दै

आठैप्रहर संवाददाता - |

नयाँ शक्ति पार्टीकी एक मात्र सांसद गंगा चौधरी सत्गौवाले पार्टी त्याग्ने भएकी छिन् । थरुहट तराई पार्टीबाट फुटेर बेग्लै पार्टी बनाएकी गंगा पछि बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । 

बाबुरामको नयाँ शक्ति छिन्नभिन्न भएपछि गंगाले पनि पार्टी त्याग्न लागेको बुझिएको छ । गंगाले आफू निकटहरुलाई भन्ने गरेकी छिन्, ‘नयाँ शक्ति पार्टी खण्डहरजस्तो भयो, पार्टीमा अब केही मानिस मात्र बाँकी छन् ।’

स्रोत अनुसार उनी एमाले प्रवेशको तयारीमा छिन् । दाङकी चौधरीले केन्द्र या प्रदेश सांसद पदको सुनिश्चितता भए एमाले प्रवेश गर्ने बुझिएको छ । तर, एमाले नेताहरुले भने सुनिश्चितता गरेका छैनन् । 

दाङमा सोमबार एमाले अध्यक्ष केपी ओली जाँदैछन् । त्यहाँ गायिका कोमल वली पनि एमाले प्रवेश गर्न लागेकी छिन् । सोमबारकै कार्यक्रमबाट गंगालाई पनि एमाले प्रवेश गराउन खोजिएको छ तर कुरा मिलिसकेको छैन । एमाले प्रवेश सम्भव नभएमा अन्य कुनै पार्टी प्रवेशको तयारीमा गंगा रहेको स्रोतको दावी छ ।

उता, गंगाको पूर्व पार्टी थरुहट तराई पार्टी फोरम लोकतान्त्रिकमा मिसिएको थियो तर त्यहाँ पनि विवाद उत्पन्न भएको बुझिएको छ । थरुहट तराई पार्टीका अध्यक्ष रहेका भानुराम चौधरीले विजय गच्छदारसँग विद्रोह थालेका छन् । उनले अध्यक्ष विजय गच्छदारलाई एक ज्ञापनपत्र बुझाएर असन्तुष्टि प्रकट गरेको बुझिन्छ ।

प्रतिकृया दिनुहोस