आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

अमेरिकाको ठूलो नेपाली साहित्यिक पुरस्कारः आफ्नैबाट आफ्नैलाई  

कमल पाण्डे - |

सायद नेपाली साहित्यका नाममा स्थापना भएका पुरस्कार र सम्मान लेखक साहित्यकारको संख्या जति नभएकाले होला, ठूलाठूला राशीका पुरस्कारमा मात्र सबैको आँखा जान्छन् । त्यस्तोमा पुरस्कार आफ्नो पोल्टामा नपरेपछि कोही पहिले देखि स्थापना भएकाभन्दा ठूला पुरस्कार आँफैले खोलेर महादानी बन्ने र कोही प्रापक अर्थात महान लेखक बनेर पुरस्कार ग्रहण गर्ने दौडमा हुन्छन् ।

नेपाली साहित्यमा नाम र दाममा ठुला  केही पुरस्कारहरू राजा महाराजा ,रानी महारानीका नाममा छन् भने केही धनाढ्य,नव धनाढ्य,उधोगपति,साहु माहाजनका अतिरिक्त केही साहित्यिक व्यक्ति र संस्थाहरुका नाममा पनि छन् । तर अब यो बाहेक अन्य व्यक्ति समुदाय तथा गैर साहित्यिक क्षेत्रका तर्फबाट पनि साहित्यिक पुरस्कारका लागि लगानी भित्रिन थालेको छ । त्यसरी गैर साहित्यका क्षेत्रबाट साहित्यमा लगानी भित्र्याउने कामको नेतृत्व अन्तराष्ट्रिय साहित्य समाज(अनेसास) ले गरेको छ ।

समाजका दर्जनौं त्यस्ता पुरस्कारहरुमा अहिलेसम्मको ठूलो राशिको पुरस्कार वा सम्मान हो — राम लामा अनेसास सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान । यसका दाता महादानी महाजन श्री राम लामाज्यू अमेरिका निबासी हुनुहुन्छ र प्रापक समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री होमनाथ सुबेदीज्यू पनि अमेरिका निबासी नै हुनुहन्छ  । पहिलो पटक स्थापना भएको दुई हजार अमेरिकी डलरको यो अन्तराष्ट्रिय पुरस्कारले अहिलेसम्मका दुई लाख नेपाली रुपियाँ बराबारका अन्य सबै नेपाली पुरस्कार र सम्मानलाई ओझेलमा पारेको छ ।  

नेपाली मातृभाषीका लागि पहिलो पटक स्थापना भएको यो पुरस्कार पहिलो पटक संस्थाका पहिलो सभापति सुबेदीज्यूलाई नै प्रदान गर्ने निर्णय यस पुरस्कारको व्यवस्था गर्नका लागि पहिलो पटक गठन भएको पुरस्कार समितिले पहिलो पटक निर्णय गरेको हो । नेपाली भाषा सेवामा पहिलो पटक नाम सुनिएका स्वनाम धन्य श्री  राम लामाज्यूले नेपाली भाषा सेवामा आजीवन सेवारत धेरैलाई एकै पटक यसरी उछिन्नु भयो— मानौं लोहारको सय चोट सुनारको एकै चोट भनेको पनि यही हो । 

नेपाली भाषा साहित्यलाई दुई ढुंगाको तरुलबाट एकैचोटी बाहिर निकालेर समाजले २५ औं बर्षसम्म पनि गर्न नसकेको काम श्री लामाज्यूले पहिलो पटक नै अन्तराष्ट्रिय मात्र होइन अन्तरमहादेशीय नै बनाइ दिनुभयो । अमेरिकावासीका लागि अमेरिकावासीद्वारा नै स्थापना र प्रदान गर्ने घोषणा गरिएको यो अन्तर्राष्ट्रियस्तरको पुरस्कार यसै हप्ता अस्ट्रेलियामा पहिलो पटक आयोजित कार्यक्रममा पहिलो पटक समाजका पहिलो सभापति श्री होमनाथ सुबेदीज्यूलाई प्रदान गरिनेछ । पुस्कार समितिमा समाजका महासचिव गोवर्धन पूजा,समाजका भुतपूर्व अध्यक्ष मोहन सिटौला र समाजका पुरस्कारबाट पहिले पुरस्कृत माया ठकुरी रहनु भएको रहेछ । 

अमेरिकामा बसोबास गर्ने श्री राम लामाज्यूले नेपाली भाषा तथा नेपाली भाषी साहित्य र साहित्यकारप्रति गरेको यो उदार प्रेम ज्यादै प्रसंशनीय छ, यो वापत समाजले मात्र होइन नेपाली भाषी अन्य संघ संस्था र समुदायले ऐन मौकामा श्री लामालाई मान सम्मान वा अभिनन्दन गर्ने नै छन् ।  

अमेरिकाबासी श्री लामाज्यूले आफ्नो मातृभूमिका भुकम्प पिडित,बाढी पिडित,गरीब जेहेन्दार र अनाथ बाबालिकाहरुको लत्ताकपडा,स्वास्थ— शिक्षा,बसोबास—सुरक्षा वा अन्य पेशा र सेवामा काम गर्ने जो सुकैलाई पनि यस्ता पुरस्कार र सम्मानहरू खोलिदिन सक्नुहुन्थ्यो तर त्यसो  गर्दा दाताको मान सम्मान अन्तराष्ट्रिय नभएर सानो ठाउँमा खुम्चिने थियो । राष्ट्रिय, क्षेत्रीय वा जातीय र वर्गीय आदी कारणले संकिर्ण मानेर सज्जनहरूले आलोचना र बिरोध गर्न सक्नुहुन्थयो । यति ठूलो उदारताका खÞातिर  मान सम्मान र अभिनन्दन पनि अन्तराष्ट्रिय र अन्तरमहादेशीय नहुनसक्थ्यो । दाता अर्थात श्री लामाज्यूलाई जातीय वा क्षेत्रीय वा वर्गीय स्वार्थमा संकीर्ण भएको आरोप लाग्न सक्थ्यो । सर्बत्र बिरोध हुनसक्थ्यो । तर अन्तरराष्ट्रीय साहित्य समाजका लागि र समाजका संस्थापक सदस्यहरू,भूतपूर्व सभापतिहरूका  लागि यती ठूलो धनराशीको अन्तराष्ट्रिय यो पुरस्कार खोलिदिनाले श्री राम लामाज्यूलाई महादानी नेपाली भनेर चिनाएको छ । उहाँमा भएको यो उदारताको गर्ववोध  समाजले मात्र गरेर पुग्दैन । जात धर्म वर्ण लिङ्ग समुदायभन्दा माथि उठेर गरेको यो उदात्तदानले सम्पूर्ण अमेरिकाबासी नेपालीभाषीहरुका लागि नयाँ अवसरको ढोका खुलेको छ । जनजाती समुदायको एक दाताले स्थापना गरेको यस अन्तराष्ट्रियस्तरको र अहिलेसम्मकै सबैभन्दा ठूलो धन राशीको पुरस्कारले जातीय सद्भाव,भाषिक मित्रता र साहित्यिक उन्नयनमा ठूलो सहयोग  पुर्याएको छ । 

योभन्दा पहिले नेपाली भाषा समृद्धिका लागि खोलिएका भनिएका राजा महाराजा,रानी महारानी वा साहु महाजनहरुका पुरस्कार र सम्मानबाट उपेक्षित बन्चित अन्तराष्ट्रिय नेपाली भाषी साधकहरूका लागि साहित्य सिर्जनामा यसले ठूलो प्रेरणाको भूमिका खेल्ने छ । उहाँहरूलाई नविनतम सर्वाेत्कृष्ट सिर्जना र प्रकाशनमा सहयोग पुग्नेछ । पुरस्कार बिजेता र सम्भावित बिजेता साधकहरूका लागि चुलोचौको बाल्न,आफ्ना घर परिवारका इच्छा पुरा गर्न र सन्तानको भिक्षा दीक्षाका आदिका लागिसमेत यसले भरथेग गर्नेछ । साधकहरूका घर परिवार,छोराछोरी,नाति नातिना र  कूलकुटुम्ब सबैका लागि यो खुसी र गर्वको क्षण भएको छ । साधकहरूको यस आर्थिक उन्नतिले चुलो चौको र सन्तानको शिक्षा दिक्षाको चिन्ता मात्र दूर गर्दैन, साहित्यि सिर्जनामा साधना गर्न तथा मनमा शान्ति र खुशियालीको बहार पनि ल्याउनेछ । यस पुस्कारका दाता, छनौट समितिका विद्वतजन र प्रापक सबै एक मुष्ट बधाईको पात्र हुनुहुन्छ ।

कमल पाण्डे अमेरिकामा बसोबास गर्ने नेपाली हुन् ।

प्रतिकृया दिनुहोस