आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

बिर्तामोडमा नगर नेतृत्व व्यस्त तर नगर अस्तव्यस्त

आठैप्रहर संवाददाता - |

पूर्वाञ्चलमा सबैभन्दा फोहोर र अस्तव्यस्त सहर कुन हो ? जवाफमा बिर्तामोड पुग्ने जो कसैले भन्न सक्छ, ‘बिर्तामोड हो ।’

झापाको मुख्य सहर विर्तामोड फोहोरले अस्तव्यस्त बनेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । पूर्वाञ्चलकै प्रमुख र चल्तीको सहर विर्तामोडमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सडक दुर्गन्धित बनेको छ । 

स्थानीय चुनाव अघि नगर उद्योग वाणिज्य संघले सडकको फोहोर व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरिरहेको थियो । चुनावपछि नगरपालिकाले फोहोर उठाउला भनेर संघ निष्क्रिय बस्यो भने नगर नेतृत्व पनि सक्रिय बन्न सकेन । यसले गर्दा विर्तामोडमा जताततै फोहोर नै फोहोरको अवस्था सिर्जना भएको छ । 

स्थानीय व्यवसायी तथा समाजसेवी गजेन्द्र पौडेल भन्छन्, ‘नयाँ नगर नेतृत्वले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन, उहाँहरुले फोहोर नगरौं मात्र भनिदिए पनि फरक पर्छ तर मौन हुनुहुन्छ ।’ बिर्तामोडजस्तै पूर्वका सहरहरु दमक, इटहरी, उर्लावारी तुलनात्मक रुपमा धेरै सफा र व्यवस्थित छ तर बिर्तामोड झनझन अव्यवस्थित बन्दै गइरहेको छ । विर्तामोडमा नेकपा एमालेले मेयर र उपमेयर सहित बहुमत वडा जितेको छ ।

युवा व्यवसायी तथा कांग्रेस नेता राजु घिमिरे भन्छन्, ‘विर्तामोडमा सद्दे पीच सडक पचास मिटर पनि देख्न सकिँदैन, जताततै सडक भ्वाङ परेको छ ।’ बिर्तामोडबाट भद्रपुर जाने सडकको दुरावस्था झन अकल्पनीय भएको उनी बताउँछन् । सो सडकका लागि ठेक्का लागेको तर मुद्दा परेर मर्मत तथा निर्माण अवरुद्ध भएको पौडेल बताउँछन् । अदालतमा मुद्दा परेर विकास निर्माण रोकिनु र जनताले शास्ती भोग्नुपर्ने अवस्था सिर्जना हुनु उदेकलाग्दो अवस्था भएको गजेन्द्र बताउँछन् । 

नेपाल परिवार दलका जिल्ला अध्यक्ष जीवन पनेरुले विर्तामोडको दुरावस्था विरुद्ध सुधारका लागि अदालतमा मुद्दा दर्ता गर्ने प्रयास गरेका थिए । उनी भन्छन्, ‘विर्तामोड अस्तव्यस्त र फोहोर छ । विर्तामोड जति अस्तव्यस्त सहर नेपालमा शायद अर्काे छैन होला । यस्तो किन भइरहेको छ ? यसका लागि सबै सरकारी निकाय र जनप्रतिनिधि जिम्मेवार छन् ।’

उनले जिल्ला अदालतमा मुद्दा दायर गर्न खोजेका थिए तर सार्वजनिक सरोकारको मुद्दा दर्ता गर्न इलामको पुनरावेदन अदालत पुग्नुपर्ने भयो । अब जिल्ला अदालतमै पनि यस्तो प्रकृतिको मुद्दा दायर हुन सक्ने जानकारी उनले पाएका छन् । भन्छन्, ‘यहिँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्न पाइन्छ भने म दायर गर्दैछु ।’

अदालतमा मुद्दा दायर गरेर केके हुन्छ मलाई थाहा छैन भन्छन् जलकुमार गुरुङ । नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार बनेर पराजित बनेका गुरुङ भन्छन्, ‘जनअदालतले फैसला गरिसकेको छ । नयाँ नेतृत्व निर्वाचित भएको छ । उहाँहरुले काम गरेर देखाउनुहुन्छ भन्ने आशा गरेको छु र मेरो पूर्ण सहयोग पनि छ ।’

बिर्तामोडको सडकमा कहिँकतै डष्टविन देख्न सकिँदैन भन्छन् उद्योग वाणिज्य संघ नगर कार्यसमितिका सदस्य तथा युवा व्यवसायी कुशल खतिवडा । बाटोेमा डष्टविनको व्यवस्था गरेर नगर सफा गर्न जनस्तरीय अभियान पनि चलाउनु पर्ने उनी बताउँछन् । 

तर, विर्तामोडमा सुधारको काम थालिएको नगर नेतृत्वको दावी छ । उनीहरु भन्छन्, हामी काममा व्यस्त छौं, केही दिनमै सुधारको संकेत जनताले अनुभूति गर्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस