आज : Sunday, February 18, 2018 | २०७४ फाल्गुण ६ आइतबार

उत्तर कोरियाको शक्तिशाली बम परीक्षणले अमेरिकालाई चर्काे दबाब

अन्तराष्ट्रिय डेस्क - |

हाइड्रोजन बम निरिक्षण गर्दै उत्तर कोरियाली नेता किम जोङ उन र उनका सहयोगी, श्रोत बिबिसी

संसारका शक्तिशाली मुलुकहरुबाट कडा नाकाबन्दी बेहोरिरहेको उत्तर कोरियाले आज फेरी आणविक बम परीक्षण गरेको छ । यसलाई बिभिन्न मुलुकहरुले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आणविक बम परीक्षण भनेका छन् । उत्तर कोरियाको सरकारी टेलिभिजनले भने यसलाई हाइड्रोजन बम भनेको छ । आज परीक्षण भएको बमलाई मिसाइलबाट तोकिएको ठाउँमा झारेर पड्काउन सकिन्छ । यस्ता बमहरु बोक्न सक्ने मिसाइल गत हप्ता मात्र जापानलाई नघाएर उत्तर कोरियाले अमेरिकाको पश्चिम किनारा छेउ पुर्याइसकेकाले उत्तर कोरियाको मारक क्षमता डरलाग्दो बनेको अमेरिका, दक्षिण कोरिया र जापानका बिज्ञहरुले स्विकारेका छन् । 

उत्तर कोरियाले आज गरेको बम परीक्षणले खासगरी अमेरिकाको नेतृत्वलाई दबाब पर्ने देखिएको छ । आजको यो घटनापछि अमेरिकी टेलिभिजन सिएनएनका संवाददाता र बिज्ञहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको आलोचना सुरु गरिसकेका छन् । ट्रम्पले दुई साताअघि उत्तर कोरियाले अमेरिकी शाषित ग्वाममा मिसाइल आक्रमण गर्ने धम्की दिँदा कोरियाले अहिलेसम्म संसारले नदेखेको आक्रमण देख्ने धम्की दिएका थिए । त्यसपछि केही दिनअघि मात्र उनै ट्रम्पले उत्तर कोरियाले अमेरिकाको शक्तिलाई स्विकार गर्र्न थालेको उल्लेख गरेका थिए । आज अमेरिकी संचार माध्यमले अमेरिकी राष्ट्रपतिबाट कस्तो प्रतिक्रिया आउँछ भनेर पर्खिरहेको बताएका छन् । 

उत्तर कोरियाले आज परीक्षण गरेको बम अघिल्लो परीक्षित बमभन्दा झण्डै दश गुणा शक्तिशाली रहेको बताइएको छ र उसले गत साता हानेको मिसाइल अमेरिकाको पश्चिम भागसम्म पुग्नसक्ने पनि बताइएको छ । कडा नाकाबन्दीका बावजूद उत्तर कोरियाले विकास गरेको यो क्षमताले अमेरिकी बिज्ञहरुलाई आश्चर्यमा पारिरहेको छ र अमेरिकी प्रशासनलाई उत्तर कोरियासँग नयाँ ढंगले व्यवहार गर्न दबाब पर्ने स्थिति देखिएको छ । 

के छ उत्तरको माग ?

उत्तर कोरियाले यसरी निरन्तरण मिसायल र आणविक बम परीक्षण गरिरहनुमा आफूलाई अमेरिकी र संसारले आणविक शक्तिसम्पन्न राष्ट्र स्विकारोस् भन्ने रहेको बताइएको छ । अहिले संसारका शक्ति सम्पन्न राष्ट्र र संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई आणविक शक्ति मानेको छैन । त्यही कारण अहिले संयुक्त राष्ट्र संघले उत्तरको आणविक परीक्षणलाई गैरकानूनी भनेर कडा नाकाबन्दी लगाएको छ । यस्तोमा उत्तरलाई आणविक शक्ति राष्ट्र मानिए यो नाकाबन्दी स्वतः हटाउनु पर्नेछ । 

यस्तो भए, पूर्वी एसियाको शक्ति सन्तुलनमा आमूल परिवर्तन आउनेछ । अमेरिकी गठवन्धनमा रहेका जापान र दक्षिण कोरिया कमजोर सावित हुनेछन् । र, त्यो क्षेत्रमा अमेरिकासमेत कमजोर हुनेछ । त्यसैले, अमेरिकी प्रशासनले यति सजिलै उत्तरलाई आणविक शक्ति राष्ट्र स्विकार्न तयार हुनेछैन । 

यसैगरी, आणविक शक्ति नहुँदा कुनै पनि बेला अमेरिकाले आक्रमण गर्ने र आफ्नो सत्ता परिवर्तन गराउने कम्युनिष्ट उत्तरको डर छ । १९५० देखि १९५३ सम्म कोरिया प्रायिद्वीपमा लडाई भएको थियो, जसमा चीन र अमेरिका पनि भिडेका थिए । अहिले पनि दुई कोरियाको सीमा संसारकै सबैभन्दा युद्धका हिसाबले खतरनाक मानिन्छ र दक्षिणतर्फको सीमामा झण्डै २८ हजार अमेरिकी सेना तैनाथ छन् । 

अहिलेसम्म उत्तरसँग नरम रहेका चीन र रुस नै पनि उत्तरलाई आणविक शक्ति स्विकार्न सायद तयार हुनेछैनन् । छिमेकको सानो मुलुकलाई आफू बराबर स्विकार्न कुनै पनि शक्तिशाली मुलुकलाई सजिलो नहुनु अस्वाभाविक होइन । 

तर, यसअघि फूर्ती र धम्की मात्र मानिएको उत्तर कोरियाको आणविक बम र मिसायल परीक्षणले शक्ति बढाएर अमेरिकासम्म पुग्न सक्ने बनेकाले अमेरिका प्रतिक्रिया दिन वाध्य बन्ने देखिदैछ । त्यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मन्त्रिपरिषद बोलाएको बताइएको छ ।       

प्रतिकृया दिनुहोस