आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

पंचायतकालमा लुक्दै घुँडासम्म हिउँमा जाकिएर चीन पुगेका थियौं

अमृतकुमार बोहोरा - |

अहिले उत्तरको छिमेकी चीनसँग नजिक मानिएको एमालेले पंचायतकालमै हिमाल पार गरेर दुई पटक प्रतिनिधीमण्डल चीन पठाएको रहेछ । पहिलो प्रतिनिधीमण्डलमा सिपी मैनाली, ईश्वर पोखरेल र अमृत बोहोरा थिए । तर, बोहोरा मैनाली र पोखरेललाई तिब्बत पसेपछि चिनियाँ कम्युनिष्ट पार्टीको बेइजिङबाट आएको टोलीलाई जिम्मा लगाएर फर्किए । दोश्रो पटक भने माधवकुमार नेपाल र जिवराज आश्रितसँगै बोहोराले पनि चीन भ्रमण गरे । सिन्धुपाल्चोकका बासिन्दा भएकाले तत्कालिन मालेले नेपालको सरकारी संयन्त्रलाई सुइँको नदिई चीन पस्ने बाटो खोज्ने जिम्मा बोहोरालाई दिएको रहेछ । चीनको कम्युनिष्ट पार्टीको आमन्त्रणमा गएकाले उताको सरकारी संयन्त्रले माले प्रतिनिधीमण्डलको राम्रो आतिथ्य गरेको थियो । प्रस्तुत छ, भ्रमण टोलीका एक सदस्य तथा एमाले नेता बोहोराको सस्मरणः 

दोश्रो पटकको हाम्रो चीन भ्रमण सन १९८२ मई ५ मा सुरु भएको थियो । त्यसमा म माधवकुमार नेपाल, जिवराज आश्रित थियौं । हाम्रो भ्रमण एक महिनाको थियो । 

पहिलो पटक सम्पर्क (चिनियाँ पक्षसँग) जति गाह्रो भयो, त्यसबाट केही जानकारी समेत भएकाले दोश्रो पटक त्यही समस्याचाहिँ भएन । तर पनि मौसम र बाटोघाटो परिवर्तनले दोश्रो भ्रमण खासगरी सीमापार नगरेसम्म हामीलाई कठिन भएको थियो । हाम्रो यात्रा सिन्धुपाल्चोकको रोलडाँडा, कालिञ्चोक, दोलखाको देउढुंगा, थोपल हिमालको काखबाट तिब्बत चाङचमुतर्फ भएको थियो । गोपनीयता र सुरक्षामा ध्यान दिनुपर्ने भएकाले हाम्रो यात्रा जंगलको बाटोबाट भएको थियो । 

माधव नेपाल र आश्रितलाई धेरैजसो समथल भूमिमा रहने बानी भएकाले उच्च पहाडको हावापानी र विकटता थेग्न गाह्रो भएको थियो । दोलखा र सीमडाँडामा रहेको कालिञ्चोक भगवतिस्थानमा पुग्नुपूर्व लेक लागेर दुवैका पाइला ढिला भएका थिए र उहाँहरुलाई वान्ता पनि भएको थियो । 

सीमा पार गर्ने दिन बिहानै हामीले झण्डै डेढ घण्टा घुँडासम्म आउने हिउँ भएको अत्यन्त अप्ठ्यारो बाटो पार गर्नुपरेको थियो । त्यहाँ ओत लाग्ने ठाउँसमेत थिएन । हिउँको टल्काईले माधव र जिवराजको आँखा नै बन्द होला जस्तो भएको थियो । त्यति बेला उहाँहरु कस्तो बाटो ल्याएको भन्दै मसँग रिसाउनुभएको थियो । तर, अर्काे कुनै सजिलो उपाय पनि हामीसँग थिएन । एकातिर चर्काे थकाई, अर्काेतर्फ जाडो र भोकले हामीलाई सताएको थियो । म उहाँहरुलाई हौशला दिदै बीचबीचमा ओडार आउँदा अब सीमा चाँडै आउँछ, सम्पर्क बिन्दुमा पुगिन्छ भनेर हौशला दिएर हात समाउँदै डोरयाउँदै हिडाउँथे । 

हाम्रासाथमा अष्टलक्ष्मी शाक्यले तयार पारिदिनुभएको भुटेको च्युरा, केही बदाम, सुकुटी र लसुनका अचारबाहेक खानेकुरा केही थिएन । हामीले यात्राको त्यस्तो कामचलाउ व्यवस्था गरेका थियौं । तर, दुखको बेला ती खानेकुरा नै हामीलाई पछिसम्म बिर्सन गाह्रो परेको थियो । 

चाङमु अर्थात खासा नजिकको एउटा गाउँमा बेइजिङबाट आएका पूर्वपरिचित कमरेडहरुसँग सम्पर्क दुई दिनपछि मात्र हाम्रो ल्हासातर्फको मोटरयात्रा सुरु भएको थियो । हामीलाई लिन त्यहाँ बेइजिङबाट कं लाओवाङ र श्याओतुङसहित तिब्बत प्रान्तका अरु जिम्मेवार कमरेडहरु पनि आएका थिए । यालु ज्याङ्फू नदिको किनारैकिनारको मोटरबाटोमा दुई दिनको यात्रापछि हामी ल्हासा पुगेका थियौं । त्यहाँबाट हामी साउथ चाइना इयरको जेट बिमानबाट सेचुवानको छेन्दू पुग्यौं । छेन्दू हिमाल, पहाड र तराई भएको अत्यन्त रमणीय ठाउँ रहेछ । तेङ सियाओ पिङको जन्मभूमि रहेको सेचुवानले चिनियाँ क्रान्तिको बेला पनि महत्वपूर्ण भूमिका खेलेको थियो । 

पंचायति निरंकुश व्यवस्थामा कठोर भूमिगत रुपमा काम गरेका हामीलाई एकाएक खुला वातावरणमा पुग्दा अनौठो महशुस भइरहेको थियो । देशमा हुँदा हामीले हवाई जहाज चड्नु त पर, नजिक पनि पुगेका थिएनौं । त्यस्तो अवस्थामा विशिष्ठ अतिथिको रुपमा एकै पटक जेट बिमानको यात्रा गर्न पाउँदा हामी धेरै प्रफुल्लित भयौं । 

चीनको समाजवादी व्यवस्थाले हाशिल गरेका नयाँ नयाँ प्रगतिले एक महिनाको यात्राभरी हामीलाई रोमाञ्चित मात्र होइन, आश्चर्यचकित पारेको थियो । चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादी सरकारले अर्काे मित्र देशबाट आएका त्यो पनि भूमिगत पार्टीका मानिसहरुलाई जति सकिन्छ, उति उच्च सम्मान र भव्य आतिथ्य प्रदान गरेको थियो । तर, हामी ती सम्पूर्ण कुराहरुलाई न कतै लेख्न सक्थ्यौं, न त कसैलाई बताउन नै सक्थ्यौं । 

लामो चीन बसाईले हाम्रा अनुहारहरु फेरिएका थिए । तर, हामीलाई यतिसम्म मेरै जिवनसाथी अष्टलक्ष्मीले समेत किन यस्तो भयो भनेर सोध्नुभएन । 

त्यो ऐतिहासिक चीन भ्रमणमा न हामीले तस्विर खिच्यौं न वातचितका नोटहरु नै ल्यायौं । फोटो र वातचितका प्रसङ लेखिएका नोट हामीले बेइजिङमै छाड्यौं । मेरो विचारमा ती सामाग्री बेइजिङमै सुरक्षित हुनुपर्छ । 

त्यसबेला हामीले ल्हासा,छेन्दू,बेइजिङ, नानकिङ, संघाई र हुनान आदी प्रान्त भ्रमण गरेका थियौं । बेइजिङमा हामीले चिनियाँ कम्युनिष्ट पार्टीका महत्वपूर्ण नेताहरुसँग छलफल गरेका थियौं । ती द्वीपक्षीय कुराकानीमा चिनियाँतर्फबाट कमरेड हे योङ लगायतको टीम उपस्थित थियो । छलफलको अन्त्यमा ‘ग्रेट हल अफ द पिपुल्स’ को एउटा हलमा चिनियाँ कम्युनिष्ट पार्टीका एक महत्वपूर्ण नेताले हामीलाई रात्रीभोज दिएका थिए । 

जिवराज आश्रित स्मृतिग्रन्थबाट    

प्रतिकृया दिनुहोस