आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

सिन्धुली—पहिले कहाँ हो ? अहिले गजब, बबाल रहेछ

सुवास देवकोटा - |

घर कहाँ हो भनेर सोध्नेलाई पहिले सिन्धुली भनेर जवाफ दिँदा सिन्धुली कहाँ हो ? पूर्व हो कि पश्चिम भनेर थाहा नपाए जस्तो  गर्नेको संख्या बढि हुन्थ्यो । सीमा जोडिएका जिल्लाकै मानिसलाई पनि सिन्धुलीबारे कमै थाहा हुने भएकाले पूर्व र पश्चिमकाले त्यसरी थाहा नपाउनु अनौठो थिएन । पैदलै हिड्दा समेत जिल्ला सदरमुकामबाट डेढ दुई दिनमा राजधानी आइपुग्ने भएपनि मोटरबाटो घुमाउरो परेको र राजमार्गबाट भित्र पस्नुपर्ने भएकाले सिन्धुली केही वर्षअघिसम्म पनि नचिनेको र नजानेको ठाउँ थियो । ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई..’ भन्ने कृष्णबिक्रम थापाले गाएको गीतले मात्र आम मानिसलाई सिन्धुलीको केही परिचय दिएको थियो । इतिहास जान्नेलाई त सिन्धुलीगढीमा अंग्रेज सेनालाई नेपाली सेनाले पराजित गरेको गौरवगाथाको जानकारी छँदैथियो । बिपी कोइरालाले पुख्र्याैली गाउँ दुम्जा, शहिद ऋषिराज देवकोटाको जन्मथलो खुर्काेट र कर्मथलो भिमान जान्नेहरु सिमित नै थिए । 

बत्तिमुनिको अध्याँरो बनेको सिन्धुलीको परिचय बिपी राजमार्ग बनेपछि पूरै फेरिएको छ । अहिले घर कहाँ हो भन्दा सिन्धुली भन्नुपर्छ जापानले बनाइदिएको सुन्दर बाटो र रहरलाग्दा फाँट, चिसो महाभारत पर्वत, हरियाली, बाटोको बीचमा विकशित हुँदैगरेका सुन्दर बजारहरुको बयान उनीहरुरुले नै गर्छन् । ‘तपाईको घर सिन्धुली ? गजब छ’ भन्नेहरु धेरै हुन्छन् । यसरी केही वर्षको बीचमै एउटा बाटोका कारण सिन्धुलीको परिचय पूरै फेरिएको छ । सिन्धुली जिल्लाको भविष्य केही वर्षअघिसम्म हामीले चिन्ता गर्दैआएकोमा अहिले बाहिरकाले नै ‘भविष्य उज्ज्वल छ’ भनेर प्रशंशा गर्ने बनेको छ । 

नेपाल जस्तै पूर्व पश्चिम लमतन्न परेको, सबैभन्दा बढि जिल्लाले छोएको र केही किलोमिटरमै अनेक प्रकारका हावा पानी भएको सिन्धुली जिल्लालाई आगामी केही बर्षमै चिन्ने र जान्नेहरुको संख्या अरु बढ्ने पनि निश्चित छ । कुनै समय पूर्वी नेपाललाई राजधानीसँग जोड्ने र चीनको तिब्बत र भारतबीच पैदल मार्गमा पर्ने सिन्धुली नेपालमा मोटरबाटो विकाश हुनथालेपछि केही दशक अध्याँरोमा परेको थियो । नभए, पूर्वी पहाड र तराईबाट काठमाडौं पैदल आउनेहरुको गनिनसक्ने लश्कर कोशी किनारको गडतिरमा देख्नेहरु अझै जिउँदै छन् । तिब्बतबाट भारत जानेहरुको त्यस्तै लश्कर ५०—६० बर्षअघिसम्म खुर्काेटमा देखिन्थ्यो । अहिले बलेरो पुग्न थालेको धापचौकीमा उ बेला उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर आउजाउ गर्नेहरुलाई जाँच गर्ने ठाउँ थियो । सिन्धुली गढीमा त त्यस्तो चौकी निकै ठूलो थियो । 

२०५८—०५९ सालतिर एमालेको मेरो जिम्मा सिन्धुलीको तत्कालिन इलाका नम्बर ५ मा हुँदा बितिजोरबाट ग्वालटार जाँदाको कोशीको साँघुरो गडतिर सुुलिभञ्ज्याङ पुग्दा मलाई निकै दुर्गम ठाउँ पुगेको अनुभव हुन्थ्यो । बितिजोर मेरो मामाघर पनि भएको हुँदा त्यो ठाउँ मलाई आफ्नै जस्तो लाग्थ्यो र यो ठाउँमा कहिले बाटो पुग्ला र सुगम बन्ला भन्ने सोच्थें । तर, मेरो सोचाईको स्तरले नजिकको भविष्यमा समेत त्यस्तो सम्भावना देखेको थिएन । त्यही ठाउँमा अहिले मध्यपहाडी राजमार्ग बनेको छ । कोशी सुसाएको मात्र सुनिने त्यहाँ हर्न बजाउँदै गाडीहरु कुदेका छन् । एक्का दुक्का साना पसलहरु भएको ती ठाउँमा अहिले बजारहरु बन्दो छन् । २०४७ सालमा खाङसाङ पुग्दा त्यहाँको ठूलो बलौटे फाँटलाई समुन्द्री किनारमा जसरी विकास गरेर पर्यटक बोलाउन सकिने तथा कोशीमा र्याफ्टिङ गर्दै आउनेहरुलाई त्यहाँ रोक्न सकिने सपना देखेको थिएँ र त्यहाँ सुनाएको पनि थिएँ । जहाँ, अहिले सडक पुगेको र त्यस्तो गर्नसक्ने सम्भावना बढाएको छ । 

तीन कन्याका पहिले नुन छरेर सार्वजनिक बनाइएका ठूला टारहरुमा कुनै बेला क्रिकेट र फुटबल खेल सिकाउने ट्रेनिङ सेन्टर बनाउन सकिने मैले सपनामा देख्नेगरेको थिएँ । तर, निन्द्रामा देखेका सपनाका आधार त्यसबेला थिएनन् । मोटरबाटोको विकासले आधार बनाएकाले ती सपना पनि कुनै दिन वास्ताविकतामा फेरिने सम्भावना बढाएका छन् । महाभारत डाँडामा भने पेट्रोल र डिजेलको धुवाँ फाल्ने गाडी नभएर बिजुलीबाट चल्ने वा धुवाँ नफाल्ने गाडी चलाउँदा राम्रो हुने मलाई लाग्थ्यो । तर, अहिलेको नेपालको अवस्था र त्यहाँका बासिन्दाको आवश्यक्ताका कारण अरु ठाउँमा जस्तै त्यहाँ पनि बाटो बन्दो छ र लेकका गाउँहरुलाई सुगम बनाउँदैछ । तर, महाभारतको निश्चित क्षेत्रलाई पैदलमार्ग बनाउँन सक्दा राजधानीका शहरियालाई लेकाली जिवन देखाउन र तराईको गर्मीमा उकुशमुकुश भएकालाई चिसो खुवाउन बोलाउन सकिने सम्भावनालाई हामीले बिसर्न हुदैन भन्ने लाग्छ । 

माथिका कुराहरुले बाटो विकासको प्रमुख आधार रहेछ भन्ने सत्य स्थापित गर्छन् । युरोप र अमेरिकामा त्यही कारण विकास भएको रहेछ । चीनले देशलाई विकसित बनाउन त्यही गर्दैछ । आफ्नो देशलाई मात्र जोडेर नपुग्ने रहेछ भन्ने सोचेर अहिले चीनले ‘वन बेल्ट रोड इनियसेटिभ’ अभियान सुरु गरेको छ । यसले संसारलाई रोड, रेल र जलमार्गबाट जोड्ने तथा त्यसले ती देशलाई मात्र नभएर आफ्नो देशलाई पनि फाइदा हुने चीनको निश्कर्ष छ ।  भारतले पनि बाटो विकासको  प्रमुख आधार हो भन्ने थाहा पाएर अहिले त्यसैमा ठूलो लगानी गर्न थालेको छ । वास्तवमा बाटोले गाढी मात्र नभएर चेतना, सम्भावना जस्ता धेरै विषयहरु ल्याउने रहेछ । र, सरकारले केही नगर्दा पनि बाटो बन्नासाथ जनता आफै केही गर्नसक्ने बन्ने रहेछन् ।

कम्युनिष्टहरुले कुनै बेला गाए जस्तो, ‘गैंची बेल्चा उठाएर, पहाड पर्वत फुटाएर, के पायौं नि कुल्ली दाईले के पायौ नि कुल्ली भाईले, अर्कैले ट्याक्सी गुडायो’ होइन रहेछ । हो, बाटो बन्दा पनि लाभ पाउन नसक्ने कयौं सिमान्कृत मानिसहरु हुनेछन्, उनीहरुका लागि सरकार र समाजले छुट्टै व्यवस्था गर्नुपर्छ । समाजवादी विचार र दृष्टिकोण नै यही हो । तर, उनीहरुका लागि समेत केही गर्न बाटो पुग्दा सहज हुने रहेछ । 

यस्तोमा, सिन्धुलीमा थप दुई राजमार्ग तिब्र गतिमा बनिरहेका छन् । मध्यपहाडी लोकमार्ग पक्की बन्दैछ भने भित्रिमधेस मार्ग धमाधम बन्दैछ । मध्यपहाडीले सिन्धुली र पूर्वी नेपालको ऐतिहासिक सम्बन्धलाई पुनर्जिवित गर्नेछ र यी क्षेत्रका गाउँ बस्तीको विकासलाई तिब्र गतिमा अघि बढाउनेछ । त्यसका केही संकेतहरु देखिन थालिसकेका छन् । अनि अर्काे कुरा, ओखलढुङ्गा, खोटाङ, भोजपुरका बुढापाकाहरु पहिले गडतिरको गर्मीमा पैदल हिडेका इतिहासलाई गाडीमा हुईकिँदा कसरी सम्झँदा होलान् ? यो सम्झँदा पनि रोमाञ्चित भइन्छ । 

भित्रीमधेश मार्गले सिन्धुलीका दुई ठूला फाँटहरुलाई सुगम बनाउनेछ । कमला खोँच र मरिनखोलाको फाँट नेपालकै ठूला अन्न भण्डार बन्ने क्षमता राख्छन् । दुई नदिले ती फाँटहरुलाई सिंचित त गरेकै छन्, क्षति पनि पुर्याएका छन् । पक्की बाटो र पुल निर्माणले चुरेबाट झर्ने खोल्सा र खोलाहरुलाई धेरै हदसम्म नियन्त्रण गर्नेरहेछ भन्ने हामीले बिपी राजमार्गको भिमानदेखि सिन्धुलीसम्ममा देखिसकेका छौं । खहरे नियन्त्रण हुँदा नदि पनि केही न केही नियन्त्रण हुने रहेछ भन्ने पनि त्यहीँ देखिएको छ । बाटो बनेर ठाउँहरु सुगम बन्दा त्यहाँका मानिसहरुको पहुँच बढ्ने रहेछ तथा नीति निर्माताहरुको आँखा पनि पर्नेरहेछ । त्यस्तोमा मरिन र कमला नदि तथा तिनमा मिसिने खोला  खोल्सा नियन्त्रण हुँदा ती फाँटहरुले आफ्नो क्षमता अनुसार अन्न उत्पादन गर्न सक्नेछन् । जसले, त्यहाँको बासिन्दाको जिवनस्तरलाई उकास्ने नै छ । 

योसँगै बाटोले बाँकि नेपालसँग जोडिँदा त्यहाँ पनि अनेक अवशर भित्रिनेछन् । जसले, त्यहाँका बासिन्दाको जिवनस्तरलाई उकास्ने नै छ । ती बाटोहरुसँग जोडिनेगरी अनेक उपबाटोहरु निर्माण हुनेछन्, हुँदैछन् पनि । यसले सिन्धुली जिल्लाभरी नै अवशर सिर्जना गर्नेछ । 

यस्तो सुनौलो सम्भावनाका बीच अहिले हामी सिन्धुलीवाशी उभिएका छौं । अब हामीले यी अवशरहरुलाई पक्रन र तीनको सहयोगमा आफूूलाई थप समृद्ध बनाउनुपर्ने आवश्यक्ता छ । त्यसका लागि हामीले पहिले जस्तो पहुँचबिहिन बनेर होइन, राजनीति, शिक्षा, कर्मचारीतन्त्र, उद्योग, पर्यटन जस्ता क्षेत्रमा पहुँच बढाउनुपर्नेछ । हामीले सोच्ने, योजना बनाउने र त्यसका लागि लाग्ने हो भने यो असम्भव पनि छैन । 

प्रतिकृया दिनुहोस