आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

निस्सासिएको भूटानले श्वास फेर्न थाल्यो

अन्तराष्ट्रिय डेस्क - |

भारत र चीनको चेपुवामा परेर निस्सासिएको भूटानले श्वास फेर्न थालेको छ । दोक्लम क्षेत्रबाट भारतीय सेना हटेको भोलिपल्ट भूटानले एक विज्ञप्ति जारी गर्दै भारतीय सेना हट्नु र दुवै पक्ष पछाडि हट्नु स्वागतयोग्य भनेको छ। 

दुई महिनादेखि चीन र भूटानको विवादास्पद स्वामित्वको दोक्लममा तेस्रो पक्षका रुपमा भारतीय सेना प्रवेश गरेको थियो । 

चीन र भारत दुवैले दोक्लमबाट पछाडि हट्ने निर्णय सोमबार गरेका थिए । भूटानको विज्ञप्ति भने मंगलबार मात्र आएको हो । अत्यन्त संक्षिप्त विज्ञप्तिमा चीन र भारतको निर्णयले भूटान, चीन र भारतको सीमामा शान्ति हुने विश्वाश व्यक्त गरिएको छ । त्यसैगरी दोक्लम तैनाथीभन्दा पहिलेको स्थितिमा परिस्थिति रहने अपेक्षा पनि गरिएको छ । 

भूटानमा भारतीय सेना रहँदै आएको छ । गत जुन २९ तारिखमा भूटानी विदेश मन्त्रालयले दोक्लम क्षेत्रमा चिनले अवैध रुपमा निर्माण कार्य गरेको भन्दै सो क्षेत्रमा त्यसो नगर्न आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा त्यहाँ भइरहेको निर्माण कार्य सम्बन्धमा विभिन्न मिडियाहरुले प्रश्न उठाएको भन्दै सो बारे स्पष्टिकरण दिइएको थियो । 

दोक्लममा भारतीय सेना प्रवेश गरेपछि चीन र भारतबीच चर्काे तनाव भएको थियो । सो अवधीमा भूटानी विदेश मन्त्रालयले एउटा पनि विज्ञप्ति जारी गरेको थिएन, कुनै धारणा सार्वजनिक गरेको थिएन । 

चीनियाँ अतिक्रमणले पीडित भएको ठानिरहेको भूटान तब झन अप्ठेरोमा पर्यो जब भारतले आफ्नो सेना युद्धकालमा जसरी भूटानमा परिचालन गर्यो । भारतीय सेनाको तैनाथीले भूटानको सार्वभौमिकताको धज्जी उडाएको थियो । त्यसो त वर्षाैंदेखि भूटानमा भारतीय सैनिक मिसन रहँदै आएको छ । 

दोक्लम विवाद हालका लागि स्थगित भएपछि निस्सासिएको भूटानले श्वास फेर्न थालेको संकेत भूटानी विदेश मन्त्रालयको विज्ञप्तिले गरेको छ । यद्यपि, भूटानमा भारतीय सेना भने यथावत रुपमा तैनाथ रहेको छ । 

प्रतिकृया दिनुहोस