आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

नेपालले पानी छाडेर बाढी ल्याएको भारतीय हावादारी दावी

आठैप्रहर संवाददाता - |

नेपालबारे भारतीय मिडियामा निकै अनौठा र आश्चर्यजनक समाचार आउने गरेका छन् । त्यस्ता अधिकांश समाचार शतप्रतिशत मनगढन्ते हुने गरेका छन् । गुप्तचर संस्थाहरुले दिएको सूचना भन्दै बनाइने त्यस्ता सनसनीपूर्ण समाचार कतिसम्म हावादारी हुन्छन् भन्ने पछिल्लो नमूना हिन्दूस्तान दैनिकको यो समाचारमा देख्न सकिन्छ । समाचार कति हावादारी छ भने यसको शीर्षकले नै बताउँछ ।

भारतको चर्चित हिन्दूस्तान अखबारले ‘बडा खुलासा’ भन्दै दिएको समाचारको शिर्षक नै यस्तो छ ‘चीन के इशारे पर नेपाल ने तीन गुना ज्यादा पानी छोड़ा बैराजों से’ । 

समाचारमा ‘डोक्लम विवादले बहुलाएको चीनले नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्लामा तबाही मच्चाउने षडयन्त्र गरेको’ दावी गरिएको छ । समाचार अत्यन्तै हावादारी छ, त्यसैले मनोरञ्जक छ । समाचारमा नेपालको व्यारेजबाट पानी छाडेर भारतमा बाढी ल्याइएको उल्लेख छ । कुन ब्यारेज भनेर चाहिँ समाचारमा खुलाइएको छैन । सामान्यतया ब्यारेज भन्दा कोशी ब्यारेजलाई बुझ्ने गरिएको छ। समाचारमा भन्न खोजिएको ब्यारेज कोशी हो कि कुन हो भन्ने यकिन चाहिँ छैन । 

समाचार कति उदेकलाग्दो छ भने नेपालले ब्यारेजबाट पोहोर साल दस लाख क्यूसेक पानी छाडेको थियो भने अहिले तीस लाख क्यूसेक पानी छाडिएको छ । यति पानी दुई महिनामा छाडिएको समाचारमा दावी गरिएको छ । दावी बिना आधार गरिएको छैन, इन्टेलिजेन्स ब्यूरो (आईबी) को हवाला दिइएको छ ।

भारतमा बाढी ल्याउने चिनियाँ षडयन्त्रका कारण भारतको एक हजार गाउँमा बाढी आएको दावी पनि समाचारमा गरिएको छ । रमाइलो त के छ भने यो समाचारको पुष्टि डीआईजी जीतेन्द्र प्रताप सिंहले गरेको पनि उल्लेख छ । 

तथ्य के हो भने कोशी व्यारेज होस् या गण्डक व्यारेज, अथवा महाकालीको शारदा र टनकपुर व्यारेज नेपालको नियन्त्रणमा छैन । ती व्यारेज भारतकै नियन्त्रणमा छ ।  भारतीय मिडियाहरु यति पनि जानकारी नराखी मनगढन्ते सनसनीपूर्ण समाचार बनाइरहेका छन् । 

भारतकै चर्चित जल तथा नदी विशेषज्ञ दिनेश मिश्रले फेसबुकमा भारतीय मिडियाहरुको अज्ञानको धज्जी उडाउँदै लेखेका छन्, ‘मैं तो कहते कहते तंग आ गया, कोई न्यूज़ चैनेल वालों को समझाए कि नेपाल कोई पानी नहीं छोड़ रहा है। छोड़ेगा वही जिसने पकड़ रखा होगा। कोसी , गंडक, कमला नदी पर जो बराज बनी है उसका संचालन बिहार जल संसाधन विभाग के इंजीनियर करते हैं और हम समझते हैं कि अगर कोई पानी छोड़ रहा है तो यही लोग उसके कर्ता(धर्ता हैं। यह काम बिना बिहार के जल संससाधन विभाग की मर्ज़ी और सहमति के नहीं हो सकता।’

भारतीय मिडियाहरुले नेपाल र चीनसँगको सम्बन्धलाई लिएर अत्यन्तै मनगढन्ते र हावादारी समाचार दिने गरेका छन् । खासगरी भारतमा आउने बाढी र नेपालका मधेसी समुदायका बारेमा भारतीय मिडियाले झुठैझुठ र सनसनीपूर्ण समाचार दिने गरेका छन् । त्यस्तै समाचार मध्ये एउटा हो हिन्दूस्तानले दिएको समाचार । 

प्रतिकृया दिनुहोस