आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

हिन्दूस्तानका मनोरञ्जक बाबाका अनुयायीले देखाए रक्तरञ्जित ताण्डब 

अन्तराष्ट्रिय डेस्क - |

तस्विर एनडिटिभी

हिजो मानवशास्त्री सुरेश ढकालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मलाई ‘महान हिन्दूस्तान’ को मन पर्ने एउटा कुरा जोगी बाबाहरुको चमत्कार पनि हो । सधैं तिनले भरपुर मनोरञ्जन दिनेगरेका छन् ।’

तर, हिजो ती बाबामध्ये एक गुरमित रामरहिम सिंहका समर्थकहरुले भारतमा मनोरञ्जन होइन, रक्तरञ्जित ताण्डब नै देखाए । जसका कारण ३० जनाको ज्यान गयो भने २५० भन्दा बढि घाइते भएका छन् । भारतको हरियाणा, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, राजस्थानमा उनीहरुले मच्चाएको ताण्डबका कारण सयौं गाडी जले । सरकारी कार्यालयमा आगो लाग्यो । अर्बाैंको सम्पति नष्ट भयो । राज्य प्रहरी, केन्द्रीय प्रहरी सिआरपिएफ र अर्ध सैनिक बलले स्थिति नियन्त्रण गर्न नसकेपछि सेना प्रयोग गर्नुपर्यो । 

‘डेरा सच्चा सौदा’ नामको धार्मिक समूहका प्रमुख रामरहिममाथि हिजो हरियाणाको पञ्चकुलामा रहेको एउटा अदालतले १५ वर्षअघि आफ्नै आश्रममा बस्ने महिला अनुयायीलाई बलात्कार गरेको फैशला दिएको विरोधमा ती सबै ताण्डब भएका थिए । त्यही फैशला आउने आशंकामा विरोध प्रदर्शन गर्ने उदेश्यका साथ उनका हजारौं समर्थकहरु त्यहाँ तीन दिनदेखि जम्मा भएका थिए । उनीहरु रामरहिमले बलात्कार गरेको कुनै हालतमा मान्न तयार थिएनन् र यो प्रकरणमा आफ्ना गुरुलाई नियतवश फसाइएको उनीहरुको विश्वास थियो । 

झण्डै ५ हजार करोड भारतीय रुपैयाको सम्पति थुपारेका रामरहिमको बसाई, हिडाई, भेषभुषा आम मानिसका लागि मनोरञ्जन दिने प्रकारकै थियो । आफैंले बनाएका केही सिनेमामा उनले अभिनय गरेका छन्, म्युजिक भिडियोमा खेलेका छन्, रक स्टार जस्तो भेषभुषमा देखिन्थे । अनि, स्विमिङपूल, होटल, साध्वी भनिने सयौं कन्याहरुसहितको हरियाणाको सिरसामा रहेको आश्रममा बस्थे । हिजो सिरसाबाट पञ्चकुला अदालतमा जाँदा सयौं गाडीको लश्करसहित उनी जानुले नै देखाएको थियो, उनको शान, उनका अनुयायीको अन्धभक्ति र राज्यशक्तिलाई चुनौति दिने उनको प्रयास ।

आश्रममा बस्ने महिला अनुयायीहरुमाथि हुने गरेको यौन शोषणको एक अनुयायीले तत्कालिन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई गोप्य पत्र पठाएर बाहिर ल्याएकि थिइन् । जसलाई त्यति बेलै, ‘पूरा सच’ नामको पत्रिकामा पत्रकार रामचन्द्र छत्रपतिले छपाएका थिए । त्यसपछि उनीमाथि बीच शहरमै आक्रमण भएको र उपचारको क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनलाई बलात्कारको आरोप दुई महिला अनुयायीले लगाएको अनुमानमा ती महिलाका दाजुको हत्या पनि भयो । तर, ती सबै घटनामा उनी राजनीतिक प्रभाव र आर्थिक बलका कारण बचिरहे । 

यी सबै अभियोग लाग्दा पनि लाखौं अन्धभक्तहरुको भिड भएका रामरहिमको शक्ति केही दिनसम्म अघिसम्म देखिदैथियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई आफ्नो सफाई अभियानमा उल्लेख्य योगदान पुरयाएको भन्दै सम्मान गरेका थिए । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरसँग त उनको मित्रता नै थियो । २०१४ मा भएको भारतको लोकसभा चुनावमा रामरहिमले आफ्ना समर्थकलाई भारतीय जनता पार्टीलाई मत दिन सार्वजनिक आह्वान गरेका थिए । त्यसपछि भएका प्रदेशका चुनावमा पनि रामरहिमको धार्मिक समूहको मत भारतीय जनता पार्टीलाई नै परेको थियो । आफ्नो जितमा रामरहिमको योगदान रहेकाले हिजोको अदालतको फैशला आउनुअघिसम्म सत्तारुढ भारतीय जनता पार्टी र त्यसका नेताहरु उनीसँग नरम थिए । यसैले हिजोको उपद्रबमा भारतीय जनता पार्टी र त्यसको केन्द्र र राज्य सरकारको नरमपनको योगदान रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

दुई वर्षअघि बलात्कारको अभियोगमा अदालतको फैशला आएपछि पनि नटेरेका कारण हरियाणाका यस्तै बाबा रामपाललाई पक्राउ गर्न प्रहरीले ठूलै अप्रेशन गर्नुपरेको थियो । त्यसअघि, यस्तै अभियोग लागेका बाबा आशाराम र उनका छोरा नित्यानन्दलाई पक्राउ गर्न भारतीय सरकारले निकै ठूलो प्रयास गर्नुपरेको थियो ।  हिजो नै पनि अदालतको फैशलापछि पक्राउ गरिएका रामरहिमलाई प्रहरीले रोहतकमा उनलाई राख्न बनाइएको अस्थायी जेलमा सडकमार्गबाट लैजान नसकेर हेलिकप्टरबाट लगेको थियो । 

हिजो रामरहिमका समर्थकले ठूलो ताण्डब मच्चाएपछि हरियाणा पञ्जाब उच्च अदालतले हिंशामा मच्चाएको क्षति ‘डेरा सच्चा सौदा’ को सम्पतिबाटै भरपाई गर्न आदेश दिएको छ । यसले रामरहिमको हजारौं करोडको सम्पति जफत हुने भएको छ । उता, रामरहिमलाई कति वर्ष जेल सजाय हुन्छ भन्ने टुङ्गो सोमबार पञ्चकुलाको अदालतले बहशपछि फैशला गर्नेछ । यसरी, एउटा मनोरञ्जक बाबाको शान, सम्पतिको अन्त्य भएको अर्काे मनोरञ्जक दृष्य देखिनेछ ।      

प्रतिकृया दिनुहोस