आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

धार्मिक अन्धता उदाङ्गो बनाएको भारतको रामरहिम काण्ड

आठैप्रहर संवाददाता - |

हिन्दू धर्म अन्तरगतको एउटा पन्थ मानिने ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरुमित रामरहिमले सन् २००२ मा आफ्नै दुई अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा आज भारतको हरियाणाको एउटा विशेष अदालतमा फैशला हुँदै गर्दाको हंगामा अचम्म लाग्दो देखिएको छ । उनीबारे मुद्धा चलेको अदालत रहेको स्थान पञ्चकुलामा सेनासमेत परिचालन गरिएको छ । हिजोदेखि ४ जनाभन्दा बढि जम्मा हुन नपाउनेगरी धारा १४४ लागू गरिएको छ भने शान्तिव्यवस्था बिग्रने सम्भावनाका कारण विद्यालयसमेत हिजो र आजका लागि बन्द गरिएको छ । अदालतबाट प्रतिकूल फैशला आए हिंशा मच्चाउन हिजोदेखि राम रहिमका हजारौं समर्थक लाठी, तरवारलगायत घरेलु हतियारसहित पञ्चकुलामा तैनाथ भएकाले त्यहाँको सरकारले यी बन्दोबस्त गरेको हो ।

यो सबै परिस्थितिले विश्व शक्ति बन्दै गरेको भनिएको भारतमा बढ्दैगरेको धार्मिक अन्धता र त्यहाँको समाजको चेतना स्तर नराम्रोसँग उदाङ्गो पारेको छ । 

सन् १९८४ मा स्थापना भएको त्यो पन्थका राम रहिम दोश्रो प्रमुख हुन् । यसका अनुयायी संसारभरी झण्डै ६ करोड रहेको मानिन्छ । र, हरियाणा, पञ्जाब र चन्डिगढमा मात्रै यो पन्थका समर्थक झण्डै एक करोड मतदाता रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । यो पन्थले पछिल्ला चुनाबहरुमा हालको सत्तारुढ भारतीय जनता पार्टीलाई मत दिन ह्विप लगाएको पनि उल्लेख्य छ । 

यसअघि, यस्तै धार्मिक गुरुहरु आशाराम बापू र रामपाललाई कानुनी कारवाहीबाट जोगाउन उनका समर्थकहरुले ठूलो हिंशा मच्चाएका थिए । रामपाललाई प्रहरीको पक्राउबाट जोगाउन भएको हिंशामा केही नेपालीहरुसमेत पक्राउ परेका थिए । 

भारतमा भारतीय जनता पार्टी सत्तारुढ भएपछि धार्मिक अन्धता र असहिष्णुता बढेको बिपक्षीहरुले आरोप लगाउँदै आएका छन् । सत्तारुढ दलका कार्यकर्ताहरुबाट ‘गाई वचाउ’ जस्ता अभियान चलाएर पृथक धार्मिक आस्थावानहरुमाथि हिंशा मच्चाएको धेरै घटनाहरु सार्वजनिक भइसकेका छन् । यो सन्दर्भमा आज भारतमा राम रहिमका समर्थकहरुले मच्चाएको हंगामालाई भारतमै अचम्म मानिएको छ । 

‘बाबाले हामीलाई दानवबाट मानव बनाए’ भन्दै अहिले राम रहिमको निवाश सिरसादेखि पञ्चकुलासम्मको २५० किलोमिटर दुरीसम्मको सडक छेउमा समर्थक रोईकराई गरिरहेका छन् । उनी बिहान साढे ८ बजे सिरसाबाट सयौं गाडीको लस्करसहित पञ्चकुला लागेका छन् । पञ्चकुलामा त हिजोदेखि नै हजारौं समर्थक डटेकै छन्, सिरसाबाट पनि हजारौं समर्थक पञ्चकुला जाने प्रयासमा छन् । 

भारतका अनेकौं रुप रंगका धार्मिक गुरुमध्ये राम रहिम अनौठा र आधुनिक मानिन्छन् । आफै अभिनेता बनेर उनले आधा दर्जन सिनेमा पनि निर्माण गरेका छन् भने कयौं म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।      

प्रतिकृया दिनुहोस