आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

यस्तो छ देउवाको भारत भ्रमणतालिका 

आठैप्रहर संवाददाता - |

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतको पाँच दिवसीय राजकीय भ्रमणमा नयाँ दिल्ली लागेका छन्। 

भारतीय प्रम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन्। 

देउवाले आज नयाँ दिल्लीमा राष्ट्रपति भवनमा केहीबेर विश्राम गरेपछि नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । 

त्यसपछि भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

भोली बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका परराष्ट्रमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन् भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ। 

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन् भने नेपाल–भारत प्रसारण लाइनको स्विच थिचेर शुभारम्भ गर्ने कार्यक्रम छ। 

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन्। 

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। 

देउवाको भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उनी ११ गते स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस