आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

धरहराको टुप्पाबाट फोटो खिच्दाको त्यो क्षण

किशोर श्रेष्ठ - |

धरहराको फोटो धेरै खिचेको छु तर धरहराको टुप्पाबाट फोटो खिच्न पाएको थिइन । त्यसरी फोटो खिच्ने रहर गर्दा अनौठो अनुभव गर्न परेको छ । 

म सुन्दरतालाई फोकस गरेर फोटो खिच्छु । फोटोमा सुन्दरता झल्कने विम्ब खोज्छु । धरहराको टुप्पाबाट झिलीमिली र सुन्दर फोटो खिच्ने विचार गरें तर खिच्ने कसरी ? त्यसबेला धरहरा बन्द थियो, कोही चढ्न पाउँदैनथे । पछि धरहरा सर्वसाधारणका लागि खुला गरियो । त्यसपछि म पनि धरहरा चढें । फोटो खिच्न थालें । 

मैले भने अनुसारको फोटो खिच्न सकिन । सकिन के भन्नु ? मैले चाहे अनुसारको फोटो खिच्न पाइन । म चाहन्थें सुन्दर र झिलीमिली काठमाडौंको फोटो तर दिउँसो खिच्दा सर्वत्र फोहोर र लथालिंग फोटो मात्र आउने । काठमाडौं फोहोर छ भन्ने सबैलाई थाहा छ तर त्यो फोहोर हटाएर सुन्दर काठमाडौं बनाउन सकिन्छ भन्ने सन्देश दिने खालको फोटो खिच्न चाहन्थें । 

यसै बीच मलाई एउटा झड्का लाग्यो । धरहरा बन्द भयो । धरहराबाट हाम्फालेर कोही मानिसले आत्महत्या गरेछ । त्यसपछि धरहरा बन्द भयो । धरहरासँगै धरहराको टुप्पाबाट झिलीमिली काठमाडौंको फोटो खिच्ने मेरो रहरले पनि आत्महत्या गरे सरह भयो । 

तर मैले मेरो रहरको असामयिक मृत्यु हुन दिइनँ । एक दिन अवश्य धरहरा खुल्छ भन्ने विश्वाश म भित्र थियो । नभन्दै केही महिना पछि पुन धरहरा खुल्यो ।

म धरहरा गएँ ।

साँझ र राति फोटो खिच्दा पनि झिलीमिली काठमाडौं फोटोमा उतार्न सकिनँ । किनभने त्यसबेला लोडसेडिङ हुन्थ्यो । कुनै एउटा भागमा लोडसेडिङ नभएर झिलीमिली हुँदा अर्काे भाग चाहिँ लोडसेडिङले पूरै अन्धकार हुन्थ्यो । अहँ, मैले झिलीमिली काठमाडौंको फोटो कसै गर्दा पनि खिच्न सकिनँ ।

धरहरा बाहेक अरु कुनै अग्लो विल्डिङको छतबाट पनि फोटो खिच्न सकिन्थ्यो होला तर धरहराको टुप्पाबाट फोटो खिच्नु र कुनै अग्लो भवनको छतबाट फोटो खिच्नुमा आकाश पातालको फरक छ । धरहरा भनेको धरहरा हो । धरहराबाट खिचिएको फोटोले खास भावना बोक्छ, फोटोलाई इतिहाससँग पनि जोडिदिन्छ ।

ऐतिहासिक धरहराको टुप्पाबाट झिलीमिली काठमाडौंको फोटो उतार्ने सपना अधुरै रह्यो । तर म भित्र छटपटि थियो । मेरो छटपटिले उपाय खोजिरहेको थियो । मैले पत्ता लगाएँ, धरहराको टुप्पाबाट झिलीमिली काठमाडौंको फोटो खिच्न सकिने दिन एउटा मात्र छ । त्यो दिन हो तिहारको लक्ष्मीपूजा । त्यो दिन काठमाडौंमा सकभर लोडसेडिङ हुँदैन । सर्वत्र झिलीमिली हुन्छ । 

मैले उपाय पत्ता लगाएँ तर अर्काे समस्या आइलाग्यो । रातिको समय धरहरा बन्द भइसक्थ्यो । मैले धरहरा ठेक्कामा लिएका सञ्चालकहरुसँग सम्पर्क गरें । आफ्नो चाहना बताएँ, समस्या पनि बताएँ । एउटा फोटो खिच्नका लागि राति धरहरा खोलिदिनुपर्ने भयो । यो काम उनीहरुका लागि पनि सजिलो थिएन । 

तर, मेरो फोटोग्राफीको व्यावसायिक पृष्ठभूमी र मेरो उत्कट चाहना देखेर उनीहरुले नाईं भन्न सकेनन् । लक्ष्मी पूजाको राति मेरो लागि धरहरा खोल्ने व्यवस्था भयो । राति म धरहराको भर्याङ उक्लन थालें । जति जति भर्याङ चढ्दै म माथि जान्थें, मेरो श्वाश बढ्दै थियो । भर्याङ चढेर श्वाश बढेको थिएन, म माथि नपुग्दै झ्याप्पै विजुली जान्छ कि भन्ने चिन्ताले श्वाश बढेको थियो । 

म माथि पुगें । 

साँच्चै झिलीमिली र सुन्दर देखियो काठमाडौं । काठमाडौं सधैं यस्तै झिलीमिली हुनुपर्छ, दिउँसोको फोहोरमय काठमाडौं होइन रातमा विजुलीको प्रकाशमा जग्मगाएको जस्तो काठमाडौं हुनुपर्छ । यही सोंच्दै क्लिक गर्न थालें । जति क्लिक गरे पनि हात थाकेन, मन अघाएन । 

लक्ष्मीपूजाको त्यो रातको असंख्य क्लिकमध्ये एउटा क्लिक हो धरहराको टुप्पाबाट खिचिएको यो फोटो । 

अहिले धरहरा पनि छैन लोडसेडिङ पनि छैन तर मेरो यो फाटो चाहिँ छ ।

( फोटो पत्रकार किशोर श्रेष्ठले काठमाडौंको भृकुटीमण्डपमा चलेको पुस्तक प्रदर्शनीमा आफ्ना फोटो प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा राखिएको एक फोटोका बारेमा उनीसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री । )

प्रतिकृया दिनुहोस