आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

चिनियाँ उपप्रम वाङ याङ को हुन् र कति शक्तिशाली छन् ?

अन्तराष्ट्रिय डेस्क - |

अहिले नेपाल भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री वाङ याङलाई चिनियाँ राष्ट्रपति सि जिन पिङको प्रतिनिधि भनिएको छ । उनले नेपालमा जारी भेटहरुमा चिनियाँ राष्ट्रपतिको सन्देश सुनाएकाले त्यसो भन्नु स्वभाविक पनि हो । नेपालमा चिनियाँ नेता र अधिकारीबारे कमै जानकारी हुने तथा उपप्रधानमन्त्री पद कत्रो हो भन्ने पनि कमैलाई जानकारी हुने भएकाले एक पटक उनीबारे जानकारी लिउँ । 

१२ मार्च १९५५ मा सामान्य शहरी कामदार परिवारमा जन्मिएका वाङ अहिले कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य छन् । यो चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा शक्तिशाली ७ सदस्यीय स्थायी समितिभन्दा एक तह तलको संरचना हो । यही वर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले उनलाई स्थायी समितिमा निर्वाचित गर्ने बताइएको छ । यस हिसाबले उनी चीनमा अहिले शक्तिशाली नेतामा पर्छन् । 

तर, राष्ट्रपति सि र प्रधानमन्त्री लि कछ्याङको दोश्रो कार्यकालको अन्त्यपछि प्रमुख पदमा भने उनी पुग्ने देखिन्न । किनभने, प्रमुख कार्यकारी पदहरुमा ६० वर्र्षभन्दा कमकालाई लग्ने प्रचलन पछिल्लो समयदेखि चलाइएको छ । तर, उनी कम्युनिष्ट पार्टीको ७ सदस्यीय स्थायी समितिमा कम्तिमा पाँच वर्ष भने रहनेछन् । स्थायी समितिमा रहनु भनेको चिनको सबैभन्दा शक्तिशाली संयन्त्रमा रहनु हो । 

१९७५ मा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका वाङ २००५ देखि २००७ सम्म चुङकिङ महानगरको कम्युनिष्ट पार्टीको सचिव थिए । चुङकिङ त्यही शहर हो जहाँ उनीपछि बनेका कम्युनिष्ट पार्टीका सचिव बो सिलाईले माओवादलाई पुनरावृत गरेको चर्चा चलेको थियोे र शक्तिको दुरुपयोग गरेकोलगायत बिभिन्न आरोपमा दुई वर्षअघि उनी कारवाहीमा परेर अहिले पनि थुनामा छन् ।   

२००७ मा उनी ग्वाङडोङ प्रान्तको कम्युनिष्ट पार्टीको सचिव बने तथा पोलिटब्यूरोमा प्रवेश गरे । त्यहाँ उनले सुधारकर्ताको बलियो छवि प्रस्तुत गरे । उनी २०१३ देखि उपप्रधानमन्त्री छन् । 

वाङलाई चिनियाँ सत्ताको दुई खेमामा सुधारवादी पक्षधर मानिन्छ । अर्थात, वर्तमान राष्ट्रपति सि पक्षधर नभएर प्रधानमन्त्री लि पक्षधर । तर, माओको निधनपछि चिनियाँ राजनीतिमा शक्तिशाली नेता बनेका दङ सियाओ पिङले दुई पक्षबीच सहकार्य—प्रतिस्पर्धा—सहकार्यको सिद्धान्त अनुसार सत्ता साझेदारी गर्ने प्रचलन चलाए अनुसार, आमरुपमा प्रमुख पदहरु बाढिन्छ । त्यसै अनुसार, परम्परावादी अर्थात बेजिङ समूहका जियाङ जेमिनको राष्ट्रपतित्वपछि अर्काे पक्ष अर्थात संघाई समूहका हु जिन्ताओ राष्ट्रपति बने । वर्तमान राष्ट्रपति सि जिन पिङलाई जियाङ जेमिन समूहका मानिन्छ भने प्रधानमन्त्री लिलाई निवर्तमान राष्ट्रपति हु जिन्ताओ पक्षधर ।  

प्रतिकृया दिनुहोस