आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

मोरङका सहकारीमा अर्बाैंको कारोवार 

चीना थापा - |

मोरङमा सञ्चालित सहकारीले यो बर्ष साढे २६ अर्ब रुपैयाँ बढिको कारोबार गरेका छन् । डिभिजन सहकारी कार्यालय मोरङले दिएको जानकारी अनुसार, सहकारीहरुले २६ अर्व ४१ करोड ५६ लाख ४७ हजार ६३ रुपैयाँको कारोबार गरेकोमा ८ अर्ब ४८ करोड ४७ लाख ३५ हजार ७ सय ५६ रुपैया निक्षेप (बचत) संकलन पनि गरेका छन् ।

मोरङका १ हजार ९९ वटा सहकारीको कुल शेयर पुँजी २ अर्ब ३८ करोड ८७ लाख ६५ हजार ३ सय ९४ रुपैया पुगेको छ भने लगानी १० अर्ब ७० करोड ४४ लाख ९१ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।

त्यसैगरी जिल्लामा सञ्चालित सहकारीहरुको कोष हिसाब १ अर्ब १२ करोड ५२ लाख ५३ हजार ३४ रुपैया रहेको छ भने नगद मौज्दात २१ करोड ८२ लाख ७८ हजार ५ सय ४६ रुपैयाँ रहेको छ । त्यस्तै बैंक मौज्दात २ अर्ब ५३ करोड ७३ लाख ९६ हजार ५ सय २७ रुपैयाँ रहेको छ भने लगानी हिसाब ३६ करोड ७५ लाख २१ हजार ३ सय १७ रुपैयाँ रहेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङका सहकारी अधिकृत गोपी प्रसाद घिमिरेका अनुसार सञ्चालित सहकारीको सम्पति ९९ करोड २० लाख ४२ हजार ४ सय ५२ रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब ३५ करोड ३७ लाख २७ हजार ८ सय ४९ रुपैयाँ रहेको छ । कुल खर्च २ अर्ब १४ करोड ४१ लाख ८३ हजार १९ रुपैया रहेको छ भने नाफा नोक्सान रकम ३३ करोड ९३ लाख  ९ हजार ५ सय ३० रुपैया रहेको घिमिरेले जानकारी दिए ।

जिल्लामा सञ्चालित सबै सहकारीमा ३ लाख १५ हजार ५४५ जना शेयर सदस्य रहेका छन् । जसमा १ लाख ३६ हजार ३३३ पुरुष रहेका छन् भने १ लाख ७९ हजार १६२ महिला रहेका छन् । सहकारीहरुले २ हजार ३२२ जनाले प्रत्यक्ष रोजगारी दिएका छन् । रोजगारी पाउनेमा १ हजार १२६ जना पुरुष र १ हजार १९६ जना महिला रहेका छन् । 

जिल्लाका सहकारीमा ९ हजार ११० जना संचालक रहेकामा ५ हजार ६३० जना पुरुष र ३ हजार ४८० जना महिला छन् । जिल्लामा महिलाले मात्र सञ्चालन गरेका सहकारी १ सय ११ वटा रहेको डिभिजन सहकारीले जनाएको छ ।

जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका १ हजार ९९ वटा सहकारीमा बचत तथा ऋण सहकारी ६०२, बहुउदेश्यीय सहकारी १४३, कृषि २३५, दुग्ध २३, उपभोक्ता ५, चिया कफी १, जडीबुटी ९, तरकारी तथा फलफुल १२, विधुत ३, मौरीपालन ३, शिक्षा १, संचार ४, स्वास्थ्य ३ र अन्य ४७ रहेका छन् । जिल्लामा ८ वटा संघ संचालनमा छन् । 

९३ वटा सहकारी निस्क्रिय

जिल्लामा ९३ वटा सहकारी निस्क्रिय रहेका डिभिजन सहकारीले जनाएको छ । तर तिनलाई खारेजी भने नगरेको डिभिजनले जानकारी दिएको छ । जिल्लाका निस्क्रिय सहकारीलाई खारेजी गर्ने भनी डिभिजनले सूचना निकालेपछि केही सहकारीका संचालकहरुले सहकारीलाई सक्रिय बनाउने भनेकाले खारेज नगरिएको सहकारी अधिकृत गोपि प्रसाद घिमिरेले जानकारी दिए । 

सो सूचना पश्चात पनि सञ्चालनमा नआएका निस्क्रिय सहकारीलाई खारेज गर्ने घिमिरेको भनाई छ । जिल्लामा सक्रिय रहेका सबै सहकारी नियम अनुसार नै सञ्चालन भएको उनले बताए । 

सहकारी विवरण अब अनलाईनमा

डिभिजन सहकारी कार्यालय मोरङले विगत दुई महिनादेखि सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस कार्यक्रम) लागु गरेको छ । यो कार्यक्रम सञ्चालन भएसँगै अब जिल्लामा सञ्चालित सबै सहकारीहरुले आफ्नो गतिविधि अनलाईनमा राख्न सक्ने छन् । सहकारीहरुले डिभिजन कार्यालयमा आएर रिपोर्ट बुझाउनुपर्ने बाध्यता हट्ने छ । सहकारीले मासिक रुपमा आफ्ना रिपोर्ट अनलाईनमा अपडेढ गर्र्नु पर्ने डिभिजन कार्यालयले जनाएको छ ।

अहिलेसम्म ४२ वटा सहकारीले अनलाईन सेवा लिएर आफ्ना गतिविधि अनलाईनमा नै अपडेट गरिरहेको कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालिन सबै सहकारीमा अनलाईन सेवा पुर्याईने डिभिजनका सहकारी अधिकृत गोपी प्रसाद घिमिरेले बताए । उनका अनुसार अनलाईनको पासर्वड सहकारीलाई प्रदान गरिने छ र सहकारीले आफ्नै आईडी बनाएर अपडेट गर्नुपर्ने हुन्छ । 

प्रतिकृया दिनुहोस