आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

चुनाव भाड्न बिप्लवको पार्टी फेरी जुट्यो

आठैप्रहर संवाददाता - |

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन र प्रदेश चुनावको भाँडन योजना बनाएको बताएको छ । साउन ९ देखि १३ सम्म काठमाडौंमा भएको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो योजना बनाएको प्रवक्ता खड्गबहादुर बिक प्रकाण्डले बताए । 

चन्दको अध्यक्षतामा बसेको बैठकले चुनाव बहिष्कारका क्रममा मारिएका कार्यकर्ताहरु धनरूप बटाला र सनराइज (चन्द्रबहादुर सिंह) श्रद्धाञ्जली दिएको थियो । बैठकले उनीहरुको परिवारसहित घाइते कार्यकर्तालाई राहतस्वरूप आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ ।  

बैठकमा चन्दले ‘चुनाव खारेजीको समीक्षा र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई चार दिन छलफल गरेर पारित गरियो । बैठकले नारायणी नदीपूर्व र पश्चिम गरी देशलाई दुई कमान्डमा विभाजित गरी पूर्वी कमान्डको नेतृत्व हेमन्तप्रकाश वली ‘सुदर्शन’ र पश्चिम कमान्डको जिम्मेवारी सन्तोष बुढा मगरलाई दिएको छ । विद्यार्थी मोर्चाको राष्ट्रिय सम्मेलन दसैं र तिहारको बीचमा गर्ने, विद्यार्थी मोर्चाको ३० बर्से हदम्याद राख्ने र सम्पूर्ण केन्द्रीय सदस्यलाई विद्यार्थी मोर्चाबाट अन्यत्र जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले पार्टीको प्रकाशन विभागमा रहेका कुनै पनि सदस्यले निजी प्रकाशन, प्रसारणमा संलग्न हुन नपाउने निर्णय गरेको छ । उनीहरूले पार्टी प्रकाशन वा निजीमध्ये एउटा रोज्नुपर्नेछ । सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजीमा पढाउने, सरकारी निकायले निजी व्यवसाय गर्ने, सरकारी डाक्टरले निजी क्लिनिकमा काम गर्ने, पार्टी प्रकाशन निजी पत्रिका चलाउने जस्ता विकृतिमाथि प्रहार गर्न यो निर्णय गरिएको बताइएको छ ।  बैठकले सांस्कृतिक अभियान, नमूना निर्माण कार्य, शिवगढीमा सहिद स्मारक निर्माण, सहिद सनराइज खेलकूद मैदान निर्माण गर्ने, सहिद कोष निर्माण, दोरम्बा स्मृति दिवस, रामवृक्ष यादव स्मृति दिवस, वासु स्मृति दिवस र साउन २८ गते सहिद सनराइज स्मृति दिवस देशभरि मनाउने निर्णय पनि गरेको छ । 

प्रतिकृया दिनुहोस