आज : Sunday, February 17, 2019 | २०७५ फाल्गुण ५ आइतबार

आँधीको यात्रा...

चन्द्र रानाहँछा - |

चन्द्र रानाहँछा 

 

हातमा सपनाको फूल  
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु आँधीको यात्रा...।

सखारैदेखि 
मेरो विदाइमा 
गाइरहेछन् चराहरु 
सुसाइरहेछ खोला 
भुर्भुराइरहेछ आगो...। 

मलाई लिन 
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै 
आउनेछ आँधी । 
कतै अल्मिलिएला भनी बाटो देखाउन 
मुस्कुराउँदै उदाउनेछ जून  । 

म हिँडेपछि– 
गृहकार्य गरिरहेकी छोरीलाई 
सोध्नेछन् अक्षरहरुले  
जीवनको सौन्दर्य ।  

एक्लै खेलिरहेको छोरालाई  
टक्क रोकिएर बतासले  
सोध्नेछ समय । 

साँझपख  
आँशु पुछिरहेकी मेरी प्रियतमालाई  
जलिरहेको मैनबत्तीले  
बुझाउनेछ प्रेमको अर्थ । 

जुनबेला म– 
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङ्लाई सम्झाउन  
सद्भावको गीत गाउँदै  
छोइसक्नेछु आकाशलाई ।  

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न  
उज्यालोको लौरो टेक्दै  
पुगिसक्नेछु क्षितिजमा । 

मसँग– 
मेरो हत्केला जो छ  
मुठी कस्दा  पृथ्वी बन्छ  
मुठी खोल्दा आकाश बन्छ । 

आमा ! 
यै हत्केलामा कोरिएको बाटोले 
र्डोयाउँदै एकदिन – 
ल्याइर्पुयाउनेछ मलाई तिम्रो काखमा ।

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम भएको कविता । प्रथम खोटाङका चन्द्र रानाहँछाको यो कविता भयो । प्रथम हुनेलाई रु ३० हजार नगद पुरस्कार दिइन्छ । 

प्रतिकृया दिनुहोस