आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

अत्याचारको भिडियो र फोटो सार्वजनिक भएपछि इन्टरनेट काटियाे

आठैप्रहर संवाददाता - |

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलन दबाउन भारत सरकारले दार्जिलिड क्षेत्रमा इन्टरनेट काटिदिएपछि त्यसको विश्वव्यापी विरोध भइरहेको छ । विश्वमा लोकतान्त्रिक मुलुकमा नागरिकको आन्दोलन दबाउन इन्टरनेट काट्ने काम विरलै मात्र हुने गरेको छ ।

भारतले काश्मिरमा पनि बेलाबखत इन्टरनेट काट्दै आएको छ । काश्मिरमा चलिरहेको पृथकतावादी आन्दोलन हो र त्यहाँ सशश्त्र हिंसा हुने गरेको छ । त्यस विपरित दार्जिलिडमा शान्तिपूर्ण आन्दोलन भइरहेको हो । शान्तिपूर्ण आन्दोलन दबाउन भारत सरकारले सेना र हतियार मात्र प्रयोग गरिरहेको छैन, इन्टरनेट समेत काटिदिएको हो ।

इन्टरनेटमा आधारित सामाजिक संजाल फेसबुक, भाइबर, ट्विटर, व्हाट्स एप लगायतमा दार्जिलिडवासीले विचार र सूचना लेख्न थालेपछि इन्टरनेटमै काटिएको हो । इन्टरनेट काट्नु अभिव्यक्ति स्वतन्त्रताको खिलाफ हो भन्दै विश्वका विभिन्न संघसंस्थाहरुले विरोध गरिरहेका छन् । तर, भारत सरकारले भने अहिलेसम्म इन्टरनेट काटिएको औपचारिक रुपमा पुष्टि गरेको छैन ।

आन्दोलनमा भारत सरकारले गरिरहेको प्रहरी दमन तथा अत्याचारको भिडियो तथा फोटो इन्टरनेट मार्फत विश्वव्यापी बनेको थियो । जसले गर्दा भारत सरकारले गरिरहेको मानवअधिकार उल्लंघन विश्वव्यापी रुपमा उजागर बनेको थियो । दमनको भिडियो र फोटोहरु सार्वजनिक नहोस् भनेर सरकारले इन्टरनेट काटेको बताइएको छ ।

दार्जिलिडमा आन्दोलन चर्कंदै गएको बेला पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी भने विदेश भ्रमणमा निस्किएकी छिन् ।

प्रतिकृया दिनुहोस