आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

भोलिदेखि डिजिटल टिभी अनिवार्य, के होला केवलको अवस्था ?

आठैप्रहर संवाददाता |

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले यही वैशाख १५ (भोलि) देखि केवल टेलिभिजन प्रसारकहरूलाई एनालग सिस्टमबाट डिजिटलमा जान स्मरण गराएको छ । मन्त्रालयले काठमाडौं उपत्यकासहित ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरमा पहिलो चरणमा केवल टिभीलाई डिजिटलमा लैजान लागेको हो ।

सरकारले वैशाख १५ देखि डिजिटल टिभी अनिवार्य गरे पनि सबै सेवा प्रदायक यसका लागि तयार भइसकेका छन् । केही सेवा प्रदायकले १५ गतेबाट एनालग टेलिभिजन बन्द हुने विज्ञापन प्रशारण गरिरहेका भए पनि कतिपयले न ग्राहकलाई त्यसबारे जानकारी गराएका छन्, न त आफ्नो तर्फबाट तयारी गरेका छन् । 

सञ्चार मन्त्रालयले पनि १५ गतेबाट सबै केवल टेलिभिजन डिजिटल प्रविधिमा गइनहाल्ने बताउँदै आएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एनालग सिग्नल प्रदायकलाई डिजिटल प्रविधिमा जान चाहे वैशाख १५ गतेभित्र निःशुल्क डिजिटल प्रविधिमा जान सक्ने तर त्यसपछि भने कर छुट र भन्सारलगायत सुविधामा छुट नदिने भनेको बताए ।

डिजिटल टेलिभिजनको सेवा दिइरहेकाहरू भने मन्त्रालयले कुरा फेरेको आरोप लगाउँछन्  । डिस होमका महाप्रबन्धक कल्याण अधिकारीले डिजिटल प्रविधिको लोकप्रियता देखेर केही अत्तालिएको तर्क गरे । अहिले नेपालमा करिब ८ सय केवल टिभी रहेको र कतिपय दर्तासमेत नभई गैरकानुनी रूपमा चलिरहेको उनको दाबी छ । 

“डिजिटल प्रविधिमा आउँदा सरकार र ग्राहक दुवैलाई फाइदा हुन्छ । कतिपय एनालगमा रहेका केवल टेलिभिजनले ग्राहक संख्या लुकाएर राजस्व छली गर्दै आएका थिए । अब यो अवस्था रहँदैन,” उनले भने, “अरुले १० करोड राजस्व तिर्दा हामीले सोही अवधिमा एक अर्ब राजस्व तिरेका छौं ।” 
सञ्चार मन्त्रालयले एनालगमा रहँदा प्रविधिको पक्षमा पछि परेको भन्दै यसलाई ‘अपग्रेड’ गर्दै लैजाने योजनाअनुरूप यो कार्यक्रम ल्याइएको बताएको छ । 

प्रवक्ता ढकालले भने, “साविकका नगरपालिकामा यो कार्यक्रम ६ महिनाभित्र लागु गर्नुपर्छ । बाँकी क्षेत्रमा ०७५ वैशाख १५ गतेसम्म लागु गर्नुपर्नेछ । कसले सरकारले भनेको मान्दैन, त्यो १६ गतेबाट थाहा हुन्छ ।”

डिजिटल केवलमा गएपछि सरकारको करमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको ढकालले बताए । “अहिले नेपालमा करिब ७० लाख टेलिभिजन सेट छन् । तर, केवल अपरेटरले २० लाख पनि टेलिभिजन ग्राहक देखाउँदैनन्,” उनले भने, “डिजिटलमा गएपछि यसरी ग्राहक लुकाएर कर छल्ने अवस्था रहँदैन । मन्त्रालयमा बसेर हामी कति ग्राहक छन्, अनुगमन गर्न सक्छौं । कर छल्न कसैले पनि सक्दैन ।” 

मन्त्रालयले गरेको आग्रहसँगै केवल टेलिभिजनहरूले डिजिटलमा जाने प्रक्रिया सुरु गरेका छन् । केवल टेलिभिजन एसोसिएसनका अनुसार अहिले धेरै केवल टेलिभिजनहरू डिजिटल सिस्टममा जान सुरु गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस