करोडौं डलर तलब खान्छन्, चीनमा फुटबल खेलाडी

दोश्रो आर्थिक शक्ति बनेको चीनले फुटबल खेलमा पनि अघि बढ्न अहिले ठूलो लगानी गरिरहेको छ । ‘चाइना सुपर लिग’ का क्लबहरुले अहिले करोडौं डलर तिरेर नामी फुटबल खेलाडीहरुलाई भित्र्याउन थालेका छन् । युरोपका नामी क्लबमा खेलिसकेका खेलाडीहरुको अहिले चाइना सुपर लिग आकर्षक गन्तव्य बन्न थालेको छ ।

बेलायतको म्यानेचेस्टर युनाइटेडबाट खेलेका अर्जेन्टिनाका कार्लाेश टेभेज, बेलायतकै चेल्सीबाट खेलेका ब्राजिलका ओस्कार अहिले चाइना सुपर लिगको क्लबमा खेल्छन् । कति रकम लिन्छन् त उनीहरुले चिनियाँ क्लबबाट ? गोल डट कमको समाचार अनुसार, कार्लाेश टेभेजले वार्षिक ३ करोड २० लाख अमेरिकी डलर तलब लिन्छन् । ओस्कारको वार्षिक तलब २ करोड १० लाख अमेरिकी डलर छ । इजेक्वेल लाभेजीको पनि वार्षिक तलब २ करोड १० लाख अमेरिकी डलर नै छ भने हल्कको वार्षिक तलब १ करोड ७० लाख अमेरिकी डलर छ । यसैगरी, एक्शेल विशेलको वार्षिक तलब १ करोड ५० लाख अमेरिकी डलर छ ।

चिनियाँ क्बलहरुले फुटबलमा यत्रो लगानी किन गरिरहेका होलान् ? सायद, अरुमा जस्तै चीन फुटबलमा पनि अघि बढेर प्रतिष्ठा कमाउन चाहन्छ । तर, अहिलेसम्म चीन फुटबलमा पछि नै छ । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेको बिश्वकप मात्रै खेलेको चीन त्यसपछि छनौटसमेत हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया