पृथ्वीजयन्तीः कहिले काटियो बिदा ?

स्केचः अन्नपूर्ण पोस्टबाट

०६२र६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन ।
त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो ।
त्यस वर्ष जनआन्दोलनको उत्कर्षमा सिंहदरबार मूलगेटसामुन्ने रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो । त्यतिवेलाको राजनीतिक माहोलका कारण पृथ्वीजयन्तीको बिदा कटौती भएको तत्कालीन गृहसचिव उमेश मैनालीले बताए ।
‘गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने हो । त्यो वर्ष पनि बिदासम्बन्धी निर्णय त्यसैगरी भएको हो,’ हाल लोकसेवा आयोगका अध्यक्ष रहेका मैनालीले भने, ‘मन्त्रिपरिषद्ले बिदा कटौती गर्ने निर्णय गरेको हो, पृथ्वीजयन्ती नमनाउने निर्णय गृह मन्त्रालयस्तरको होइन । मन्त्रालयले सार्वजनिक बिदा दिने वा हटाउने निर्णय गर्न सक्दैन ।’
तर, त्यसवेला के–कति कारणले बिदा कटौती भएको हो भन्नेबारे सार्वजनिक टिप्पणी नगर्ने मैनालीले बताए । ‘अहिलेकै सरकार कति दबाबमा छ, त्यो वेलाको परिस्थिति अहिलेजत्तिको सहज थिएन । शान्तिवार्ता चलिरहेको थियो, राजनीति अर्कै थियो । त्यो वेलालाई अहिलेको सन्दर्भमा हेर्न मिल्दैन,’ मैनालीको तर्क छ ।
तर, गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्का एक सदस्यले भने बिदा कटौती गर्ने आफ्नो निर्णयबारे कोइराला पछिसम्म दोधारमा रहेको बताए । ‘हामीले यो निर्णय उचित गरेनौँ कि भन्ने उहा“लाई पछिसम्म लागिरहेको थियो, तर उहाँले त्यसलाई उल्ट्याउने साहस गर्न सक्नुभएन । त्यो परिस्थिति भएन,’ त्यो वेलाका एक मन्त्रीले अनौपचारिक कुराकानीमा बताए ।
यस वर्ष राष्ट्रपति, प्रधानमन्त्री, अधिकांश दल पृथ्वीजयन्तीमा बिदा दिन एकमत थिए । तर, मंगलबार अबेरसम्म सार्वजनिक बिदा दिने सरकारी निर्णय भएन । ‘यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रनिर्माताको सम्मान गर्न नसक्ने यो सरकार अदृश्य शक्तिको दबाब वा प्रभावमा छ भन्ने स्पष्ट भयो । राप्रपा अत्यन्त चिन्तित छ ।’
पृथ्वीजयन्ती मनाउन संसदमा उठ्यो माग
सरकारीस्तरबाटै पृथ्वीजयन्ती मनाउन माग गर्दै एमाले सांसद प्रकाश ज्वाला । अघिल्लो दिन सोमबार राप्रपाकी सांसद कुन्तीकुमारी शाहीले पनि यस्तै माग गरेकी थिइन् ।
सरकारीस्तरबाटै पृथ्वीजयन्ती मनाउन माग गर्दै एमाले सांसद प्रकाश ज्वाला । अघिल्लो दिन सोमबार राप्रपाकी सांसद कुन्तीकुमारी शाहीले पनि यस्तै माग गरेकी थिइन् ।
व्यवस्थापिका–संसद्मा पृथ्वीजयन्ती सरकारी तवरबाटै मनाउनुपर्ने माग उठेको छ । संसद्को मंगलबारको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले पृथ्वीजयन्ती मनाउन माग गरे ।
सोमबारको बैठकमा पनि राप्रपाकी सांसद कुन्तीकुमारी शाहीले पृथ्वीजयन्ती मनाउन माग गरेकी थिइन् । २७ पुसमा सरकारले पृथ्वीजयन्ती मनाउन सार्वजनिक बिदा दिनुपर्ने माग उठिरहेका वेला संसद्मा यस विषयमा कुरा उठेको हो । एमाले सांसद ज्वालाले आधुनिक नेपाल एकीकरणका सवालमा पृथ्वीनारायण शाहले गरेको योगदानको अवमूल्यन गर्न नहुने भन्दै पृथ्वीजयन्ती मनाउन सरकारसँग माग गरेका हुन् । ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गर्नुभएको छ, उहाँको योगदानलाई अवमूल्यन गर्नु अपमान हुन्छ,’ ज्वालाले संसद्मा भने, ‘सरकारले पृथ्वीजयन्ती मनाउने निर्णय गर्नुपर्छ ।’
एमालेकै सांसद पुरुषोत्तम पौडेलले पनि पृथ्वीजयन्तीका लागि सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरे । सरकारले ०६२र६३ को जनआन्दोलनपछि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने परम्परा हटाएको थियो । –नयाँ पत्रिका

तपाईंको प्रतिक्रिया