ओली गर्जनको आधार र शक्ति के होला ?

संसदमा संविधान संशोधन विधेयक टेबल भइसकेपछि पनि नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संशोधन कुनै हालतमा पारित नहुने बताइरहेका छन् । भारतीय राजदूत रञ्जित रे, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जसरी पनि संशोधन पारित हुने भनाई बिपरित ओलीले कुन बलमा संशोधन पारित नहुने दावी गरिरहेका होलान् ?

यसका लागि हामीले संसदको अंग गणित हेर्नुपर्छ । अहिले संसदमा ५९४ सिट छ । जसको दुई तिहाई ३९६ हुन आउँछ ।
ओली नेतृत्वको मोर्चासँग एमालेको १८३, मालेको ५, नेपाल मजदुर किसान पार्टीको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २,नेपाः राष्ट्रिय पार्टीको १, मधेस समता पार्टी नेपालको १ र बहुजन शक्ति पार्टीको १ गरी २०२ छ । यस हिसाबले यो गठवन्धनबाहेक सबैको संशोधनको पक्षमा मत पर्दा पनि ३९२ मात्र हुन्छ । अर्थात ४ मत पुग्दैन । त्यसमाथि, राप्रपा र फोरम लोकतान्त्रिकले संशोधनमा आफ्नो पत्ता खोलेका छैनन् । उनीहरु संशोधनको पक्षमा लाग्दा पनि ४ मत कतैबाट पुग्दैन ।

यस्तोमा एमालेका केही सांसदसहित साना पार्टीको मत आफूतिर तानेर दुईतिहाई पुर्याउने सत्तापक्षको रणनीति हुनसक्छ भने एमालेका रणनीति आफ्नो र गठवन्धनको मत जोगाउने र सत्ता पक्षको मत घटाउने हुनेछ । माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संशोधनको बिपक्षमा मत हाल्ने भनेको तथा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पनि रायमाझी जस्तै विचार राखेकाले सत्तापक्ष कमजोर रहेको एमालेको विश्वास हुनसक्छ ।

अहिले एक तिहाईभन्दा बढि एमालेले पुर्याउनु नपर्ने तर, सत्तापक्षले दुई तिहाई पुर्याउनु पर्ने भएकाले सत्तापक्षको तुलनामा एमाले बलियो अवस्थामा छ । एमालेले एक तिहाई पुर्याउनु पर्ने भएको भए एमालेका केही सांसद अनुपस्थिति गराएर सत्तापक्षले फाइदा लिन सक्थ्यो । तर, एमालेका सांसदलाई सत्तापक्षले अनुपस्थित गराएर मात्र पुग्दैन, आफ्नो पक्षमै मत हाल्न लगाउनु पर्ने हुन्छ । त्यसो गर्दा उसको सांसद पद जाने भएकाले मत मिलेपनि सत्तापक्षमा मत हाल्ने सम्भावना कम रहन्छ ।

उता, संशोधन मन नपरे सत्तापक्षका सांसदले अनुपस्थित रहे मात्र पनि पारित हुनबाट रोक्न सक्छन् । सायद ओलीको गर्जन यही कारण आएको हुनसक्छ ।

तपाईंको प्रतिक्रिया