पृथ्वीजयन्तीको बिदा देउ

स्केचः अन्नपूर्ण पोस्टबाट

०६२-०६३ को जनआन्दोलन सफल भएपछि सबै राजासँगै नेपाल एकिकरण अभियानको नेतृत्व गर्ने पृथ्वीनारायणको पनि अवहेलना थालियो । त्यसका निम्ति पृथ्वीनारायणले नेपाल एकिकरण गरेको नभई आफ्नो राज्य विस्तार मात्र गरेका हुन् भन्ने तर्क अघि सारियो । नेपालको असमानता, गरिबी, अन्याय, पिछडापन सबै ‘२४०’ वर्षदेखि भन्दै त्यसको सुरुवात पृथ्वीनारायणले नै गरेका हुन् भन्ने जस्तो प्रचार गरियो । त्यस्तो एकोहोरो प्रचारका कारण पृथ्वीनारायणलाई उनको कामको सम्मान गर्नुपर्छ भन्नु राजावादी, सामन्तवादी हुनु सरह मान्ने अवस्था बन्यो ।

तर, अहिले समय निकै परिवर्तन भएको देखिन्छ । पृथ्वीनारायणलाई नेपाल एकिकरण गरेको जश दिनुपर्छ र अहिले नेपाली भएकोमा गौरव गर्ने हो भने नेपाल निर्माणको नेतृत्वकर्ताको पनि सम्मान गर्नुपर्छ भन्ने मत जोडदार बनेको छ । आजै संसदमा एमाले पोलिटब्यूरा सदस्य तथा सांसद प्रकाश ज्वालाले पुष २७ गते पृथ्वी जयन्ती मनाउन सरकारले बीदा दिनुपर्ने माग राखे । र, यो माग अहिले सामाजिक सञ्जाल र सडकको पनि माग बनेको देखिन्छ ।

गणतन्त्र घोषणापछिका बर्षहरुमा सिंहदरवारअघि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नेहरु औंलामा गन्न सकिने हुन्थे र उनीहरु पनि थेगो रटाइएको भिडले आक्रमण गर्ने डरमा हुन्थे । त्यस्तोमा पनि भरत बस्नेत, मोदनाथ प्रश्रितहरुले त्यहाँ गएर माल्यार्पण गरिरहे र समयको हुरीको बिपरित दिशामा उभिएर पृथ्वीनारायणलाई सम्झनुपर्ने कारणको पैरवी गरिरहे ।

हरेक देश निर्माणको इतिहास हुन्छ र त्यो इतिहासका धेरै नायकसँगै एक महानायक हुन्छ । अमेरिकाले जर्ज वासिङ्टनलाई राष्ट्र निर्माता मानेको छ, भारतले महात्मा गान्धीलाई त्यस्तो सम्मान दिएको छ । पृथ्वीनारायण राजाका छोरा थिए तथा राजा भए । सामन्तवादको प्रतिक भएपनि राजा भनेको त्यो समयका नेताभन्दा अरु केही होइनन् । राज्य एकिकरण जस्तो अभियानको नेतृत्व त्यो बेला राजाभन्दा अरुबाट हुनसक्ने अवस्था थिएन । भारतमा अंग्रेज बलियो हुँदै गएको बेला एकिकृत नभई साना राज्यहरुले अस्तित्व जोगाउन सक्दैनथे । त्यस कारण एकिकरणको आवश्यक्तालाई पूरा गर्न कोही अघि सर्नै पर्दथ्यो, पृथ्वीनारायण सरे । अघि सरे मात्र होइन, सबै परिवन्द मिलाएर एकिकरण पनि गरे ।
आजको नेपाल त्यही एकिकरणको प्रतिफल हो । कि नेपाल बन्ने हुदैनथ्यो, एकिकरण गलत थियो भन्नु पर्यो कि एकिकरणकर्तालाई जश दिनु पर्यो । एकिकरण ठिक हो, तर एकिकरणकर्ता बेठिक हुन् भन्ने तर्कको कतै आधार छैन । किनभने, त्यो एकिकरण अभियानका उनी निर्विवाद नेता हुन्, अरु उनका सहायक मात्र हुन् ।

विगतको विशेषता नै हो कि उसले कयौं पछौटेपन पनि बोकेको हुन्छ र त्यो हामीलाई सुम्पेर जान्छ । बुद्धिमानीले त्यसलाई छाडेर नयाँपन बोक्दै अघि बढ्ने हो । पछिल्लो विगतभन्दा भर्खरैको विगत अघि बढेकै हुन्छ भन्ने समाज बुझ्नेहरुको मत छ । पृथ्वीनारायणले पनि बिभेद, असमानता, पछौटेपन विगतबाट पाएका थिए र उनले त्यसलाई नयाँ पुस्तामा सुम्पे । नेपाल एकिकरण गर्ने क्रान्तिकारीले किन अरु क्रान्तिकारी काम गरेनन् वा किन विगतका विरासतलाई फालेनन् भन्ने कुतर्क पनि कसैको हुनसक्छ । उनीहरुलाई समय र चेतनाको सम्वन्ध बुझ्न सल्लाहा दिनुभन्दा अरु उपाय छैन ।

अघिल्लो सरकारको पालामा पनि राज्यस्तरबाट पृथ्वी जयन्ती मनाइनुपर्छ भन्ने माग उठेको थियो । तर, सरकारले मानेन । यो वर्ष यो माग अझ चर्काेरुपमा उठेको छ । हामी पनि यो मागको समर्थनमा छौं, ‘नेपालका निर्माणकर्ता पृथ्वीनारायणलाई सम्मान गर, पृथ्वीजयन्तीमा बिदा देउ ।’

तपाईंको प्रतिक्रिया