भारतको उत्तरप्रदेशमा हुँदैछ, बाबु—छोराको रोचक राजनीतिक भिडन्त

अगाडीका बाबु मुलायम र पछाडीका छोरा अखिलेश

राजनीति हो, यसमा पराई मित्र हुन्छन् भने आफ्नै सत्रु । आमा—छोरा, बाबु—छोरी, लोग्ने—स्वास्नी जस्ता नजिकका नाताहरु पनि राजनीतिमा सत्रु हुनसक्छन् भने गोरु बेचेको साइनो नपर्नेहरु पनि मित्र बन्न सक्छन् ।

यसको पछिल्लो उदाहरण देखापरेको छ, भारतको उत्तरप्रदेशमा । जहाँ राजनीतिक वर्चश्वका लागि अहिले बाबु र छोरा भिडिरहेका छन् ।

सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव र उनका छोरा मुख्यमन्त्री अखिलेश यादव अहिले आफ्ना समूह बनाएर फुटको संघारमा पुगेका छन् । उनीहरु दुवैले अहिले आफूलाई समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष दावी गरिरहेका छन् । र, चुनाव चिन्ह साइकलका लागि पालैपालो निर्वाचन आयोग धाइरहेका छन् ।

आजै मुलायम नयाँ दिल्लीस्थित निर्वाचन आयोग पुगे, चुनाव चिन्ह आफूले पाउनुपर्ने दावीसहित । त्यहाँ उनले पार्टीको राष्ट्रिय अध्यक्ष आफैं भएकाले साइकल आफैंले पाउनुपर्ने तर्क राखे ।

केही दिन अघिसम्म मुलायम सर्वस्विकार्य राष्ट्रिय अध्यक्ष थिए तर, अखिलेशको पहलमा भएको राष्ट्रिय भेलाले मुलायमलाई हटाएर अखिलेशलाई राष्ट्रिय अध्यक्ष निर्वाचित गरिएको घोषणा गर्यो, जसलाई मुलायमले स्विकार गरेनन् ।
अखिलेश पक्षले २२९ समाजवादी विधायकमध्ये २०० जनाको हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेर आफू बलियो र आधिकारिक भएको दावी पेस गरेपनि आयोगले साइकललाई तत्कालका लागि निलम्बन गरेर कसैलाई नदिने सम्भावना रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

उत्तर प्रदेश विधानसभाको निर्वाचन फेब्रुअरी ११ देखि सुरु हुँदैछ । जसमा, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी, मायावतिको बहुजन समाज पार्टी र सत्तारुढ समाजवादी पार्टीबीच त्रिपक्षीय भिडन्त हुने बताइदैछ । तर, बाबु—छोरा छुट्टाछुट्टै चुनाव लडेमा भाजपा र बसपालाई उनीहरुको चुनौति कमजोर हुन सक्छ । भलै, अखिलेशको समूहले कांग्रेससँग चुनावी तालमेल गरेर आफूलाई बलियो बनाउने सम्भावना बताइएको छ ।

तपाईंको प्रतिक्रिया