लोकमान काण्डका अनाैठा कारण र परिणाम

र्जनौं प्रशासक चिनियो, दर्जनौं शासक चिनियो तर लोकमान सिंह कार्की जस्ता दह्रो मुटुका प्रशासक विरलै देख्न पाइयो । लोकमानको विलक्षण क्षमता हो– आँट र हिम्मत । तर, यिनले आँटलाई ढाँटमा र हिम्मतलाई दुस्साहसमा परिणत गरे । त्यसैले अख्तियारको प्रमुख आयुक्त पदबाट अयोग्य ठहर हुँदै निष्काशित भए ।
त्यसो त यिनी अख्तियार प्रमुख बनेकै ढाँटबाट थियो । योग्यता नै नपुगी लोकमानले अख्तियार प्रमुख पद ताकेका थिए । प्रभुले सिफारिस गरेका हुनाले यिनको योग्यता जाँच भएन । नेपालमा प्रभुको सिफारिस नै योग्यताको प्रमाणपत्र बन्न थालेको छ । बरु, बाहिरबाट देखिने गरी सिफारिस गर्नुपर्ने भूमिकामा रहेका नेताहरुकै योग्यता प्रभुले जाँचेका थिए । लोकमानको नाम प्रभुले सिफारिस गरेका थिए अनि यी नेताहरुले त्वंशरणम् सहित अनुमोदन गरेका थिए । अर्थात्, आफूले भनेको टेर्ने योग्यता छ कि छैन भनेर पनि प्रभुले शीर्ष नेताहरुको योग्यता जाँचेका थिए, नेताहरु पास भएका थिए अनि लोकमान प्रमुख आयुक्त बनेका थिए ।

तर, अहिले लोकमान फेल भएका छन् । लोकमान फेल हुनु भनेको उनलाई प्रमुख आयुक्त पदमा थपना गरिदिने प्रभुको ठूलो हार हो । यदि अदालतले नहटाएर संसदले नै महाभियोगबाटै लोकमानलाई हटाउन खोजेको थियो भने प्रभुले नाकावन्दी भाग–२ लगाइदिन बेर थिएन । अदालतले हटाइदियो, बोल्ने धेरै ठाउँ रहेन । अब प्रभुले लोकमान भाग–२ को खोजी अवश्य गर्नेछन् ।

कतिपय शीर्ष, सहायक शीर्ष र उपशीर्ष खालका भ्रष्ट नेताहरुलाई लागेको हुनुपर्छ– ‘अब बाचें, अब जोगिएँ, अब चोखिएँ ।’ किनभने लोकमान हटेपछि आफू चोखो भन्ने भ्रम दिन सकिन्छ भन्ने तिनलाई लागेको हुनुपर्छ । लोकमान अयोग्य मात्र होइन ब्ल्याकमेलर पनि थिए । भ्रष्ट नेताहरुलाई ब्ल्याकमेलिङ गर्ने, भारत सामु लम्पसार पर्न लगाउने तथा कमिसन हिस्सेदारी गर्न लगाउने काम गरेका थिए लोकमानले । यही कारण लोकमान गर्जन्थे तर वर्षंदैनथे । ठूलो माछा समात्छु भन्थे तर समात्दैनथे । ठूलो माछालाई उनी पन्जाभित्र राखिराख्थे, ब्ल्याकमेलिङ गर्थे ।

लोकमानको विदाई हुनु भनेको भ्रष्टहरुको राज्य फर्कनु होइन । आफूलाई भ्रष्टहरुले षडयन्त्र गरेर हटाएको, भ्रष्ट नेताहरु एकएकलाई पाता फर्काउने आफ्नो कार्यक्रम थियो त्यसैले हटाए भन्दै लोकमानको वयान आउला । तर, सत्य के हो भने भ्रष्ट पात्रहरुको कमजोरी फेला पारेर लोकमानले कारबाही गर्दैनथे, ब्ल्याकमेलिङ गर्थे ।

एउटा रहस्य

नेपाली राजनीतिमा प्रभुको कति आतंक छ भन्ने एउटा उदाहरण लोकमान पनि हुन् । लोकमान प्रकरण टुंगोमा पुगिसकेपछि केही अनौपचारिक कुराकानी तथा जानकारी खोल्न उपयुक्त हुन्छ भन्ने लाग्यो ।

कांग्रेस नेता विश्वप्रकाश शर्माले एकदिन यो पंक्तिकारसँग भने– ‘यो देशको प्रधानमन्त्री विदेशमा छ तर यहाँको अख्तियार प्रमुखले प्रधानमन्त्रीलाई कारवाही गर्छु भनेर पत्रकार सम्मेलन गर्छ । यसको अर्थ के हो ?’

उनको प्रश्नमै जवाफ थियो । त्यसबेला प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा थिए ।

विश्वप्रकाशले भने– ‘अहिलेका प्रधानमन्त्री मेरो पार्टीले समर्थन गरेका प्रचण्ड छन्, भोलि अरु प्रधानमन्त्री कोही होलान् । प्रधानमन्त्रीको समर्थन या विरोध देशको नितान्त आन्तरिक मामिला हो । मेरो पार्टीले पूर्ण रुपमा अस्वीकार गरेको प्रधानमन्त्री छ भने पनि उ विदेश गएको बेला यसरी छानविनको घोषणा र धम्की दिइन्छ भने म जायज मान्न सक्दिन ।’ छानविन गर्ने हो भने स्वदेशमै भएको बेला या स्वदेश फर्किएपछि गर्न सकिने उनको धारणा थियो ।

अर्को दिनको कुरा हो, सांसद तथा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले हामी बीच चिन्ता पोखे– ‘लोकमान रहेसम्म राजनीतिक नेताहरु भ्रष्टाचारको अभियोगमा कारवाहीमा पर्न सम्भव छैन । निर्दाेषहरु बदनाम बन्ने र भ्रष्टहरु हिरो बनाइने काम हुने देखियो ।’ यसमा सहि थाप्दै विश्वप्रकाश शर्माले थपेका थिए– ‘भ्रष्टाचारको मुहान राजनीति र नेता हुन्, यिनैलाई कारवाही नहुने परिवन्द मिलाइएको छ, त्यसकारण लोकमानलाई नहटाई राजनीतिमा शुद्धिकरण हुन सक्दैन ।’

गगन, विश्वप्रकाश र धनराजले लोकमानलाई हटाउन अभियान छेडे वापत उनीहरुलाई पार्टी छाड्नुपर्ने हो कि भनेजस्तो हालतमा पुराइएको थियो । विश्वप्रकाश, गगन, धनराज बिनाको कांग्रेस कस्तो होला ? लोकमानलाई महाभियोग नलगाउने पक्षमा कांग्रेसले निर्णय गर्यो भने विपक्षमा भोट दिएर सांसद पद त्याग्छु भनेका थिए धनराजले । गगनले पनि लगभग त्यस्तै अभिव्यक्ति दिएका थिए । तर, कांग्रेसका शीर्ष तथा निर्णायक नेता टोली भने थरथर कामेको थियो । रामचन्द्र पौडेल मुख नखोल्ने, शेरबहादुर देउवा कार्ड नखोल्ने ! लोकमान विरुद्ध बोल्यो या महाभियोगको पक्षमा उभियो भने प्रभु रिसाउँछन् भन्ने डर थियो कांग्रेस नेताहरुलाई ।

लोकमान विरुद्ध महाभियोग आउँदा कांग्रेस किन थरथर काम्यो भन्ने प्रष्ट छ– लोकमानको होइन प्रभुको डरले ।

र, यसमा एउटा रहस्य पनि अब खोलौं– विश्वप्रकाश, धनराज र गगनहरुले सार्वजनिक रुपमा त भनेका छैनन् तर लोकमानलाई हटाउने पक्षमा थिए शेरबहादुर देउवा, प्रभुको डर तथा प्रधानमन्त्री बन्न नपाइने त्राशले देउवा खुल्न चाहेका थिएनन् । गगन, विश्वप्रकाश र धनराजहरुको अभियानले कांग्रेसभित्र जितोस् र बहुमतका अगाडि झुक्न बाध्य भएँ भनेर प्रभुको प्रकोपबाट बच्ने पक्षमा थिए देउवा । पार्टीभित्र देउवा लोकमानवादीहरुको चेपुवामा थिए तर भित्रभित्रै धनराज, विश्वप्रकाश र गगनहरुको पक्षमा थिए ।

देउवा आफू नखुल्नु तर लोकमान हटुन भन्ने चाहनुको कारण के होला ? प्रष्ट छ– फसाइदिन्छु भनेर लोकमानले गरेको ब्ल्याकमेलिङ । देउवा ब्ल्याकमेलिङको सिकार बनेका थिए । अख्तियारले डामेपछि फसिन्छ नै भन्ने छैन तर राजनीतिक शाख समाप्त हुन्छ । यो कुरा देउवा तथा देउवा जस्ता नेताहरुले नबझ्ने कुरै भएन । यो कुरा बुझेर नै लोकमानको ब्ल्याकमेलिङ चलेको थियो ।

अर्काे एउटा कुरा पनि खोल्नैपर्ने हुन्छ– लोकमान कति मात्तिएका थिए भने राजधानीमा कुनै एक परिवारले दिएको सांस्कृतिक भोजमा उनले देउवालाई हप्काएका थिए । त्यसबेला नाकावन्दी थियो, लोकमानले नाकावन्दी विरोधीहरुलाई थर्काउन केही सांसद सहितका मानिसहरुको सम्पत्ति छानविन हुँदैछ भनेर नाम सार्वजनिक गराएका थिए । त्यो साँझवाला समारोहमा लोकमानलाई देउवाले भनेछन्– ‘छानविन गर्ने हो भने खुसुक्क छानविन गर्नु, हल्ला गरेर पनि छानिवन हुन्छ ? प्रचारवाजी गर्दा झन उनीहरुले सम्पत्ति लुकाउने खतरा हुँदैन र ?’

लोकमानले भनेछन्– ‘त्यो लिष्टमा नाम थप्नुपर्यो ?’ प्रत्यक्षदर्शी धेरै थिए, उनीहरु भन्छन्– ‘लोकमानले देउवालाई तपाईं शब्द प्रयोग गरेनन्, लगभग ‘तँ’ शैलीमा त्यसो भनेका थिए ।’

देशका पूर्व प्रधानमन्त्री तथा सत्तारुढ पार्टीका शक्तिशाली नेतालाई ठाडै धम्काउने स्तरमा मात्तिएका थिए लोकमान ।

नयाँ लोकमान

अब लोकमानको ठाउँमा को आउँछ ? यसमा केही संवैधानिक जटिलता हुनसक्ला, यो बेग्लै कुरा हो ।

लोकमान हट्नासाथ पत्रकार किरण भण्डारीले ट्विटरमा लेखे– ‘जसको आदेशले लोकमानसिंहलाई ल्यायौं अब तिनै प्रभुको सिफारिशमा अख्तियार प्रमुख ल्याउने बुद्धि मेरा नेताहरुलाई नआओस् ।’ त्यसैगरी सामाजिक अभियन्ता सरस्वती सुब्बाले लेखिन्– ‘लोकमानले हार्दा देश र जनताले जितेका हुन्, भ्रष्ट नेताहरुले होइनन् ।’ एमाले नेतृ शान्ता चौधरीले लेखिन्–‘राजनीतिक भ्रष्टाचारमा आँखा चिम्लिएमा अबका प्रमुख आयुक्तलाई जनताले हटाउने छन् ।’

लोकमानको ठाउँमा को आउला ? अहिले सबैको प्रश्न यही हो । को आउँछ भन्दा पनि कसरी ल्याइन्छ भन्ने मुख्य कुरा बनेको छ । नेपालमा भ्रष्टाचार नियन्त्रण निकायले खरीदार सुब्बा तहले गरेको भ्रष्टाचार देखिसहँदैन तर राजनीतिक नेतृत्वले गरेको भ्रष्टाचार देख्दैदेख्दैन । नयाँ प्रमुख यस्तै खाले ल्याइने हुन् कि ?

लोकमान र लम्पसारबीच गहिरो सम्बन्ध छ भन्ने थप ब्याख्या गरिरहन नपर्ला । लम्पसार कित्तामा लाग्न नमानेर राष्ट्रिय स्वाभिमान र देशहितको पक्षमा उभिनेलाई लोकमानले ब्ल्याकमेलिङ गरेर लम्पसार पार्न लाउँथे भन्ने पनि जगजाहेर भइसकेको छ । प्रभुले अख्तियारमा आफ्ना पिउसालाई किन राख्न चाहेका थिए भन्ने लोकमानका कर्तूतहरुबाट स्पष्ट भइसकेको छ । अब पनि प्रभुले त्यसै गर्न नखोज्लान् त ?

लोकमान हटेपछि नयाँ प्रमुख आयुक्त सम्बन्धमा दुईटा खतरा देखियो । पहिलो खतरा हो– भारतीय गोटी अख्तियारमा स्थापित गरिने र उसले भारतको पक्षमा नेपाली नेताहरुलाई ब्ल्याकमेलिङ गर्ने । दोस्रो खतरा हो– भ्रष्ट नेताहरुको कर्तूत नदेखे झैं गर्ने मूर्तीतुल्य बन्ने पात्र अगाडि सारिने । यस्ता दुवैखाले पात्रलाई अस्वीकार गरेर सहिसत्य पात्र स्थापित गर्न ठूलो जनदवाब चाहिन्छ । र, त्यस्तो पात्र पहिचान पनि गरिनुपर्छ ।

यी दुवैखाले पात्रहरुलाई अस्वीकार गरेर देशहितको पक्षमा उभिने, राजनीतिक भ्रष्टाचारमा हात हाल्न सक्ने र मरणोपरान्त नेपाली जनताको मनमष्तिष्कमा आफ्नो नाम लेखाउन सक्ने पात्र अख्तियार प्रमुखका रुपमा देशलाई चाहिएको छ । को होलान् त्यस्ता पात्र ?

 

SHARE
mm
तीन दशकदेखि पत्रकारितामा संलग्न राजकुमार विभिन्न साप्ताहिक पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानी दैनिक लगायतमा संलग्न रहिसकेका छन् ।

तपाईंको प्रतिक्रिया