क्रिश्चियन अगुवा भन्छन्– नेपालको पहिचान राजतन्त्र, सेना र हिन्दू धर्म

‘नेपालको राष्ट्रियताका तीन खम्बा छन्– शाहवंशीय राजतन्त्र, सेना र हिन्दू धर्म’– डा. केबी रोकायाले भने–‘राजतन्त्र मासे, हिन्दू धर्म नष्ट गर्दैछन्, सेनालाई पनि खत्तम गर्न खोज्दैछन् ।’ यी उनै व्यक्तित्व हुन् जसले माओवादी जनयुद्धलाई देशविदेशमा फैलाउन योगदान गरेका थिए ।

त्यति मात्र होइन, नेपालका पूराना र अगुवान क्रिश्चियन मध्येका एक हुन् डा. रोकाया । बाबुरामसँग लामो संगत गरेका, बाबुराम पत्नी हिसिलासँग एकै ठाउँ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा धेरै वर्ष पढाएका रोकायाले भेट्रान समाजले हिजो राजधानीमा गरेको कार्यक्रममा अगाडि भने–‘नेपाल बीस वर्ष बहुलायो, देशको बीस वर्ष खेर गयो । जनयुद्धको दस वर्ष र त्यसपछिको दस वर्ष फर्केर हेर्दा हामीले होश गुमायौं भन्ने लाग्छ ।’

हिजो काठमाडौंमा भएको कार्यक्रमका वक्ता

‘हिजो जे गरियो पश्चाताप हुन्छ,’ रोकायाले भने–‘यसबीचमा मैले नेपालको पहिचान के हो भनेर धेरै अध्ययन गरें । चिन्तन मनन गरें । म यो निष्कर्षमा पुगेको छु कि नेपालको पहिचान शाहवंशीय राजतन्त्र, सेना र हिन्दू धर्म हो । देशमा राज्यव्यवस्था र शासन फेरिन सक्छ तर पहिचान फेरिँदैन । नेपालले यो पहिचान मास्नु हुन्न ।’

‘नेपाल बरबाद हुँदैछ, संघीयतामा गएपछि देश यति बरबाद हुन्छ कि हामीले बचाउन नसक्ने अवस्था आउँछ । संघीयतामा देश प्रवेश गर्नु अघि नै नेपाली सेनाले देश बचाउन ठोस कदम चाल्नुपर्छ । अब भर सेनाकै रह्यो ।’

‘धर्म निरपेक्षता गल्ती हो,’ उनले भने–‘धर्म भनेको नैतिकता हो । आजको विश्वमा दुई चिजको अभाव छ– धर्म र नैतिकता । धर्म विहिन राज्य बनाएर हामीले के गर्न खोजेका छौं ?’ उनले थपे– ‘देशको यो अवस्था हुनुमा हामी सबै जिम्मेवार छौं, अब सबैजना सुध्रिनुपर्छ ।’

दरवारिया बाहुनका सन्तान क्रिश्चियन

डा. रोकाया भन्दा पहिले बोलेका प्राडा सुरेन्द्र केसीले भने–‘म धर्मनिरपेक्षता पक्षधर हूँ तर जसरी धर्म निरपेक्षता ल्याइयो सहमत हुन सकिन्न,’ उनले थपे–‘लोकतन्त्र भन्ने, बहुमत मान्नुपर्छ भन्ने तर धार्मिक र सांस्कृतिक बहुमत चाहिँ मान्न नपर्ने ? नेपालमा ९७ प्रतिशत ओमकार परिवार छन्, उनको बहुमत किन नमान्ने ?’

‘क्षेत्रीबाहुन हिजो मात्र बनारसबाट नेपाल आएका हुन् भन्ने कुतर्क गर्नेहरु छन् र पत्याउनेहरु पनि छन्,’ इतिहासकार समेत रहेका डा. केसीले अगाडि भने– ‘नेपालमा क्षेत्रीबाहुनको प्रमाणित इतिहास १७ सय वर्ष अघिको छ । चाँगुनारायणको अभिलेख हेरौं, त्यसअघिका अभिलेखहरु पनि हेरौं, करिब दुई हजारवर्षदेखि नेपालमा क्षेत्रीबाहुन छन् भन्ने प्रमाणित छ ।’

केसीले भने– ‘नेपालमा गलत इतिहास पढाइन्छ, गलत इतिहास फैलाइन्छ । गगन सिंहलाई कसले मार्यो भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन । वीरेन्द्रको वंशनाश कसले गर्यो भन्ने हामी प्रष्ट हुन सकेका छैनौं । नारायणहिटी हत्याकाण्ड दिपेन्द्रले गरेका हुन् भनेर आधार र तर्क दिने मानिस मैले अहिलेसम्म भेटेको छुइन ।’

‘म इतिहासको विद्यार्थी हूँ, विश्वमा कहाँ कसरी राजतन्त्र कसरी गयो भन्ने धेरै पढियो तर नेपालमा जसरी सजिलै राजतन्त्र कहिँकतै गएको इतिहास छैन । राजा ज्ञानेन्द्रले निकै ठूलो गल्ती गरेको हामीले बिर्सनु हुन्न । यहाँ गल्ती गर्न उक्साउने, गल्ती गर्न लगाउने र त्यसैमा खेल्ने षडयन्त्र हुने गरेको छ । दरबारीयाहरुले यो कुरा बुझेनन्’ केसीले भने–‘दरबार वरिपरिका बाहुनहरु सबैका सन्तान क्रिश्चियन भएको मैले देखेको छु, यो किन भयो ? हामीले किन खोजी गरेनौं ?’

कार्यक्रममा पूर्व मन्त्री केशरबहादुर विष्ट, पूर्व प्रधान न्यायधीश केदारप्रसाद उपाध्याय, पूर्व सैनिक जनरल डा. प्रेमसिंह वस्न्यात, विष्णु भट्टराई, अभिराज आचार्य, रविराज कार्की, दुर्गानाथ शर्मा, सुवर्ण खड्का लगायतका वक्ताहरुले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया