कत्रो थियो हिजोको सभा ?

तस्विर नवराज श्रेष्ठ

नेकपा एमालेसहित ९ दलले हिजो आयोजना गरेको र्याली र सभा ठूलो रहेकोमा कसैले बिबाद गरेका छैनन् । एमालेले हिजो डेढ लाख मानिस उतार्ने भनेकोमा त्यति मानिस उतार्न सकेको मूल्याङ्कन गरेको छ । तर, अनुमान, अतिमूल्याङ्कन र कममूल्याङ्कन गर्ने राजनीतिक क्षेत्रभन्दा यस्ता सभाको आकार मूल्याङ्न गर्ने सुरक्षा निकायको विधी बैज्ञानिक मानिन्छ । हामीले नेपालको एउटा सुरक्षा अंगले सूचना र मूल्याङ्कन विधीको आधारमा तयार पारेको हिजोको सभाको मूल्याङ्कनलाई यहाँ प्रस्तुत गरेका छौं ।

सुरक्षा श्रोत अनुसार, हिजोको र्याली र सभामा रौतहटबाट १५०, सर्लाहीबाट २१८, धनुषाबाट ३३८, पर्साबाट ८०, सप्तरीबाट  १३१, बाराबाट ९४, धादिङबाट ४५०, दोलाखाबाट २८०, रामेछापबाट १७५, सिन्धुलीबाट १२०, काभ्रेबाट ६७०, मकवानपुरबाट ४५०, सिन्धुपाल्चोकबाट २९०, नुवाकोटबाट ५६० र किर्तिपुरबाट ४५० जना आएका थिए ।

हिजोको सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष केपी ओली, नस्विर नवराज श्रेष्ठ

यसैगरी, किर्तिपुरबाट ४५०, भक्तपुरबाट १४३०, ललितपुरबाट १६५० आएका थिए भने बागबजारबाट सुरु भएको र्यालीमा ६००, लैनचौरकोमा ३००, बसन्तपुरकोमा ६००, सुन्धाराकोमा ४५०, रत्नपार्कमै जम्मा भएका १४५० थिए ।

यी सबै र भृकुटिमण्डपमै पुुगेकालाई जोड्दा सभा सुरु हुने बेला ४७००० सहभागि पुगेको सुरक्षा श्रोतको मूल्याङ्कन छ । राष्ट्रिय सभागृहदेखिको प्रदर्शनीमार्गमा स्क्वायर मिटरको हिसाब गर्दा ३६४०० मानिस मात्र अटाउने भएपनि भृकुटिमण्डपभित्र र सभागृहमा समेत मानिस रहेकाले सहभागिको संख्या ४७ हजार पुगेको श्रोत बताउँछ ।

खुलामंचमा ३५ हजार मानिस मात्र अटाउने क्षमता रहेको तथा बसन्तपुर त्योभन्दा निकै सानो रहेकाले हिजो एमालेसहित ९ दलले सभा आयोजना गरेको स्थान ठूलो हो । सुरक्षाश्रोतका अनुसार, हिजोको सभा २०६२-२०६३ पछिका तीन वटा ठूला सभामा पर्छ । तर, हिजोको र्याली र सभा पहिलेका भन्दा निकै संयमित र अनुशाषित रहेको तथा सुरक्षा चुनौति पैदा नगरेको सुरक्षा श्रोत बताउँछ ।

तपाईंको प्रतिक्रिया